मा प्रकाशित

पृष्ठभूमि
एक्काइसौँ शताब्दिका विद्यार्थी केवल ज्ञान ग्रहण गर्ने पात्र मात्र होइनन् । उनीहरू आफ्नै सिकाइको सहनिर्माता पनि हुन् । आज विद्यार्थीको सिकाइमा विद्यार्थीको आवाजभन्दा बढी पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक र अभिभावकहरूको आवाजले महत्वपूर्ण स्थान पाएको देखिन्छ । सिकाइ प्रक्रियामा सिक्ने विद्यार्थीको आवाज दबाइएको हुन्छ । विद्यार्थीले अभिभावकले चाहेको कुरा सिक्नुपर्छ । पाठ्यक्रमले निर्देशित गरेको कुरा सिक्नुपर्छ । पाठ्यपुस्तकमा लेखिएका कुरा सिक्नुपर्छ । शिक्षकले चाहेको र सिकाएको कुरा सिक्नुपर्छ । परीक्षा उत्तीर्ण गर्न सिक्नुपर्छ । यस्ता क्रियाकलापले विद्यार्थीलाई सिकाइको सहनिर्माता बनाउँँदैन । यसले त उसलाई ज्ञान ग्रहण गर्ने पात्र मात्र बनाउँछ अर्थात् अरुका कुरा अनुशरण गर्न मात्र सिकाउँछ । यी कुरा सिक्नु हँुदैन भनेको होइन, सिक्नु पर्छ तर सिक्दा उनीहरूले आफ्नो मनमा लागेको कुरा पनि सिक्न पाउनुपर्छ । आफूलाई जान्न मन लागेको कुरा खोज्न पाउनुपर्छ । अभिभावक, शिक्षक र पाठ्यपुस्तकले निर्देशित गरेका भन्दा फरक कुरा र सोच अभिव्यक्त गर्न पाउनुपर्छ । सिकाइमा विद्यार्थीको आवाजलाई स्थान दिन सकियो भने यसले विद्यार्थीलाई आफ्नो सिकाइ स्वनिर्देशित गर्ने अवसर प्रदान गर्छ र उनीहरूलाई सिकाइको सहनिर्माता बनाएर सिकाइप्रति उत्प्रेरित गराउँछ ।
नेपालको विद्यालय शिक्षामा सिकाइ शिक्षक केन्द्रित रहँदै आएको देखिन्छ । यद्यपि हालका शैक्षिक बहस, अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय आवश्यकताले विद्यार्थीलाई सक्रिय, जिज्ञासु र उत्तरदायी शिक्षार्थीका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सिकाइमा विद्यार्थीको आवाजलाई स्थान दिने अवधारणा यस सन्दर्भमा अत्यन्त सान्दर्भिक देखिन्छ । सिकाइमा विद्यार्थीको आवाज समावेश गर्नु भनेको विद्यार्थीलाई “के सिक्ने ?” मात्र होइन, “किन र कसरी सिक्ने?” भन्ने निर्णय प्रक्रियामा समेत सहभागी गराउनु हो । यस प्रकारको सिकाइ लोकतन्त्र र सम्मानजनक सिकाइ संस्कृति निर्माणको पृष्ठभूमि पनि हो । यस प्रकारको सिकाइ संस्कृतिले नेपालजस्तो बहुसांस्कृतिक, बहुभाषिक र सामाजिक रूपमा विविधता भएको देशमा विद्यार्थीका जीवन अनुभव, स्थानीय ज्ञान र समुदायसँगको सम्बन्धलाई पाठ्यक्रमसँग जोड्ने पुलको काम समेत गर्दछ । यसलाई केवल शिक्षण विधिे परिवर्तनको दृष्टिकोणले मात्र हेर्नु उपयुक्त हुँदैन ।
परिचय
