गोविन्द खड्का/ घोराही ।
वरिष्ठ कवि, निबन्धकार एवं समालोचक डा. अमर गिरीका दुईवटा पुस्तकको बिहीबार घोराहीमा विमोचन गरिएको छ । कविता संग्रह रातमा कलम र निबन्ध संग्रह समय शब्द र संवाद विमोचन गरिएको हो । सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता एवंं वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
‘डा अमर गिरीसँग सम्पर्क गर्न लागेको ठ्याक्कै ५० वर्ष भयो । युगबोध शुरु भएको ५० लाग्यो, शुरुदेखि नै उहाँसँग सम्पर्क भयो’– प्रमुख अतिथि ९५ वर्षीय शर्माले भन्नुभयो– ‘घनिष्ठ मित्रको बारेमा मैले के धेरै बयान गरुँ ?’ प्रमुख अतिथि शर्माले लेखकको हैसियतले मात्रै होइन संस्थागतरुपमा पनि गिरीसँग सँगै काम गरेको बताउनुभयो ।
डा. गिरीको अध्ययन, साहित्य तथा सिर्जनाको बारेमा पनि धेरै जानकार रहेको प्रमुख अतिथि शर्माको भनाइ थियो । ‘त्यो कवि अमर गिरी घाम छेक्ने पहाड लेख्ने बिर्सेको छैन’ उहाँले भन्नुभयो–‘त्यो कवि र आजको डा. अमर गिरीमा के कति फरक छ ? मेरो लागि यो रुचीको विषय छ ।’
कविता संग्रहका समीक्षक डा. टीकाराम उदासीले भावको विविधता, शैलीगत नवीनता र संग्रहणीय कविता संग्रह रहेको बताउनुभयो । केही कविताले वौद्धिक वर्गको माग गरे पनि अधिकांश सबैले बुझन सकिने डा. उदासीको भनाइ थियो । यसैगरी अर्का समीक्षक वाम विश्लेषक शशिधर भण्डारीले पढ्दा सरल लाग्ने तर विषय गम्भीर रहेका निबन्ध संग्रह प्रकाशन भएको बताउनुभयो । उहाँका अनुसार आजको अवस्थाको सरसर्ती विवरण र विकसित संस्कृतिप्रति विमति छन् । समग्रमा अगाडिको यात्रा तय गर्छन् । निबन्ध पठनीय, ओजनदार र महत्वपूर्ण छन् ।
यसैगरी लेखक डा. गिरीले लेखकलाई रचनामा सीमा हुने बताउनुभयो । उहाँले त्यही सीमाभित्र रहेर लेख्दा केही अपुग लाग्ने बताउनुभयो । उहाँका अनुसार कैयौं ठूला लेखकका कृतिहरुमा पनि यो भएको भए हुन्थ्यो किन छुटेको होला भन्ने लाग्छ । उहाँले समीक्षा सत्यमा आधारित भएको बताउनुभयो । उहाँले बृहत उपस्थिति र मेहनतका साथ गरिएका समीक्षालाई धन्यवाद दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य सर्वोदय पुस्तकालय तथा वाचनालयका सचिव सुशीला आचार्यले व्यक्त गर्नुभएको थियो । सञ्चालन अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य विसीले गर्नुभएको थियो ।


