
दाङ, ८ फागुन । साहित्य समाज परिवर्तनसँगै उन्नयनका लागि लेखिनु पर्ने संस्कृतिविद् प्राडा शिवकुमार सुवेदीले बताएका छन् । लेखक संघ दाङको बिहिबार घोराहीमा सम्पन्न ३१औँ साधारणसभा तथा १५औँ अधिवेशनलाई सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष एवम् संस्कृतिविद् प्राडा सुवेदीले साहित्य समाजको उन्नयनका लागि लेखिनु पर्ने बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका प्राडा सुवेदीले साहित्यले समाजलाई दिशानिर्देश गर्ने भएकाले स्रष्टाहरू समयसापेक्षित विषयमा जिम्मेवार बन्दै साहित्य रचनामा लाग्नु पर्ने बताएका हुन् । साहित्य सधैँ परिवर्तनको पक्षमा लेखिनु पर्ने उल्लेख गर्दै समाजमा रहेका अन्याय, विकृति र विसङ्गतिविरुद्ध कलम चलाउनु पर्नेमा जोड दिए । लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा अन्य वक्ताले साहित्यले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए । तीन दशकको अवधिमा लेखक संघले साहित्य उन्नयनसँगै नयाँ स्रष्टा उत्पादनमा सहयोगी भूमिका खेलेको बताएका थिए ।
कार्यक्रममा राप्ती साहित्य परिषद्का पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनाल, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा, राप्ती साहित्य परिषद् दाङ शाखा अध्यक्ष यम रेग्मी, देउखुरी साहित्य तथा संस्कृति मञ्चका अध्यक्ष निमबहादुर थापा, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, प्राध्यापक गणेश पाण्डेय, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका डिल्लीराज श्रीधर, पुरस्कृत साहित्यकार गोविन्द खनाल, विदूषी पाण्डेय, अक्षयकोषदाता प्रदीप गौतमलगायतले मन्तव्य व्यक्त गर्दै साहित्यिक संगठनबिच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा साहित्यकार नारायण नेपाल, हरिलाल पौडेल र दीपक शर्माले कविता वाचन गरेका थिए । कार्यक्रममा दर्जन बढी साहित्यकारलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो । कार्यक्रममा बमशंकर साहित्य पुरस्कारबाट डा कृष्णराज सर्वहारी, तोयाराम पाण्डेय, ईश्वरादेवी पाण्डेय साहित्य पुरस्कारबाट डा विष्णुकुमार देवकोटा, शारदा लोहनी स्मृति साहित्य पुरस्कारबाट विनोद पोख्रेल, पं.कपिलमुनि शिवाकोटा विद्या सागर साधना साहित्य पुरस्कारबाट विदूषी पाण्डेय, फर्साराम धनकुमारी साहित्य पुरस्कारबाट सन्ध्या रेग्मी, नित्यान्द शर्मा साहित्य पुरस्कारबाट डा विनबहादुर वली, अशोक सुभद्रा काव्य पुरस्कारबाट गणेश विषमलाई, मेघराज लक्ष्मीदेवी प्रज्ञा पुरस्कार डिल्लीराज श्रीधर गौतमलाई प्रदान गरिएको थियो ।
यसैगरी पं.कृष्णमणि इन्दिरा आचार्य साहित्य सङ्गीत पुरस्कारबाट कविता उपाध्यय, दामोदर अम्बिका बालस्मृति प्रतिभा पुरस्कारबाट बिमला घर्ती मगर र विजय विकलाई, बामदेव खिमकुमारी स्मृति साहित्य पुरस्कारबाट दुर्गाप्रसाद गौतम, इन्द्र देवका स्मृति प्रज्ञा पुरस्कारबाट नरेशजङ्ग राणा, यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट हरिलाल पौडेल, चक्रमाया स्मृति साहित्य पुरस्कारबाट दीपककुमार आचार्य, कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट बुनु लामिछाने, दुर्गा चित्रा प्रज्ञा पुरस्कारबाट मकुश पन्थी, प्रा गदाधर पौडेल बाङमय पुरस्कारबाट प्राडा बाबुराम आचार्य, टीकाप्रसाद नारायणी स्मृति साहित्य पुरस्कारबाट नगेन्द्रकुमार आचार्य, प्रवीण प्रज्ञा साहित्य सङ्गीत पुरस्कारबाट दीपा बुढा, लक्ष्मण कला साहित्य प्रज्ञा पुरस्कारबाट तिलक न्यौपाने, उमानाथ प्रेमकुमारी स्मृति पुरस्काराबाट एकराज अधिकारी, जमुना गिरी÷गोमा गिरी साहित्य पुरस्कारबाट कमला भारती पुरस्कृत भएका छन् ।
सचिव सरिता देवकोटाले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सन्ध्या रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष गोविन्द पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव देवकोटाले गरेकी थिइन् ।
अध्यक्षमा पुनः न्यौपाने
लेखक संघ दाङको अध्यक्षमा पुनः खगराज न्यौपाने चयन भएका छन् । घोराहीमा भएको १५ औँ अधिवेशनले न्यौपानेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा सरिता देवकोटा, सहसचिवमा निर्मला पन्त, कोषाध्यक्षमा सन्ध्या रेग्मी, सदस्यमा हरिप्रसाद पाण्डेय, डा कृष्णराज डिसी, नारदप्रसाद भण्डारी, महेशकुमार न्यौपाने, आदिम केसी र कमल रिजाल रहेका छन् ।


