काठमाडौँ । काठमाडौँको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यो वर्षको होली पर्व सुरू भएको छ । आज मङ्गलबार बिहान ७ बजेर १३ मिनेटको साइतमा चीर ठड्याइएको हो ।
बिहान साइतमा रङ्गीचङ्गी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको झन्डै ३२ फिट अग्लो बाँसको तीन खण्डे चीर ठड्याएको हो । त्यसपछि चीरलाई परिक्रमा गर्दै एकआपसमा अबीर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न थालिएको छ ।
यस अवसरमा गुरुजुको पल्टनले हर्षबढाइँ गरेको छ । चीर उठाएको हेर्न वसन्तपुरमा भीड लागेको थियो ।
यस वर्षको होली पहाडी जिल्लाहरूमा फागुन १८ र तराई–मधेशका जिल्लाहरूमा फागुन १९ गते परेको छ । सरकारले होली पर्व मनाउन सार्वजनिक बिदा दिँदै आएको छ ।


