काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्र निकै विशाल छ । यही विशाल क्षेत्रभित्र संगीतिका प्रेमिल र कालजयी फूलहरू फुल्दै आएका छन् । सङ्गीतका न त उचाइ नाप्न सकिन्छ न त चौडाइ । त्यसो त सङ्गीतको गहिराईको पनि मापन गर्न सकिदैन । केवल यी सबै कोटिलाई महसुस गर्न सकिन्छ । यही महसुसको संस्कृति र प्रणालीभित्र नेपाली सङ्गीत मात्र होइन विश्व सङ्गीत मौलाउँदै बिस्तार भइरहेको छ ।
नेपाली साङ्गीतिक क्षेत्रमा पछिल्लो समय गजल विधाले आफूलाई बिस्तार गदै लगेको छ । नेपाली गजल लेखन, वाचन हुँदै गायनमा समेत चर्चामा रहँदै आएको छ । अझ पछिल्लो समयमा गजल गायनको उचाइ हर्लक्क बढेको छ । आधुनिक प्रविधि, दृश्य प्रस्तुति र नयाँ पुस्ताको आकर्षणसँगै नेपाली गजलले दर्शक तथा श्रोताको मन जित्न थालेको छ । नेपाली गजल यात्रामा केही सशक्त स्वरहरूले विशेष भूमिका निर्वाह गरिरहेका छन् यतिबेला । नेपाली गजलको क्षेत्रमा त्यस्तै एक सशक्त स्रष्टा तथा एक प्रभावशाली नाम हो—बबिना भट्टराई ।
स्वर, सङ्गीत र अभिनयलाई समानान्तर रूपमा अगाडि बढाउँदै आएकी बबिना आज नेपाली गजल क्षेत्रमा स्थापित हुँदै गएकी प्रतिभाशाली कलाकार हुन् । बबिना नेपाली साङ्गीतिक क्षेत्रमा एक सशक्त नारी हस्ताक्षर हुन् । उनले पछिल्लो समयमा नेपाली गजलमा आवाज भर्दै आएकी छिन् । बबिनाको सङ्गीत र स्वरको क्षमता एकातिर कलात्मक रुपमा स्थापित हुँदै गएको छ भने अर्कोतिर उनले अभिनयमा समेत आफूलाई अब्बल दर्ज गर्दै आएकी छिन् । उनले गाएका गीतहरूमा केवल सङ्गीतको मिठास मात्र होइन, गहिरो संवेदना, प्रेम, पीडा, आत्मिक अनुभूति र जीवनका विविध आयामहरू भेटिन्छन् । त्यसैले उनका गीतहरू सुन्दा श्रोताले मनोरञ्जन मात्र होइन, आत्मीय अनुभूति पनि प्राप्त गर्छन् । र त दर्शकश्रोताको लागि बबिनाको आवाज चुम्बक बनेको छ नेपाली साङ्गीतिक बजारमा ।

मोरङको दोहमनामा जन्मिएकी बबिनाको साङ्गीतिक यात्रा बाल्यवस्थादेखि नैै सुरु भएको पाइन्छ । साङ्गीतिक वातावरणमा हुर्कदै आएकी बबिनाको बाल कण्ठबाट समयसमयमा सङ्गीका सुर प्रस्फुटित हुन्थे । त्यति नै बेलाएको हौसला, प्रेरणा, अभिभावकत्व उनका लागि साङ्गीतिक सोपान बन्दै आए । जीवनका लक्ष्य रेखाङ्कन गर्ने उनको बाल हृदय तथा मष्तिस्क सङ्गीतको सगरमाथाभन्दा पर भाग्न सकेन । सङ्गीतलाई जीवन बनाउने इरादाले उनको हृदयलाई चपक्क समात्यो । परिणामतः सन् २०१४ मा सार्वजनिक भएको “हसाउँछौ तिम्रै मर्जी” गीतबाट उनले औपचारिक साङ्गीतिक यात्रा सुरु गरिन्् । त्यसयता उनले आधुनिक गीत, गजल, तीजगीत, भजन र संस्कृत स्त्रोतमा स्वर दिँदै आएकी छन् ।
