निर्वाचनमार्फत स्कुल क्याप्टेन चयन : सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलमा लोकतान्त्रिक अभ्यास – Kanika Khabar
Sunday, June 7Nepali News Portal

निर्वाचनमार्फत स्कुल क्याप्टेन चयन : सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलमा लोकतान्त्रिक अभ्यास

    मा प्रकाशित

दाङ/दाङ जिल्लाको घोराही उपमहानगरपालिका–४, गोगलीस्थित सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलमा विद्यार्थी नेतृत्व चयनका लागि शुक्रबार लोकतान्त्रिक विधिबाट निर्वाचन सम्पन्न गरिएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले मतदानमार्फत आफ्ना प्रतिनिधि चयन गर्दै लोकतान्त्रिक अभ्यासको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।

विद्यालयमा रहेका चारवटा हाउसबीच भएको प्रतिस्पर्धात्मक निर्वाचनमा रेड हाउसका तर्फबाट उम्मेदवारी दिएकी कक्षा ९ की छात्रा प्रिन्सु न्यौपाने १०५ मत प्राप्त गरी स्कुल क्याप्टेन पदमा निर्वाचित भएकी छन्। त्यसैगरी, सोही हाउसका कक्षा ८ का छात्र शुभम विक सर्वाधिक १२९ मतसहित स्कुल सहायक क्याप्टेन पदमा विजयी भएका छन्।

स्कुल क्याप्टेन पदका निकटतम प्रतिस्पर्धी ब्लु हाउसकी कक्षा ९ की छात्रा पूजा सुनार ले १०२ मत प्राप्त गरेकी थिइन्। त्यस्तै, ग्रीन हाउसकी यशोदा सुनार ले १०१ मत तथा येल्लो हाउसकी सिखा पुन ले ४७ मत प्राप्त गरेकी थिइन्।

सहायक क्याप्टेन पदतर्फ येल्लो हाउसका कक्षा ८ का छात्र प्रदीप केसी ले ९५ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका थिए। अन्य उम्मेदवारहरू अश्मित गुप्ता ले ८७ मत तथा सौगात विक ले ४३ मत प्राप्त गरेका थिए।

निर्वाचनमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कुल ३९१ मतदाता रहेकोमा ३७० मत खसेको थियो। जसमध्ये ९६.२२ प्रतिशत मत सदर तथा ३.७८ प्रतिशत मत बदर भएको प्रमुख निर्वाचन अधिकृत तथा विद्यालयका प्रशासन प्रमुख बसन्त जीएम ले जानकारी दिए। उनले निर्वाचन प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित ढंगले सम्पन्न भएको बताउँदै आधिकारिक नतिजा घोषणा गरेका थिए ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि विद्यालयका प्रिन्सिपल पोषण न्यौपाने ले नवनिर्वाचित स्कुल क्याप्टेन र सहायक क्याप्टेनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले विद्यालय तहबाटै विद्यार्थीहरूलाई लोकतान्त्रिक मूल्य, मतदान प्रक्रिया, नेतृत्व विकास, जिम्मेवारीबोध र निर्णय प्रक्रियामा सहभागिताको अभ्यास गराउनु अत्यन्त महत्वपूर्ण रहेको बताए।

प्रिन्सिपल न्यौपानेले भने, “आजका विद्यार्थी भोलिका जिम्मेवार नागरिक र नेतृत्वकर्ता हुन्। विद्यालयमा सञ्चालन गरिएका यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, सहकार्य र लोकतान्त्रिक संस्कारको विकास गर्न महत्वपूर्ण भूमिका खेल्छन्। निर्वाचन केवल पद प्राप्त गर्ने माध्यम मात्र नभई जिम्मेवारी वहन गर्ने अवसर पनि हो।”

विद्यालय व्यवस्थापन तथा शिक्षकहरूले समेत विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताको प्रशंसा गर्दै यस्ता रचनात्मक तथा शैक्षिक गतिविधिहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्