परम्परागत सिकाइ प्रक्रियामा विद्यार्थी मौन रहने, प्रश्न सोध्न हिच्किचाउने, थाहा पाएको कुरा पनि नबताउने, जिज्ञासा लागेको कुरा सोध्दा अरू साथीले केही भन्छन् कि भनेर चुप लाग्नुका साथै पाठ्यपुस्तकलाई नै सिकाइको केन्द्र मान्ने कुरा विद्यार्थीहरूको सिकाइका प्रमुख समस्याहरू हुन् । परम्परागत सिकाइका कारण विद्यालय शिक्षणमा करिब एक तिहाइ विद्यार्थीले मात्र माथिल्लो कक्षामा पुग्दा आफ्नो पढाइप्रति सक्रिय र अपनत्व ं महसुस गर्छन् । विद्यार्थीलाई केवल पाठ्यवस्तु ग्रहण गर्ने पात्रका रूपमा हेरेर उनीहरूको विचार, अनुभव तथा चाहनालाई पर्याप्त सम्मान नदिएकाले यस्तो अवस्थाको सिर्जना भएको हो । शिक्षा भनेको केवल परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया होइन, बरु सिकाइको समुदायभित्र विद्यार्थीलाई अर्थपूर्ण अनुभव सिर्जना गर्ने यात्रा हो । कक्षाकोठामा विद्यार्थीलाई आफ्नो विचार राख्ने, निर्णय प्रक्रियामा सहभागी हुने र आफ्नै सिकाइको जिम्मेवारी लिने अवसर दिइएमा उनीहरू विद्यालयप्रति अपनत्व महसुस गर्छन् । सिकाइमा विद्यार्थीको आवाज शिक्षाको गुणस्तर र अर्थपूर्ण सिकाइसँग प्रत्यक्ष रूपमा जोडिएको अत्यन्त महत्वपूर्ण पक्ष हो । विद्यार्थीको आवाज सुन्ने संस्कृतिले उनीहरूलाई आफू सम्मानित र मूल्यवान् भएको महसुस गराउँछ । यसले उनीहरूको सिकाइमा संलग्नता बढाउँछ । यसका साथै विद्यार्थीले पाठ्यक्रम, मूल्याङ्कन प्रणाली र विद्यालय संरचनाबारे दिने प्रतिक्रिया भविष्यका पुस्ताका लागि अझ सान्दर्भिक र समावेशी सिकाइ अनुभवको निर्माणमा उपयोगी हुन्छ । यसरी विद्यार्थीको आवाजलाई सिकाइको केन्द्रमा राख्नु भनेको केवल वर्तमान सिकाइ सुधार गर्नु मात्र होइन, दीर्घकालीन रूपमा उत्तरदायी र लोकतान्त्रिक शिक्षाको आधार तयार गर्नु हो ।
सिकाइमा विद्यार्थीको आवाजलाई स्थान दिने र प्रोत्साहन गर्ने कामको उद्देश्य भनेको विद्यार्थीलाई व्यक्तिगत तथा सामूहिक रूपमा सशक्त बनाउनु र अर्थपूर्ण सिकाइ अनुभवमार्फत आजीवन सिकाइका लागि तयार पार्नु हो । सिकाइमा विद्यार्थीको कुरा सुन्ने र उनीहरूको विचारलाई सिकाइमा स्थान दिने प्रक्रिया एक महत्वपूर्ण अवधारणा हो । शिक्षककेन्द्रित, माथि र अन्यत्रबाट निर्देशित शिक्षण पद्धतिका सट्टा विद्यार्थीहरूले कक्षाकोठाको योजना, सिकाइ र नेतृत्व प्रक्रियामा सक्रिय र समान भूमिकामा सहभागिता जनाउँने कुरा यही अवधारणाअन्तर्गत पर्छ । सिकाइमा विद्यार्थीको आवाजको अवधारणालाई दुई भिन्न तरिकाले प्रयोग गर्न सकिन्छ । पहिलो विद्यालयभित्रका विद्यार्थीहरूका मूल्य मान्यता, विचार, विश्वास र दृष्टिकोण अभिव्यक्ति गर्ने मौका दिएर र दोस्रो विद्यार्थीका छनोट, रुचि, चाहना र उद्देश्यमा आधारित शिक्षण विधि र अभ्यास प्रयोग गरेर । विद्यार्थीका प्राथमिकता, रुचि र दृष्टिकोणलाई सुन्ने र त्यसअनुसार कार्य गर्ने अभ्यासले विद्यार्थीलाई आफ्नो सिकाइको स्वामित्वको अनुभूति गराउँछ । यसले उनीहरूको रुचि र उत्साहलाई जागृत गर्छ ।
