कनिका खबर
भदौं १६, दार्चुला
लेकम गाउँपालिकाका वडा नम्बर ५ मा मृत्यु भइसकेको व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता बुझेको पाइएको छ । लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा वडाकै कर्मचारीले मृतकको नामको सामाजिक सुरक्षा भत्ता बुझेको खुलाशा भएको हो । सामाजिक सुरक्षा भत्ताको जिम्मेवारी पाएका प्राविधिक हरसिंह बोहराले नै मृत्यु दर्ता भइसकेको व्यक्तिको लगत कट्टी नगरी भत्ता लिएको पाइएकोे छ । २०७६ असार २३ गते महेन्द्र नगरमा मृत्यु भएको हरिदत्त जोशीको मृत्यु दर्ता भइसक्दा समेत सामाजिक सुरक्षा भत्ता प्राविधिक बोहराले नै लिएको खुलाशा भएको हो ।
महेन्द्रनगरमा उनको मृत्यु भएकाले सबैलाई जानकारी समेत नभएको र तेस्रो चौमासिकको भत्ता लिन नआएपछि सोधखोज गर्दा वडाका कर्मचारीले राखेको खुल्न आएको वडाध्यक्ष दिपेन्द्र सिंह बोहाराले जानकारी दिनुभयो । पहिलो र दोस्रो चौमासिकको २४ हजार सामाजिक सुरक्षा भत्ता आफूले बुझेर मौन बसेका प्राविधिक बोहराको पोल तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणका बेला खुलेको हो । मृतकका आफन्तले मृतकका नाममा सामाजिक सुरक्षा भत्ता लिइरहेको सुइको पाएपछि सोधखोज गर्दा प्राविधिक बोहराले कोलेनिकामा फिर्ता गरेको जनाइएको छ ।


