कनिका खबर
साउन २६, नुवाकोट
पहिरोका कारण लामो समयदेखि अवरुद्ध भएको त्रिदेशीय मार्गको रुपमा रहेको त्रिशूली–धुन्चे–रसुवागढी सडकखण्ड सञ्चालनमा ल्याइएको छ । सडकमार्गमा खसेको पहिरो पन्छाएपछि सो सडकमार्ग हिजोबाट पुनः सञ्चालन भएको हो । पासाङ ल्हामु सडकमार्ग अन्र्तगत रहेको त्रिशूली–धुन्चे–स्याफ्रुवेशी सडकखण्डको भार्खु डाँडामा भासिएको सडक मर्मत गरि पुनः सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ । यहि साउन १९ गते परेको अविरल वर्षाका कारण सडक किनाराबाट पहिरो गई सडक पूर्ण रुपमा बन्द भएको थियो । निरन्तर सडक मर्मतको काम गरेर पूर्ण रुपमा खुलाइएको प्रहरी नायव उपरिक्षक इन्द्रप्रसद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भार्खु डाँडामा पहिराले कटान गरेको स्थानमा नयाँ ट्रयाक खोली सडक सुचारु गरिएको हो । पहिरोले ५० मिटर सडक कटान गरेर १ मिटर मात्र सडक बाँकी रहेको थियो । सडक डिभिजन कार्यालय नुवाकोटले आवश्यक उपकरण तथा प्राविधिक खटाएर एक सातापछि सडक सञ्चालनमा ल्याएको हो । सो स्थानमा टेवा पर्खाल निर्माण गरि दुईतर्फी सडक सञ्चालनमा ल्याउने बताइको छ । हाललाई नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो । प्रहरीका अनुसार रसुवाका अन्य स्थानमा पहिरोले अवरुद्ध भएको सडक सञ्चालनमा आइसकेको छ । रसुवागढी नाका जोड्ने छोटो दूरीको त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक भने बर्खाभरी सञ्चालनमा नआउने निश्चित भएको छ ।