सिकाइ क्रियाकलापमा विद्यार्थीको पूर्वज्ञान, अनुभव, बुझाइ, उनीहरूको पृष्ठभूमि आदि जाँचेर उनीहरूलाई सिकाउन खोजिएको केन्द्रीय अवधारणामा के सिक्न चाहेका छन् ? सोधेर सिकाइ अनुभवको निर्माण प्रक्रियामा सहभागी गराई विद्यार्थीको आवाजलाई सिकाइमा स्थान र महत्व दिन सकिन्छ । यसरी विद्यार्थीहरूलाई केन्द्रीय विचार वा अवधारणा वरिपरि विविध प्रश्नहरू सिर्जना गर्न प्रोत्साहन दिन सकिन्छ । यस प्रक्रियामा विद्यार्थीहरूले धेरै प्रश्न बनाएर तीमध्ये सबैभन्दा अर्थपूर्ण प्रश्न छनोट गरी सिकाइमा आफ्नो आवाजका लागि स्थान बनाउँछन् । यस्ता क्रियाकलापले प्रश्न सोध्ने संस्कृतिको विकास गर्छ र सङ्कोची विद्यार्थीलाई समेत आफ्नो सोच र आवाज व्यक्त गर्ने अवसर दिन्छ । विद्यार्थीले उठाएका प्रश्न, चासो र चिन्ताहरू उनीहरूको जीवन अनुभव, सामाजिक सन्दर्भ र सिकाइ आवश्यकतासँग जोडिएका हुन्छन् । शिक्षकले विद्यार्थीका यस्ता आवाजलाई सतही रूपमा होइन, सिकाइका अवसरका रूपमा बुझ्नुपर्छ । जब विद्यार्थीका वास्तविक जिज्ञासा र अनुभव कक्षाकोठाको छलफल, परियोजना र मूल्याङ्कनसँग जोडिन्छन्, सिकाइ अझ सान्दर्भिक, जीवनोपयोगी र अर्थपूर्ण बन्छ ।
सिकाइमा विद्यार्थीको सोच, विचार र आवाजलाई स्थान दिनु शिक्षकको मुख्य जिम्मेवारी हो । केवल सुझाव सुन्नु वा प्रतिक्रिया सङ्कलन गर्नु मात्र पर्याप्त हुँदैन । ती विचारहरूलाई शिक्षण सिकाइ प्रक्रियामा कसरी समाहित गर्ने भन्ने कुरामा शिक्षकले ध्यान दिनुपर्छ । सिकाइमा विद्यार्थीको आवाजलाई सम्मान गर्ने अभ्यासले विद्यालय समुदाय सम्बन्ध सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्छ । जब विद्यार्थीले घर, परिवार र समुदायसँग सम्बन्धित विषयवस्तु कक्षाकोठामा ल्याउँछन्, विद्यालय र समुदायबीचको दूरी घट्छ । अभिभावक र समुदायका सदस्यहरू पनि सिकाइ प्रक्रियामा साझेदार बन्न प्रोत्साहित हुन्छन् । यसले विद्यालयलाई बन्द संस्थाभन्दा पनि समुदायसँग जोडिएको सिकाइ केन्द्रका रूपमा विकास गर्छ । विद्यार्थीको आवाजलाई सिकाइको केन्द्रमा राख्दा कक्षाकोठा संवाद, सहकार्य र पारस्परिक सम्मानमा आधारित जीवन्त सिकाइ केन्द्रको रूपमा रूपान्तरण हुन्छ ।
