कनिका खबर
भदौ ११, दाङ ।

नेपाली काङ्ग्रेस घोराही नगर कार्यसमितिका सल्लाहकार तथा काङ्ग्रेस वडा नं १७ का सल्लाहकार नारायण पोख्रेलको हृदयघातका कारण निधन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी पोख्रेलको आज बिहीबार बेलेका साढे ५ बजेतिर निधन भएको जनाइएको छ ।
पोख्रेलको निधनले नेपाली काङ्ग्रेसलाई ठूलो क्षति पुगेको पार्टी पङ्तिले बताएको छ । पोख्रेलको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली काङ्ग्रेस दाङले शोक वक्तव्य जारी गरेको छ । जिल्ला सभापति कीतिबहादुर खड्का र सचिव शंकर डाँगीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पोख्रेलको निधनले पार्टीले ठुलो क्षति व्यहोर्न परेको बताउँदै दुःख प्रकट गरिएको छ ।
त्यसैगरी नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति भेषराज पाण्डे, नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति भूप बहादुर डाँगी नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति जगत खड्काकाले पनि छुट्टाछुट्टै शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका छन् ।
नेपाली काङ्ग्रेस घोराही उपमहानगरपालिकाका सभापति मनोज बुढाथोकी र सचिव दिनेश अधिकारीद्वारा शोक वक्तव्य जारी गर्दै दुःख प्रकट गरिएको छ । नेपाली कांग्रेस घोराही वडा नं. १७ का सभापति बुझौना चौधरी तथा सहसभापति सन्तोष योगी र निरज गौतमद्वारा शोक वक्तव्य जारी गर्दै दुःख प्रकट गरिएको छ ।
यस्तै नेपाली कांग्रेस घोराही वडा नं. १५ का सभापति प्रकाश श्रेष्ठ, वडा नं. १० का सभापति देवबहादुर वलीले पनि छुट्टाछुट्टै शोक वक्तव्य जारी गरेका छन् । स्वर्गीय पोख्रेलको भोलि शुक्रबार बिहान ६ बजे धारपानी बबई घाटमा अन्तिम संस्कार गरिने जानकारी पारिवारिक स्रोतले दिएको छ ।