तर पछिल्ला केही वर्षयता भने बबिनाले विशेष रूपमा नेपाली गजलमा आफूलाई केन्द्रित गरिरहेकी छन् । गजल आफैँमा गहिरो साहित्यिक विधा हो, जहाँ शब्द र भावको संयोजन अत्यन्त संवेदनशील हुन्छ । गजल गाउन केवल राम्रो स्वर भएर पुग्दैन, शब्दको आत्मालाई महसुस गर्ने क्षमता पनि चाहिन्छ । बबिनाको गायनमा यही विशेषता भेटिन्छ । उनी गजल गाउँदा शब्दभित्र लुकेको मौनता, पीडा, प्रेम र अनुभूतिलाई जीवन्त बनाइदिन्छिन् । उनको स्वरले गजलका सेरलाई न्याय दिनमा कतै कन्जुस्याइँ गरेको छैन । हरेक रचनालाई न्याय दिन सक्न् गायकीको धर्म भएको बबिना बताउँछिन् ।
उनको चर्चित गजलमध्ये एक हो—“गजलका कुराले” । उत्तम विचार भेटुवालको शब्दमा तयार भएको यस गजलमा प्रेम र भावनात्मक सम्बन्धका सूक्ष्म अनुभूतिहरूलाई अत्यन्त कलात्मक रूपमा प्रस्तुत गरिएको छ । बबिनाको स्वरले गजललाई केवल सुन्ने सामग्री होइन, महसुस गर्ने अनुभूति बनाएको छ । गीतको सङ्गीत संयोजन पनि निकै मर्मस्पर्शी छ, जसले शब्दलाई थप प्रभावकारी बनाएको छ । गजल सार्वजनिक भएपछि धेरै श्रोताले सामाजिक सञ्जालमार्फत यसको प्रशंसा गरेका थिए ।
पछिल्लो समयमा ‘सम्झेर प्यार तिम्रो’ बोलको गजल निकै चर्चामा रहेको छ । बबिनालाई आवाजमा साथ दिएका छन् राज सिक्देलले । आर्जु गिरीको रचनामा रहेको प्रस्तुत गजलले बबिनाको गजलयात्रालाई थप उचाइ थपेको छ ।

त्यसैगरी, बबिनाको अत्यन्त चर्चित गजल हो—“मनदेखि गरेको माया कदर भएन” । सरोज ‘संगम’ रावलको शब्दमा आधारित यस गजलमा प्रेममा समर्पित मनको पीडा, उपेक्षा र भावनात्मक विछोडलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । यस गजलको विशेषता भनेकै यसको आत्मीय भाव हो । गीत सुन्दा यस्तो लाग्छ, मानौँ कुनै गहिरो पीडाले भरिएको प्रेमकथा स्वरमा बगेको छ । यसमा बबिनाले आफै सङ्गीत पनि भरेकी छन्, जसले उनको सर्जक व्यक्तित्वलाई अझ मजबुत बनाएको छ ।
पछिल्लो समय निकै चर्चामा आएको अर्को गजल हो—“नदीमा तिमी छौ” । कवि विनोद खनालको शब्दमा तयार भएको यस गजलमा प्रेमलाई नदीको प्रवाहसँग तुलना गरिएको छ । गीतमा प्रिय व्यक्तिको उपस्थितिलाई प्रकृतिसँग जोडेर अत्यन्त काव्यात्मक शैलीमा प्रस्तुत गरिएको छ । बबिनाको कोमल र भावुक स्वरले गजललाई अझ प्रभावशाली बनाएको छ । गीतको भिडियोमा पनि उनले सशक्त अभिनय गरेकी छन् ।
त्यसैगरी, “चञ्चल” गजलले पनि बबिनालाई नयाँ पुस्तामाझ लोकप्रिय बनाएको छ । प्रेमले मनमा ल्याउने तरङ्ग, बेचैनी र भावनात्मक उतारचढावलाई गीतमा सुन्दर रूपमा प्रस्तुत गरिएको छ । गीतको शब्द, सङ्गीत र स्वरबीचको सन्तुलन अत्यन्त आकर्षक देखिन्छ । बबिनाको गायनले गजललाई शास्त्रीय मिठास र आधुनिक संवेदनाको संयोजनमा रूपान्तरण गरेको छ ।
उनको पछिल्लो सिर्जनामध्ये “अँगालोभित्र” गजलले पनि विशेष चर्चा पाएको छ । प्रेमको आत्मीयता, निकटता र भावनात्मक सुरक्षाको अनुभूतिलाई गीतमा व्यक्त गरिएको छ । बबिनाको आवाजमा रहेको कोमलता र संवेदनशीलता यस गजलमा विशेष रूपमा अनुभूत हुन्छ । धेरै श्रोताले यसलाई “रातको शान्त क्षणमा सुन्न मिल्ने गजल” भनेर टिप्पणी गरेका छन् ।