सिकाइमा विद्यार्थीको आवाज समावेश गर्न शिक्षकको प्रतिबद्धता आवश्यक हुन्छ । नियमित रूपमा विद्यार्थीहरूको सुझाव सङ्कलन गर्दा विद्यार्थीलाई सिकाइमा आफ्नो आवाज प्रयोग गर्न, अभ्यास गर्न र विकास गर्न सहयोग पु¥याउँछ । प्रश्न, विचार, मनपर्ने कुरा र सुधारका सुझाव लेख्न कक्षामा छुट्टै स्थान राख्नुपर्छ । दैनिक वा साप्ताहिक रूपमा विद्यार्थी प्रतिक्रियामा प्रतिक्रिया दिनुपर्छ । “हामी के जान्न चाहन्छौँ?” भन्ने सूची विद्यार्थीहरूसँग मिलेर तयार गर्नुपर्छ । विद्यार्थीको रुचिलाई शैक्षिक मापदण्डसँग कसरी जोड्ने भन्ने छलफल गर्नुपर्छ । यसका साथै क्रियाकलापमा आधारित सिकाइमार्फत विद्यार्थीको आवाजलाई स्थान र मूल्य दिनुपर्छ । परियोजनामा आधारित सिकाइ अपनाउनु पर्छ । विद्यार्थीलाई चासो लाग्ने वास्तविक जीवनका समस्या पहिचान गर्नुपर्छ । सहकार्यमा समाधान खोज्न प्रोत्साहन गर्नुपर्छ । “छेउको साथीसँग फर्केर कुरा गर” जस्ता छलफल विधि प्रयोग गर्नुपर्छ ।
विद्यार्थीको आवाजलाई सिकाइमा स्थान दिने कुरा व्यवहारमा उतार्न विद्यालय र शिक्षकहरूले ठोस रणनीतिहरू अपनाउन आवश्यक हुन्छ । उदाहरणका लागि, कक्षाकोठामा साझा दृष्टिकोण विकास गर्दा विद्यार्थीलाई योजना र आत्ममूल्याङ्कनमा सहभागी गराउन सकिन्छ । विद्यार्थीले आफैं लक्ष्य निर्धारण गर्ने अवसर पाएमा ती लक्ष्यहरू उनीहरूका लागि अर्थपूर्ण हुन्छन् र उपलब्धि हासिल गर्ने सम्भावना बढ्छ । त्यस्तै कार्य छनोटमा स्वतन्त्रता दिँदा विद्यार्थी आफ्ना रुचि र क्षमताअनुसार सिकाइमा सक्रिय हुन्छन् । छनोटमा स्वतन्त्रता दिनु मात्र पर्याप्त हुँदैन । विद्यार्थीलाई निर्णय गर्न, प्रतिबिम्बन गर्न र समस्या समाधान गर्न सिकाउनु पनि आवश्यक हुन्छ । आलोचनात्मक सोचलाई प्राथमिकता दिने कक्षाकोठाले विद्यार्थीलाई प्रश्न गर्न, गल्तीबाट सिक्न र जानकारीको मूल्याङ्कन गर्न सक्षम बनाउँछ । फरक फरक पहुँच माध्यम (कागजी, डिजिटल, भिडियो आदि) प्रयोग गर्दा विविध पृष्ठभूमिका विद्यार्थी र परिवारको सहभागिता सुनिश्चित गर्नुपर्ने हुन्छ । विद्यार्थीलाई बोल्ने, लेख्ने, प्रस्तुतीकरण गर्ने अवसर दिने जस्ता विभिन्न माध्यमबाट आफ्नो आवाज प्रयोग गर्ने अवसर दिँदा उनीहरूको आत्मविश्वास बढ्छ । विद्यालय समुदाय निर्माणमा विद्यार्थीलाई वास्तविक भूमिका दिँदा सिकाइ जीवनसँग जोडिन्छ । अन्ततः, सर्वेक्षण, छलफल र प्रत्यक्ष संवादमार्फत विद्यार्थीको प्रतिक्रिया सङ्कलन गरी त्यसलाई व्यवहारमा उतार्दा मात्र विद्यार्थीको आवाज सार्थक हुन्छ ।यसरी, विद्यार्थीको आवाजलाई सिकाइमा सम्मान गर्ने विद्यालय संस्कृतिले मात्र सक्रिय, जिम्मेवार र सक्षम नागरिक निर्माण गर्छ ।
आवश्यकता र औचित्य
