दाङ । मदन भण्डारी मेमोरियल स्कुल, घोराही–दाङको २३औँ वार्षिकोत्सव समारोह उत्साह र उल्लासका साथ सम्पन्न भएको छ। आज बिहीबार विद्यालयले २३ औँ वार्षिकोत्सव सम्पन्न गरेको हो ।
विद्यालय परिसरमा आयोजित समारोहका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डे रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले विद्यालयले २३ वर्षसम्म निरन्तर शैक्षिक क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षा र अनुशासित वातावरणमार्फत सक्षम नागरिक निर्माणमा विद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्द, सचिव आदिम केसी तथा प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीलगायतले विद्यालयको प्रगति र व्यवस्थापनको सराहना गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयका प्रिन्सिपल बिमल भण्डारीले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप, खेलकुद सहभागिता, परीक्षा परिणाम, पूर्वाधार विस्तार तथा भावी योजनाबारे जानकारी गराउनुभयो। उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शैक्षिक गतिविधिसँगै सह–पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिइएको बताउनुभयो।
सो अवसरमा शैक्षिक वर्षभर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, अनुशासनमा उत्कृष्ट विद्यार्थी, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। अभिभावकहरूको उल्लेखनीय सहयोगका लागि कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गर्दै अतिथिहरूलाई स्वागत गरेका थिए। कक्षा नर्सरीदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरूले देशभक्ति, सांस्कृतिक तथा समसामयिक विषयवस्तुमा आधारित नृत्य, गायन, नाटक, कविता वाचन तथा वाद्यवादन प्रस्तुत गरेका थिए। विभिन्न जातीय भेषभूषा झल्काउने सांस्कृतिक झाँकीले कार्यक्रममा विशेष आकर्षण थपेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावक, पूर्वविद्यार्थी, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वार्षिकोत्सव समारोहले विद्यालयको शैक्षिक यात्रालाई थप ऊर्जा प्रदान गर्नुका साथै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने सशक्त मञ्चका रूपमा स्थापित भएको सहभागीहरूले बताएका छन्।


