कसरी अपनाइँदै छ दाङमा उच्च सतर्कता ?, ‘ कम्युनिटी बेस’मा अब सुरक्षा प्रणाली – Kanika Khabar
Friday, March 29Nepali News Portal

कसरी अपनाइँदै छ दाङमा उच्च सतर्कता ?, ‘ कम्युनिटी बेस’मा अब सुरक्षा प्रणाली

    मा प्रकाशित

कनिका डेस्क
बैशाख २३, दाङ ।
दाङको छिमेकी जिल्ला बाँके कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेपछि दाङमा त्रास बढ्दै जान थालेको छ । केही दिन अगाडिसम्म कोरोना सङ्क्रमण मुक्त  प्रदेश रहेको पाँच नम्बर प्रदेश बाँकेको परिमाणसँगै देशको उच्च जोखिममा परेको हो ।
बाँकेको नेपालगञ्जमा बढ्दै गएको कोरोना सङ्क्रमणको सङ्ख्याले बाँके लगायत छिमेकी जिल्लाहरुमा त्रासलाई फैलाउँदै लगेको छ । हिजो सोमबार नै दाङ जिल्लाको विपद व्यवस्थापन समितिको बैठक बसेर उच्च सतर्कताका लागि नौ वटा निर्णयहरु नै पारित गरिसकेको छ । अब स्थानीय प्रशासनले उच्च सतर्कताका लागि हिजो भएका निर्णहरुलाई प्रभावकारी रुपमा लागू गर्नका लागि प्रयत्न गर्ने नै छ ।
दाङ जिल्लाको सुरक्षा निकायहरुले पनि आफ्नै रणनीतिहरु तय गरेको छ । पछिल्लो चरणमा दाङ जिल्लाको सुरक्षा निकायले ‘कम्न्युटी बेस’ लाई सशक्त रुपमा अगाडि बढाउने भएको छ । कनिका खबरसँग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले भने, ‘‘विपद् व्यवस्थापन समितिको बैठकले गरेका निर्णयलाई अक्षरशः पालना गर्ने र राज्यको राष्ट्रिय नीति निर्देशनका आधारमा सुरक्षालाई प्रभावकारी बनाउँदै लैजाने रहेको छ । ’’ जिल्लामा पछिल्लो समयमा देखिएको जोखिमका सन्दर्भ अपनाइने सुरक्षा प्रणालीका बारेमा जानकारी दिदै खड्काले भने, ‘‘ जिल्लाको चार वटै नाकामा सुरक्षा चेक जाँचलाई अझ कडा पारिने भएको छ, नाकामा सुरक्षाकर्मीका साथै स्वास्थ्यकर्मी समेत थपेर हेल्थ डेस्क तय गरेका छौँ र सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको संयुक्त पहलमा कोभिड १९ को सङ्क्रमणबाट सुरक्षित रहन र राख्न प्रयास भइरहेको छ । अबको हाम्रो नयाँ पोलिसी हो ‘कम्न्युटी बेस’ । समुदायसँग जोडिएर हामीले काम गरिरहेका छौँ । कुनै पनि समुदायमा बाहिरबाट कोही आएको छ भने हामीलाई समुदायले नै जानकारी दिनेछ र समुदायसँगको सहकार्यबाट नै बाहिरबाट आएका मानिसको स्वास्थ्य चेकजाँच गर्ने तथा क्वारेन्टाइनमा राख्ने काम गर्नेछौँ साथै यस्तो सहकार्यको सुरुआत भई पनि सकेको छ ।’’ यस्तो सहकार्यले प्रहरीलाई निकै सजिलो भएको बताउँदै खड्काले भने, ‘‘ प्रहरीको आँखा, नाक, कान, घाँटी भनेको नै जनता हुनुहुन्छ, समुदाय हो ।’’
हिजो बसेको विपद व्यवस्थापन समितिको बैठकले पूर्व पश्चिम राजमार्गको जिल्ला प्रवेश विन्दु धानखोला र शिवखोलामा अन्य जिल्लाबाट प्रवेश गर्ने सवारी साधनहरुको चेकजाँचमा कडाई गर्ने,. अत्यावश्यक सेवाका सवारी साधन समेतले इजाजत वेगर मानिस ओसार पसार गर्न सक्ने सम्भावना भएकाले सबै सवारी साधनहरुको अनिवार्य रुपमा परीक्षण गरेर मात्र आवत जावत गर्न दिने, कुनै पनि सवारी साधनले इजाजत नलिइ मानिस ओसार पसार गरेको पाईएमा तत्काल सवारी साधनलाई समेत नियन्त्रणमा लिने,. जिल्लामा सञ्चालित विभिन्न कारखानाहरु र इट्टा उद्योगमा काम गर्ने भारतीय नागरिकहरुको उद्योग भित्र नै व्यवस्थापन गर्न र बाहिर निस्कन नदिनका लागि पहल गर्न सम्बन्धित उद्योगहरुलाई पत्राचार गर्ने लगायतका निर्णय भएका छन् ।