सिकाइमा विद्यार्थीको आवाजलाई सम्मान गर्नु भनेको स्थानीय भाषा, संस्कृति, पारिवारिक पृष्ठभूमि र समुदायका ज्ञान प्रणालीलाई सिकाइ प्रक्रियामा स्थान दिनु हो । यसले स्थानीय ज्ञान र सन्दर्भलाई पाठ्यक्रममा समावेश गर्ने बलियो अवसर सिर्जना गर्छ । विद्यालयलाई समुदायसँग जोड्ने र सिकाइलाई जीवनोपयोगी बनाउने भूमिका खेल्छ । विद्यार्थीहरू आफ्नै समुदाय, संस्कृति, भाषा र दैनिक जीवनका अनुभव बोकेर कक्षाकोठामा प्रवेश गर्छन् ।ती अनुभवलाई सिकाइसँग जोड्दा पाठ्यक्रम, पाठ्यपुस्तककेन्द्रित नभई जीवनकेन्द्रित बन्छ । इन्टरनेशनल ब्याकलरियट अर्गनाइजेसन (क्ष्द्यइ ) ले पनि सिकाइमा विद्यार्थीको आवाजलाई स्थान दिइयो भने त्यो सिकाइ अर्थपूर्ण र दिगो हुने कुरामा जोड दिएको छ । शिक्षक र विद्यालयले विद्यार्थीलाई आफ्नै सिकाइमा सक्रिय रूपमा संलग्न गराउनु पर्छ । सिकाइमा विद्यार्थीको आवाजलाई स्थान दिने कार्य यस्तो खालको सिकाइ प्रक्रियाको अभिन्न कार्य नै हो । यसो गर्दा विद्यार्थीको चासो र जिज्ञासामा आधारित सिकाइ सम्भव हुन्छ । विद्यार्थीमा सिकाइप्रति आफ्नो स्वामित्वको भावना विकास हुन्छ । शिक्षक र विद्यार्थीबिच साझेदारी सम्बन्ध बलियो बन्छ । यसबाट शिक्षण सिकाइ सतही नभई गहिरो र दीर्घकालीन हुन्छ ।
विद्यार्थीको आवाजलाई सिकाइ क्रियाकलापमा समावेश गर्नु सहनिर्मित पाठ्यक्रमको मूल आधार हो । यस प्रक्रियामा शिक्षक र विद्यार्थी दुवै सिकाइका सहयात्री बन्छन्, जहाँ पाठ्यवस्तु, सिकाइ विधि र मूल्याङ्कन प्रणाली शिक्षक र विद्यार्थीको साझा संवादबाट विकसित हुन्छन् । उदाहरणका लागि, विद्यार्थीले व्यक्त गरेका सामाजिक समस्या, समुदायका चुनौती वा व्यक्तिगत चासोलाई आधार बनाएर परियोजनामा आधारित सिकाइ, अनुसन्धान कार्य वा समूह छलफल जस्ता क्रियाकलापहरू निर्माण गर्न सकिन्छ । यसले विद्यार्थीलाई आफ्नै सिकाइप्रति आत्मअनुशासन तथा उत्तरदायित्वको विकास गर्छ । यस्तो अभ्यासले शिक्षकलाई पनि आफ्ना शिक्षण रणनीतिहरू पुनर्विचार गर्न र लचकता अपनाउन प्रेरित गर्छ ।
सिकाइमा विद्यार्थीको आवाजलाई स्थान र महत्व दिँदा कक्षाकोठामा विश्वास, सम्मान र सहकार्यको संस्कृति निर्माण हुन्छ । विद्यार्थीले आफ्ना विचारले वास्तविक परिवर्तन ल्याएको देख्दा उनीहरूको आत्मविश्वास बढ्छ र उनीहरूको सिकाइमा सक्रिय सहभागिता स्वाभाविक रूपमा विकसित हुन्छ । यसरी शिक्षकले विद्यार्थीको आवाजलाई निर्णय प्रक्रियाको केन्द्रमा राख्दा कक्षाकोठा केवल ज्ञान स्थानान्तरणको थलो नभई साझा सिकाइ र रूपान्तरणको जीवन्त समुदायमा रूपान्तरित हुन्छ । विद्यालय तहमा अध्ययन गर्दा सिकाइमा आफ्नो आवाज व्यक्त गर्ने मौका पाएका विद्यार्थीहरू सफल हुने दर आवाज व्यक्त गर्ने मौका नपाएका विद्यार्थीको भन्दा बढी हुने अध्ययनहरूले देखाएका छन् ।
चुनौती र अवसर
