प्रयोगशालामा नमूना थुप्रिए, रिपोर्ट आउन ढिलाई – Kanika Khabar
Monday, April 22Nepali News Portal

प्रयोगशालामा नमूना थुप्रिए, रिपोर्ट आउन ढिलाई

    मा प्रकाशित

कनिका खबर
भदौ १, झापा
प्रदेश नम्बर १ मा पिसिआर परीक्षणका लागि चार वटा प्रयोगशालाले काम गरिरहेका छन् । ती सबै प्रयोगशालामा पिसिआर परीक्षणका लागि सङ्कलन गरिएका स्वाबको नमूना थुप्रिएका छन् । प्रयोगशालाको परीक्षण क्षमताभन्दा बढी नमूना सङ्कलन भएका कारण समयमा नै रिपोर्ट दिन नसकिएको प्रयोगशालामा कार्यरत कर्मचारीहरुले बताएका छन् । धरानस्थीत बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाले २४ घण्टामा बढीमा एक हजार दुई सय नमूना परीक्षण गर्न सक्छ । तर, प्रतिष्ठानमा दैनिक १५ सयदेखि दुई हजारसम्म नमूना सङ्कलन हुने गरेको छ ।

यस्तै साउन २६ गतेदेखि नियमित परीक्षण शुरु गरेको झापाको मेची अस्पतालको प्रयोगशालाको क्षमता २४ घण्टामा दुई सय मात्रै नमूना परीक्षण गर्न सक्ने हो । तर, प्रयोगशालामा साउन २७ गते मात्रै एकै दिन ९ सय नमूना सङ्कलन भएको मेची अस्पताल पिसिआर प्रयोगशालाका इञ्चार्ज डाक्टर प्रतिमा शर्माले जानकारी दिनुभयो ।

यसैगरी, विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशाला र प्रादेशिक प्रयोगशाला गरी प्रदेश १ का चार वटा प्रयोगशालाले २४ घण्टामा दुई हजार दुई सय नमूना परीक्षण गर्न सक्छन् । तर प्रदेशभरि अहिले दैनिक तीन हजार पाँच सयसम्म नमूना सङ्कलन भइरहेको प्रादेशिक प्रयोगशाला विराटनगरका प्रमुख जयवेन्द्र यादवले बताउनुभयो ।

प्रदेश १ मा हालसम्म ६५ हजार ९ सय ३३ नमूनाको पिसिआर परीक्षण गरिएको छ । जसमा २ हजार ९ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । यस्तै सङ्क्रमित भएकामध्ये एक हजार ७५ जना निको भएर घर फर्किएका छन् भने कोरोना सङ्क्रमणका कारण १३ जनाको मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्