
दाङ । विपद्का कारण प्रभावित तथा पीडित नागरिकको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल मोबाइल डिलर्स एसोसिएसन (NMDA) राप्ती शाखाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १२ हजार ७१० रुपैयाँ आर्थिक सहयोग गरेको छ।
विपद्को कठिन घडीमा रहेका नेपाली नागरिकको पीडामा साथ दिने तथा मानवीय सेवामा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको NMDA राप्ती शाखाले जनाएको छ।
विपद्मा परेका नागरिकलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन राज्यसँगै निजी क्षेत्र, व्यवसायी तथा सामाजिक संघसंस्थाको समेत महत्वपूर्ण भूमिका रहने भन्दै शाखाले आफ्नो तर्फबाट सहयोग रकम प्रदान गरेको हो।
NMDA राप्ती शाखाले विपद्का बेला पीडित नागरिकको साथमा उभिनु मानवीय दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।
शाखाले विपद्का कारण समस्यामा परेका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ।
NMDA राप्ती शाखाका अध्यक्ष राज भक्त रानाले विपद्को समयमा पीडित नागरिकको पीडामा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा आर्थिक सहयोग गरिएको बताए। उनले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।