सिकाइमा विद्यार्थीको आवाजलाई सार्थक रूपमा स्थान दिनु आदर्श अवधारणा भए पनि यसलाई व्यवहारमा उतार्न त्यति सहज भने छैन । यससँग विभिन्न संरचनागत, पेशागत र मनोवैज्ञानिक चुनौतीहरू जोडिएका हुन्छन् । यसका लागि पर्याप्त समय लाग्ने भएकाले समय व्यवस्थापन सबैभन्दा पहिलो चुनौतीको रूपमा देखिन्छ । निर्धारित पाठ्यक्रम, सीमित कक्षाघण्टा र परीक्षाकेन्द्रित दबाबका कारण शिक्षकलाई विद्यार्थीको विचार सुन्न, छलफल गर्न र त्यसलाई सिकाइ योजनामा समावेश गर्न पर्याप्त समय नहुन सक्छ । विद्यार्थीको आवाज सुनेर त्यसका आधारमा पाठ्यक्रमनिर्माण गर्न समय लाग्छ । जसले गर्दा धेरै शिक्षक परम्परागत तरिकाले ‘पाठ सकाउने’ दृष्टिकोणमै सीमित रहन बाध्य हुन्छन् । त्यसैगरी शिक्षकको मानसिकता परिवर्तन अर्को महत्वपूर्ण चुनौती हो । लामो समयदेखि शिक्षकलाई ज्ञानको प्रमुख स्रोत र कक्षाकोठाको एकमात्र निर्णयकर्ता मानिँदै आएको छ । यस्तो अवस्थामा विद्यार्थीलाई निर्णय प्रक्रियामा सहभागी गराउनु, उनीहरूको विचारलाई समान महत्व दिनु शिक्षकका लागि सहज नहुन सक्छ । केही शिक्षकले विद्यार्थीको आवाजलाई अनुशासन कमजोर बनाउने वा कक्षाकोठा अव्यवस्थित हुने जोखिमका रूपमा पनि हेर्न सक्छन् । यसका लागि ले आफूलाई “सहसिकाइ सहजकर्ता” को भूमिकामा रूपान्तरण गर्न सक्नुपर्छ ।
परीक्षाकेन्द्रित आजको मूल्याङ्कन प्रणालीको दबाब पनि विद्यार्थीको आवाजलाई अवरोध गर्ने अर्को प्रमुख कारण हो । अधिकांश विद्यालय प्रणाली अझै पनि लिखित परीक्षा, अङ्क र नतिजाकेन्द्रित छन् । यस्तो प्रणालीमा विद्यार्थीका रुचि, सिर्जनशीलता र आलोचनात्मक सोचलाई स्थान दिन कठिन हुन्छ । विद्यार्थीको आवाज समेटिएको परियोजना, प्रस्तुति वा प्रतिबिम्बन जस्ता वैकल्पिक मूल्याङ्कन विधिलाई औपचारिक रूपमा मान्यता नदिँदा शिक्षक र विद्यार्थी दुवै अन्योलमा पर्छन् । त्यसैले विद्यार्थीको आवाजलाई प्रभावकारी रूपमा सिकाइमा समावेश गर्न रूपान्तरणकारी शैक्षिक नीतिहरूका साथै त्यसै अनुरूपको मूल्याङ्कन प्रणाली, शिक्षकहरूको पेशागत दक्षता विकास गर्नुपर्छ ।
सिकाइमा विद्यार्थीको आवाजलाई स्थान दिने कार्य चुनौतीपूर्ण भए तापनि यसले शिक्षामा रूपान्तरणकारी सम्भावनाहरूको ढोका खोल्छ । यस प्रकारको सिकाइ प्रक्रियाको सबैभन्दा महत्वपूर्ण सम्भावना भनेको विद्यार्थी सहभागिताको उल्लेखनीय वृद्धि हो । जब विद्यार्थीले आफ्ना विचार, अनुभव र जिज्ञासालाई कक्षाकोठामा स्थान दिइएको महसुस गर्छन्, उनीहरू निष्क्रिय श्रोता नभई सक्रिय सिकाइका सहनिर्माता बन्छन् । यसले सिकाइप्रति उनीहरूको आन्तरिक प्रेरणा बढाउँछ । विद्यालयमा उनीहरूको उपस्थितिमा सुधार ल्याउँछ र जिम्मेवारीबोध विकास गर्छ । विद्यार्थीले आफ्नै प्रश्न र चासोलाई आधार बनाएर सिक्दा सिकाइ प्रक्रिया अर्थपूर्ण, दीर्घकालीन र व्यावहारिक बन्छ ।
