इजरायलमा आज संसदीय निर्वाचन, नेतान्याहुको राजनीतिक भविष्य दाउमा – Kanika Khabar
Wednesday, October 28Nepali News Portal

इजरायलमा आज संसदीय निर्वाचन, नेतान्याहुको राजनीतिक भविष्य दाउमा

    मा प्रकाशित

काठमाडौँ । इजरायलमा आज संसदीय निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान हुनेछ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण, त्यसपछि सुरु भएका युद्ध तथा सरकारको आन्तरिक र विदेश नीतिलाई निर्वाचनका प्रमुख मुद्दा बनाइएको छ ।

पूर्वसैनिक प्रमुख गादी आइजेनकोट र पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटसहित विपक्षी नेताहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी सरकारलाई चुनौती दिएका छन् ।  हमासको आक्रमण रोक्न असफल भएको विषयमा नेतान्याहुको आलोचना हुँदै आएको छ। उनी करिब १९ वर्ष विभिन्न कार्यकालमा प्रधानमन्त्री बनिसकेका छन् ।

निर्वाचनअघि नेतान्याहु र इजरायली सेनाप्रमुख इयाल जमीरबीच इरानमाथि सम्भावित आक्रमणका विषयमा मतभेद भएको खबर सार्वजनिक भएको थियो । नेतान्याहुले सेनाप्रमुखसँग कुनै टकराव नरहेको दाबी गरेका छन् । विपक्षी तथा आलोचकहरूले भने चुनावी लाभ लिन नेतान्याहुले इरानसँगको तनाव बढाउन खोजेको आरोप लगाएका छन् ।

यस निर्वाचनले नेतान्याहुको राजनीतिक भविष्यसँगै इजरायलको न्यायपालिका, सरकारको अधिकार र सैन्य सेवासम्बन्धी नीतिको दिशा पनि निर्धारण गर्ने अपेक्षा गरिएको छ । अर्कोतर्फ विश्वभर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेतान्याहू समर्थकले चुनाव हारिरहेका बेला इजरायलको यस चुनावलाई चासोका साथ हेरिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्