काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आम मतदातालाई ६ प्रश्न गरेका छन् ।
एमालेको चुनावी घोषणा पत्रमा अध्यक्ष ओलीले सिङ्गो समाज प्रश्नप्रश्नको घेरामा रहेको उल्लेख गर्दै जसरी आममतदाताको स्थापित राजनीतिक दल र नेताहरूप्रति प्रश्न छ, त्यसैगरी आफ्ना पनि प्रश्नहरू रहेको बताउदै पाँच प्रश्न सोधेका छन् । ओलीले प्रश्नहरू निर्वाचनमा आफ्ना आन्तरिक कमजोरी लुकाउन अघि सारिएको देशी/विदेशी षड्यन्त्रको सिद्धान्त (कन्सिप्रेसी थ्योरी) होइन भन्दै संविधान, व्यवस्था र हाम्रो सार्वभौमसत्ताको रक्षा गर्न हामीले माथि प्रश्नहरूको जवाफ खोज्नै पर्ने बताए ।
ओलीले सोधेका ६ प्रश्न:
१- भदौ २३ गते अघि देश बनिरहेको थियो कि बिग्रेको थियो ? या देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर समाजमा आक्रोश विस्तार गरिँदै थियो ?
२- भदौ २३ गतेको जेनजी प्रदर्शनमा कसले घुसपैठ गयो ? आयोजकहरूका घोषित कार्यक्रम अनुसार शान्तिपूर्ण प्रदर्शन सकियो भन्दै घर फर्कन लागेका युवाहरूलाई निषेधित क्षेत्रतर्फ जान बाध्य कसले गर्यो ?
३- भदौ २३ को घटना स्वतःस्फूर्त थियो कि तयारीसहितको षडयन्त्र ? या भदौ २४ को विध्वंशको लागि आधार तयार पार्न घुसपैठियाहरूले भड्काएको हिंसा ?
४- जेनजी प्रदर्शनकारीका सरकार, संविधान तथा व्यवस्थाका सन्दर्भमा कुनै माग थिएनन् । हुँदै नभएको माग पुरा गरेझैं प्रणालीमाथि नै धावा बोल्ने गरी प्रतिनिधिसभाको विघटन किन गरियो ?
५- त्यो आफूअनुकुल सरकार बनाउने वा चुनाव गराउने योजना मात्रै थियो भने व्यावसायिक प्रतिष्ठानहरू किन जलाइयो ? विचार मात्रै बोकेको कारण एकैसाथ पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाका साधारण पार्टी समर्थक समेतको निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी किन गरियो ?
६- यदि त्यो राजनीतिक प्रतिशोध थियो भने आफ्नो कर्तव्य पालना गरिरहेका राज्यका सुरक्षाकर्मीमाथि आक्रमण किन गरियो ?