निष्कर्ष
सिकाइमा विद्यार्थीको आवाजलाई प्रभावकारी रूपमा स्थान दिन सकियो भने त्यस्तो सिकाइ वातावरणमा कक्षाकोठा केवल ज्ञान स्थानान्तरणको थलो मात्र रहँदैन । बरु पारस्परिक सम्मान, संवाद र सहकार्यमा आधारित सिकाइ समुदायमा रूपान्तरण हुन्छ । विद्यार्थीले आफ्ना विचार, अनुभव र जिज्ञासालाई खुलेर व्यक्त गर्न पाउँदा उनीहरू आत्मविश्वासी, जिम्मेवार र सिकाइका सक्रिय पात्र बन्छन् । उनीहरूले आफ्नो सिकाइको स्वामित्व लिन्छन । यसले सिकाइमा आन्तरिक प्रेरणा बढाउँछ र दिगो बनाउँछ । यसले विद्यार्थीको आलोचनात्मक सोच, समस्या समाधान क्षमता र नेतृत्व कौशल विकासमा महत्वपूर्ण योगदान पु¥याउँछ ।
त्यस्तै, यस्तो सिकाइ वातावरणले शिक्षकलाई पनि पेशागत रूपमा सशक्त बनाउँछ । विद्यार्थीको आवाज सुन्ने र त्यसको आधारमा सिकाइ अनुभव निर्माण गर्र्नेे प्रक्रियाले शिक्षकलाई निरन्तर आफ्ना शिक्षण अभ्यासहरू पुनरावलोकन गर्न प्रेरित गर्छ । शिक्षक ज्ञानका एकमात्र स्रोत होइनन । उनीहरू सिकाइका सहजकर्ता, मार्गदर्शक र सहअन्वेषक हुन् । सिकाइमा विद्यार्थीको आवाजलाई आत्मसात् गर्दा यसले शिक्षकको कामलाई यान्त्रिकभन्दा पनि सिर्जनशील, अर्थपूर्ण र सन्तोषजनक बनाउँछ । विद्यार्थीबाट आउने विविध दृष्टिकोण र प्रश्नहरूले शिक्षकलाई पनि नयाँ तरिकाले सोच्न, सिक्न र आफूलाई अद्यावधिक गर्न अवसर प्रदान गर्छ ।
सिकाइमा विद्यार्थीको आवाजलाई स्थान दिइने कक्षाकोठामा शिक्षक विद्यार्थी सम्बन्ध पनि बलियो हुन्छ । यस प्रकारको आपसी विश्वास र सम्मानको सिकाइ वातावरण भएका कक्षाकोठामा शिक्षक र विद्यार्थी बिचमा खुल्ला संवाद र सुरक्षित सिकाइ वातावरण निर्माण भएको हुन्छ, यसले विद्यार्थीलाई सिकाइमा जोखिम लिन सक्ने र नयाँ ज्ञान निर्माण गर्न सहज वातावरण सिर्जना गर्छ । यस प्रकारको शिक्षण सिकाइ वातावरणले गल्तीलाई सिकाइको अवसरका रूपमा हेर्ने संस्कृति विकास गर्छ जसबाट कक्षाकोठामा भयरहित सिकाइ वातावरण सिर्जना हुन्छ । अन्ततः, विद्यार्थीको आवाजलाई केन्द्रमा राखिएको सिकाइले शिक्षक र विद्यार्थी दुवैको व्यक्तिगत विकासलाई समेट्ने समग्र शिक्षण सिकाइ परिस्थितिको े निर्माण गर्छ, जहाँ विद्यार्थीको सिकाइमा शिक्षक र विद्यार्थी दुबैको साझा जिम्मेवारी रहन्छ । यस प्रकारको सिकाइ वातावरणले विद्यार्थीलाई आफ्नो सिकाइ निर्देशित गर्ने अवसर दिन्छ र आफ्नै सिकाइको सहनिर्माता बनाउँछ ।
लेखक काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनमा भिजिटिङ्ग फ्याकल्टी तथा युलेन्स एजुकेशन फाउण्डेशनमा चिफ एकेडेमिक अफिसरको रूपमा कार्यरत हुनुहुन्छ ।


