कनिका संवाददाता
बैशाख २३, दाङ ।
दाङ जिल्ला कोभिड १९ को उच्च जोखिममा परेपछि उच्च सतर्कता अपनाइएको छ । उच्च सतर्कतासँगै सवारी पासमा पनि कडाइ गरिनुका साथै रणनीति बदलिएको छ । यो रणनीति नोपालभरि नै बदलिएको हो । पछिल्लो समयमा सवारी पासको व्यवस्थालाई नेपाल सरकारले नै बदलेको हो ।
अब पहिलाजस्तो सवारी पासले सबै क्षेत्रमा काम गर्ने छैन । पहिला एउटा जिल्लाले प्रदान गरेको सवारी पासले नेपालभरि नै मान्यता पाउँदथ्यो भने अहिले नपाउने भएको छ । कनिका खबरसँगको संवादमा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम सीले भने, ‘‘ अहिले प्रस्थान जिल्ला र गन्तव्य जिल्लाको सहमति हुनुपर्दछ । दाङबाट बाँके जान लागेको व्यक्तिले प्राप्त गर्ने सवारी पासमा दाङ र बाँके दुबै जिल्लाको प्रशासनको सहमति भएमा मात्र त्यो पासले मान्यता पाउने छ ।’’ साथै उनले थपे ‘‘ प्रस्थान जिल्लाबाट गन्तव्य जिल्लामा पुग्दा पार गर्नु पर्ने अन्य जिल्ला भएमा ती जिल्लाको समेत सहमति हुनुपर्नेछ ।’’
‘‘नेपाल सरकारले यस्तो निर्देशन गराए पनि आपतकालीन केसमा हामीले कम्परमाइज गर्दै आएका पनि छौ ।’’ एम सीले बताए । कोभिड १९ को सङ्क्रमणलाई रोक्ने सबैभन्दा राम्रो विकल्प भनेको मुभमेन्टलाई रोक्नु नै हो । मानिसको मुभमेन्टलाई रोकेर सङ्क्रमण फैलन कम गर्नका लागि पनि यस्तो रणनीति बनाएको एमसीले बताए ।