बबिनाले पछिल्लो समय गजललाई आधुनिक दृश्य प्रस्तुति र सङ्गीत संयोजनसँग जोड्ने प्रयास पनि गरिरहेकी छन् । उनका धेरै गजलहरूमा सिनेम्याटिक भिडियो निर्माण गरिएको छ, जसले युवा पुस्तालाई गजलतर्फ आकर्षित गरेको छ । आजको समयमा गजललाई केवल साहित्यिक विधामा सीमित नराखी दृश्यात्मक अनुभूतिको रूपमा प्रस्तुत गर्नु चुनौतीपूर्ण काम हो । बबिनाले यही चुनौतीलाई अवसरमा बदल्दै गएकी छन् । नेपाली गजलमा देखिएको चुनौतीका एक साक्षी हुन् बबिना ।
उनको गायन शैलीमा शास्त्रीय सङ्गीतको आधार स्पष्ट सुनिन्छ । सुरको स्थिरता, उच्चारणको स्पष्टता र भावको नियन्त्रणले उनलाई अन्य गायिकाभन्दा फरक बनाउँछ । उनी गीतलाई केवल धुनमा सीमित राख्दिनन् गीतको आत्मालाई स्वरमा उतार्ने प्रयास गर्छिन् । यही कारण उनका गजलहरू सुन्दा श्रोतालाई आफ्नै जीवनका अनुभवहरू सम्झना आउँछन् ।
गजल बाहेक बबिनाले आधुनिक गीत र सांस्कृतिक गीतहरूमा पनि सफलता प्राप्त गरेकी छन् । “बालापनको तीज” जस्तो गीतले नेपाली महिला संवेदना र संस्कृतिको सुन्दर चित्रण गरेको थियो भने “अल्लारे” जस्ता गीतले युवापुस्तामाझ उत्साह र चञ्चलता प्रस्तुत गरेको थियो । तर उनको वास्तविक शक्ति भने गजलमै बढी देखिन्छ ।
अभिनयमा पनि उनी उत्तिकै प्रभावशाली छिन् । आफ्ना धेरै म्युजिक भिडियोहरूमा उनी स्वयम् अभिनय गर्छिन् । गीतको भावअनुसार अनुहारको अभिव्यक्ति, आँखा, मौनता र शारीरिक हाउभाउमार्फत भाव व्यक्त गर्ने क्षमता उनीमा छ । यसले गर्दा उनी केवल गायिका मात्र नभई सम्पूर्ण प्रस्तुतीको कलाकारका रूपमा स्थापित हुँदै गएकी छन् ।
डिजिटल युगसँगै बबिनाले आफ्ना सिर्जनालाई विश्वभरका नेपाली श्रोतामाझ पु¥याउन सामाजिक सञ्जाल र युट्युबलाई प्रभावकारी रूपमा प्रयोग गरिरहेकी छन् । उनका गजलहरू नेपालभित्र मात्र होइन, विदेशमा रहेका नेपाली समुदायमाझ पनि लोकप्रिय बन्दै गएका छन् ।
आज नेपाली सङ्गीत क्षेत्रमा धेरै स्वरहरू छन्, तर सबै स्वरले आत्मालाई छुने क्षमता राख्दैनन् । बबिना भट्टराईको स्वर भने त्यही दुर्लभ स्वरमध्ये एक हो, जसले गीतलाई केवल संगीतमा सीमित नराखी अनुभूतिमा रूपान्तरण गर्छ । उनका गीतहरूमा प्रेम छ, विरह छ, आशा छ, संवेदना छ, अनि जीवनका गहिरा अनुभूतिहरूको सुन्दर प्रतिविम्ब पनि छ ।

नेपाली गजलको नयाँ पुस्तामाझ लोकप्रियता बढाउँदै लैजानु उनका महत्वपूर्ण योगदानहरूमध्ये एक मान्न सकिन्छ । स्वर, सिर्जना, संगीत र अभिनयको त्रिवेणी बनेर उनले नेपाली गजलमा आफ्नो छुट्टै पहिचान निर्माण गरिरहेकी छन् । समयसँगै उनका सिर्जनाहरू अझ परिपक्व र प्रभावशाली बन्दै जानेछन् भन्ने विश्वास गर्न सकिन्छ ।


