दाङमा विकास निर्माणका काम सुचारू – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

दाङमा विकास निर्माणका काम सुचारू

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २३ दाङ ।

दाङमा लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सुरु भएका छन् । विशेषगरी तत्काल निर्माण कार्य नगरे गम्भीर क्षति हुने तथा सङ्घ र प्रदेश सरकारका प्राथमिकतामा परेका योजनाहरुको निर्माण कार्य सुरु भएको हो ।

दाङमा अलपत्र परेका प्रदेश सरकार अन्तर्गतका विकास निर्माणका काम सुरु हुन थालेका छन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण जिल्लामा एक महिनादेखि अवरुद्ध विकास निर्माणका काम विशेष सतर्कताका साथ सुरु हुन थालेका हुन् ।लकडाउनकै बीच अहिले दैनिक रुपमा सडकका काम भइरहेको छ ।

प्रदेश सरकारको प्राथमिकतामा परेको कुइरेपानी सर्रा, बिजौरी हाडीमे, दङ्गीशरण पहुँच मार्ग, चमेरेगुफा पर्यटन मार्ग अन्तर्गतका सडकको काम श्रमिकको स्वास्थ्य सुरक्षाका साथ सुरु भएको पूर्वाधार विकास कार्यालय दाङका प्रमुख वासुदेव भण्डारीले बताए । पूर्वाधार विकास कार्यालय अन्तर्गतका ७० भन्दा बढी योजनाहरु अहिले निर्माणाधीन अवस्थामा छन् । तीमध्ये वर्षायाम अगाडि नै सम्पन्न नभए धेरै क्षति हुने अन्य योजनाको निर्माण कार्य पनि सुरु भएको कार्यालयले जनाएको छ ।

कुइरेपानी सर्रा सडक विस्तार र स्तरोन्नतिको काम वैशाख महिनाभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयले बताएका छन् ।६ किलोमिटर सडक विस्तार र स्तरोन्नतिको जिम्मा पाएका निर्माण व्यवसायी प्रकाश विश्वकर्माले धेरै उपकरण प्रयोग गरी, स्थानीय श्रमिकलाई उच्च स्वास्थ्य सुरक्षाका साथ काममा लगाइएकाले काम गर्न सहज भएकोे बताए ।पूर्वाधार विकास कार्यालय अन्तर्गतका मात्र नभई सहरी विकास तथा भवन कार्यालय अन्तर्गतका रोकिएका योजनाहरुको काम पनि सुरु भएका छन् ।

घोराही उपमहानगरपालिका १८ नवलपुरको अम्बापुर एकीकृत जग्गा विकास आयोजना अन्तर्गतको सडक तथा नाला निर्माणको काम पनि सुरु भएको छ । घोराही नगर विकास समितिमार्फत सुरु भएको नाला निर्माणको काम लकडाउन सुरु भएसँगै रोकिएको थियो ।श्रमिकहरुका लागि छुट्टै शिविर स्थापना गरी, त्यही राखेर काम सुरु गरिएको निर्माण व्यवसायी बताउँछन् । यहाँ काम गर्ने श्रमिकहरुले पनि मास्क (मुखावरण) लगाएर र भीड नगरी काम गरिरहेको स्थानीयहरु बताउँछन् ।

केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले गौरव र अन्य विकासे योजनाको काम सुरु गर्ने निर्णय गरेसँगै रोकिएका काम सुरु भएका हन् । राष्ट्रिय गौरवका आयोजनासँगै सडक, सिँचाइलगायतका अत्यावश्यक विकास निर्माणका कामहरू सुरु गर्ने सर्वदलीय निर्णयानुसार जिल्लामा विकास निर्माणको कामअघि बढाइएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।

प्रदेश अन्तर्गतका मात्र नभइ पालिकाहरुले पनि आ–आफ्नो क्षेत्रका विकास निर्माणका काम सुरु गर्न थालेका छन् । वर्षायाम अगाडि नै सम्पन्न गर्नुपर्ने योजनाहरुको काम सुरु गरिएको पालिकाहरुले जनाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्