
काठमाडौँ । आख्यानकार सञ्जु अधिकारीका दुई कृति, ‘सनम’ (उपन्यास) र ‘मानस’ (कथासङ्ग्रह) एक साथ सार्बजनिक गरिएको छ ।
आइतबार काठमाडौँको रामालय इभेन्ट्समा आयोजित एक कार्यक्रममा अधिकारीका दुई कृति सार्वजनिक गरिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. शैलेन्दु प्रकाश नेपालले पुस्तकको लोकार्पण गर्नुभएको हो ।
‘विद्यार्थीकालदेखि नै लगनशील र मेहनेती रहेकी सञ्जुले नेपाली साहित्यमा गम्भीरताका साथ काम गरिरहेकी छिन् । मानवीय संवेदनालाई सञ्जुले राम्रोसँग प्रस्तुत गरेकी छिन् ।’ नेपालले भन्नुभयो ।
उपन्यास सनमले फरक क्षमताकी छोरी हुर्काउन एउटा पिताले गरेको सङ्घर्षलाई निकै राम्रोसँग प्रस्तुत गरेको छ भन्दै डा. नेपालले मानस कथासङ्ग्रहमा श्रम अवमूल्यन, परदेशीयका मन, अनेक विभेदका विरुद्ध लडिरहेका आम मानिसका कथा समेटिएको बताउँनुभयो ।
आख्यानकार अधिकारीले आफ्ना गुरुका हातबाट कृति विमोचन गर्न पाउँनु अहोभाग्य भएको बताउँदै आफुले रचनामार्फत् मानवीय मूल्य प्रस्तुत गर्ने जमर्काे गरेको बताउनुभयो ।
पेशाले चार्टर्ड एकाउन्टेन्ट रहेकी अधिकारीका यस अघि इन्द्रेणी स्पर्श (उपन्यास) र मन (कविता सङ्ग्रह) प्रकाशित छन् ।
दुवै पुस्तकको प्रकाशन तथा वितरण बिएन पुस्तक संसार प्रा. लि. ले गरेको हो ।