साथै जिल्लामा रहेका सम्भाव्य जोखिम हुन सक्ने व्यक्तिहरुको पिसिआर लगायतको परीक्षणको व्यवस्था स्वास्थ्य कार्यालय दाङले मिलाउने र यसको सहजीकरण जिल्ला प्रशासन कार्यालय दाङ, जिल्लास्थित सुरक्षा निकायहरु र सबै स्थानीय पालिकाहरुले गर्ने, पूर्व पश्चिम राजमार्गको कालाकाँटे र अमेलिया तथा बबई गाउँपालिकाको हंसपुरमा सुरक्षाकर्मी सहितको हेल्थ डेस्क सम्बन्धित स्थानीय तह, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल २९ नं. गण को समन्वयमा स्थापना गरी तत्काल संचालनमा ल्याउने लगायतका निर्णय समितिले गरेको छ ।
विप्द व्यवस्थापन समितिको बैठकले गरेका निर्णयहरु एकातिर छन् तर अर्कोतिर जिल्लाभित्र लकडाउन खुकुलो बन्दै पनि गएको छ । बिहानको समयमा बजारमा देखिने चहलपहल र सामान्य रुपमा खुलेका पसल एवम् बैंकहरुले लकडाउन खुकुलो बन्दै गएको प्रमाणित गरेका छन् । यद्यपि विकास निर्माणका कार्यहरु सञ्चालनमा ल्याउने निर्देशन पनि भएको छ । दाङ जिल्लामा बाहिरबाट आउनेको सङ्ख्या पनि दुई हजारभन्दा बढीको रहेको छ । समितिको बैठकले बाहिरबाट आउनेमा कडाई गर्ने निर्देशन त ग¥यो तर आइसकेका व्यवस्थापनका साथै उनीहरुलाई सामाजिक सम्पर्कमा रोक्नका लागि गर्नु पर्ने योजनाका बारेमा केही बोलेको छैन । यतिबेलाको दाङको त्रास बाहिरबाट आउनेहरुको मात्र नभएर आइसकेका हरुको पनि त्यतिकै छ । अबको उच्च सतर्कताले यी कुरालाई पनि सम्बोधन गर्न सक्नुपर्छ । ‘मर्निङ वाक’ को नाममा बिहान र बेलुकाको समयमा देखिने चहलपहल पनि डरलाग्दो छ, उच्च सतर्कताले यसलाई पनि सम्बोधन गर्नुपर्ने हुन्छ ।
स्थानीय निकायका रणनीति
स्थानीय प्रशासन र स्थानीय निकायहरुले आफ्नो सक्रियता जसरी देखाइरहेका छन् यसलाई निरन्तरता दिन त जरुरी छ नै अबको चलाखी भनेको सङ्कट आइपरेपछि गरिने पूर्वतयारी र सङ्कट रोक्नका लागि गरिने पहल हो । यसका लागि जिल्लाका स्थानीय निकायहरुले पनि उच्च सतर्कताका लागि आआफ्नै रणनीतिहरु बनाएका छन् ।
दाङ जिल्लामा पनि उच्च जोखिमको रुपमा देउखुरी उपत्यकालाई हेरिएको छ । पूर्व पश्चिम राजमार्ग तथा विभिन्न नाकासँग जोडिएका कारण पनि देउखुरी क्षेत्र संवेदनशील बन्दै गएको छ । कनिका खबरसँगको संवादमा लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले भने, ‘‘विपद् व्यवस्थापन समितिको वैठकले गरेका निर्णयलाई अक्षरशः पालना गर्ने त छँदै छ त्यसका अलावा यस पालिकाभित्रका कसैका आफन्तीहरुलाई पालिका भित्र बाहिर आवतजावतमा रोक लगाउने, रात्रिको समयमा सवारी साधनहरु आवतजावतमा पूर्ण रोक लगाउने रणनीति तय गरेका छौँ ।’’ जिल्लामा देउखुरी क्षेत्रमा अलि गाह्रो पनि र हेको र राजमार्गका कारण पनि अलि कठिनाइ आएको बताउँदै प्रमुख के.सीले भने, ‘‘.अहिले पनि पूर्वी सीमाना धानखोलामा सुर्खेततर्फ जाने थुप्रै मानिसहरु हुनुहुन्छ हामीले उहाँहरुलाई जिल्लामा प्रवेश गर्न दिएका छैनौँ, प्रारम्भिक जाँच र क्वारेन्टाइनमा राखेपछि मात्र गन्तव्यतर्फ पठाउने गरेका छौँ । साथै सीमामा चेक जाँचलाई कडा बनाउँदै पनि लगेका छौ यसलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने छौँ ।’’
घोराही उपमहानगरपालिकाले पनि विपद् व्यवस्थापन समितिको बैठकमा भएका निर्णहरुलाई प्रभावकारी रुपमा पालना गराउनका लागि लागिपरेको र पालिकाभित्र भित्रिने स्थानमा सवारी चेकजाँचलाई कडाइका साथ अगाडि बढाउने रणनीति तय गरेको प्रेस संयोजक निमु घर्तीले जानकारी दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर भित्रिने अमिलिया नाकामा २४ सै घण्टा सवारी चेक जाँच गर्ने, एम्बुलेन्स चालककले अनिवार्य रुपमा पिपिइ लगाउनुपर्न, एम्बुलेन्सको बिचमा पार्टेसन गरिएको हुनुपर्ने र बजारमा देखिएको अनावश्यक तथा विभिन्न बहानामा बाहिर निस्किएको भीडलाई प्रशासनको सहयोगमा न्यूनीकरण गर्दै लैजानुपर्ने निर्णय गरिसकेको पालिका प्रेस संयोजक बसन्त आचार्यले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्