काठमाडौँ । चीनले बेलायती र क्यानेडियन नागरिकहरूले भिसा बिना चीन भ्रमण गर्न र त्यहाँ ३० दिनसम्म बस्न सक्ने सुबिधा दिने घोषणा गरेको छ ।
चीनको विदेश मन्त्रालयले पर्यटन, व्यवसाय र परिवार र साथीभाइलाई भेट्न देशमा भिसा-मुक्त प्रवेश अनुमति दिइने बताएको छ । यो नीति यस बर्षको डिसेम्बर ३१ सम्म लागू रहनेछ ।
गत महिना बेलायती प्रधानमन्त्री केयर स्टारमरले चीनको भ्रमण गरे र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए, जसको क्रममा यात्रा नियमहरू सहज बनाउन सम्झौता भएको थियो । प्रधानमन्त्री केयर स्टारमरले यो सम्झौताले चीनमा व्यवसाय विस्तार गर्न सजिलो बनाउने बताएका थिए ।
त्यस्तै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि हालै चीनको भ्रमण गरेर सम्बन्ध सुधारको संकेत गरेका थिए ।
यद्यपि, आलोचकहरूले बेइजिङसँग सम्बन्ध सुधार गर्ने प्रयासमा मानव अधिकार र राष्ट्रिय सुरक्षा सरोकारहरूलाई बेवास्ता गरिएको आरोप लगाएका छन् ।


