सडकपेटीमा कोरोना संक्रमित भेटिए – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

सडकपेटीमा कोरोना संक्रमित भेटिए

    मा प्रकाशित

कनिका खबर
२६ असोज

काठमाडौं टेकु अस्पतालले दिएको कोरोना पोजिटिभको रिपोर्ट झोलामा छ । आँखा सुन्निएका छन् ।६२ वर्षीय सोम बहादुर लामा आइसियूमा स्वास्थ्यकर्मीको निगरानीमा हुनुपथ्र्यो, तर घामले तात्तिएको सडक किनारमा भेटिन्छन ।
गौशाला र पुरानो बानेश्वरबीचको बत्तीसपुतली सडक ।

आइतबार मध्याह्न १२ बजेको चर्को घाम । कालो ज्याकेट, निलो जिन्स पाइन्ट लगाएका सोमबहादुर लामा सडकपेटीको फुटपाथमा बसिरहेका छन् । काँधमा कालो झोला छ, झोलाभित्र कोभिड पजिटिभ भन्ने रिपोर्ट छ । ज्वरोले जिउ थरथर कामिरहेको छ ।
चर्को घाम र प्यासले मुख पनि प्याकप्याक भएको छ । रिँगटा लागेर ढल्छन् कि भन्ने डर छ । आफैँलाई सम्हाल्न उनी आँखा चिम्म गर्छन्, दुवै हातले टाउको समाउँछन् र लामो सुस्केरा हाल्छन् ।

मुहारबाट कान्ति हराएको छ । फोक्सो नै फुट्ला जसरी खोक्छन् पनि ।
विश्व स्वास्थ्य संगठनको गाइड लाइन अनुसार उनी यतिखेर अस्पतालको आइसोलेसनमा हुनु पथ्र्यो । ज्वरो अनियन्त्रित र सास फेर्न पनि गाह्रो भएकाले उनी अस्पतालको आइसियूमा स्वाथ्यकर्मीको निगरानीमा हुनुपथ्र्यो ।

तर, घामले तात्तिएको सडककिनारमा छन् सोमबहादुर लामा किनकि ‘उनी बेहोस भएका छैनन्’ । कोभिड नियन्त्रण र उपचारका लागि सरकारले तीन महिना अघि नै १२ अर्ब खर्च गरिसक्यो । तर, एउटा कर्मशील नागरिक देशको राजधानीकै सडकमा जीवन र मृ,त्युसँग संघर्ष गरिरहेका छन् । बारा, निजगढ नगरपालिका– ८ का लामा ६२ वर्ष पुगे । डकर्मी÷सिकर्मीको सीप भएका उनको जीवन दुःखसुख चलेकै थियो ।

साथीहरूसँग मिलेर काठमाडौंको सामाखुसीमा कोठा लिएका थिए । तर, चैतमा पहिलो लकडाउन भएपछि उनको काम खोसियो, काठमाडौंबाट हिँडेरै निजगढ पुगे । चार महिना गाउँमा खाली बस्नुपरेपछि परिवारको पेट पनि खाली हुन थाल्यो । ‘काठमाडौंका धेरै मान्छे गाउँ फर्किएका छन्, यो वेला काम पाइएला भनेर असारमा यता आएको हुँ । पैसा कमाइएला भनेर पाँच सयको ठाउँमा हजार रुपैयाँ तिरेर आएको हुँ,’ उनी सुनाउँछन् ।

काठमाडौं आइपुगेपछि उनले साँखुमा काम पाए । तर, तीन दिन मात्र काम गरेपछि साहुले नयाँ अर्डर आएको छैन, आयो भने बोलाउँला भनेर कामबाट निकाले । फेरि काम सुरु हुने आशामा उनी १७ दिन जति साँखुमै बसे । तर, साहुको फर्निचरमा काम सुरु भएन । परिवार पाल्न रोजगारीको खोजी गर्दै राजधानी आएका सोमबहादुर आफै भोकै पर्न थाले । नयाँ पत्रिका दैनिकमा खबर छ ।

त्यसैले उनी जीवन जोगाउन काठमाडौंको मुख्य सहर तर्फ आए । केही रात पशुपतिमा बिताए पछि उनी मैतिदेवी आएर रोकिए जहाँ एउटा समूहले निःशुल्क खाना वितरण गरि रहेको छ । ‘घरमा कमाउने कोही छैन,’ बोल्दा बोल्दै खोक्न थाल्छन्, अनि रोकिएर भन्छन्, ‘दुई–चार पैसा लिएर आउँछु भनेर आएको, आफ्नै बिजोग भयो ।’ थप यो लिंकमा भएको भिडीयो रिपोर्टवाट हेर्नुहोस ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्