मा प्रकाशित
दाङ, ८ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुशासन, पारदर्शिता र सेवाग्राहीमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले गुनासो सुनुवाइ प्रणाली सञ्चालनमा ल्याएको छ।
अस्पतालको सेवालाई थप चुस्त, दुरुस्त र बिरामीमैत्री बनाउन प्रतिष्ठानले विभिन्न स्थानमा राखिएका सुझाव पेटिका, टेलिफोन तथा सन्देश (मेसेज) मार्फत प्राप्त गुनासा र सुझावको सुनुवाइ तथा सम्बोधन गर्ने व्यवस्था गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक तथा सहप्राध्यापक डा. सुरेश रसाइलीले जानकारी दिएका छन्।
उनका अनुसार सेवाग्राहीबाट प्राप्त हुने गुनासालाई सम्भव भएसम्म तत्काल समाधान गर्ने नीति अनुरूप प्रतिष्ठानले गुनासो व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। ‘सेवाग्राहीका गुनासालाई सम्भव भएसम्म समाधान गर्ने गरी हामीले यो व्यवस्था सुरु गरेका छौँ। सुझाव पेटिका, फोन र सन्देशमार्फत प्राप्त गुनासा तथा सुझावलाई सम्बन्धित शाखासँग समन्वय गरी समाधान गर्ने प्रयास भइरहेको छ’, निर्देशक रसाइलीले भने।
यसका लागि प्रतिष्ठानले शाखा अधिकृत शालिकराम कालाथोकीलाई गुनासो सुनुवाइ अधिकारी तोकेको छ। उनीमार्फत सेवाग्राहीका गुनासा दर्ता, अध्ययन तथा आवश्यक समन्वय गरी समाधानको प्रक्रिया अघि बढाइने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले गुनासो सुनुवाइ प्रणाली प्रभावकारी बनाएर स्वास्थ्य सेवाप्रति सेवाग्राहीको विश्वास अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।


