कनिका खबर
कात्तिक ४, काठमाडौं
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका आयोजना कार्यान्वयन गर्नुपर्ने बेला भएको बताउनुभएको छ । चिनिया कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजना अन्तर्गत छनोट भएका आयोजनाहरूलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभएको हो । ‘महामहिम सि चिनफिङको भ्रमणका बेला हस्ताक्षर भएर आदान–प्रदान भएका २० वटै सहमति र सम्झौताको आर्थिक, रणनीतिक एवं कुटनीतिक महत्व छ । त्यसमध्ये पनि नेपाल र चीनलाई रेल सेवाबाट जोड्नका लागि सम्भाव्यता अध्ययन गर्न दुई देशबीच भएको समझदारी विशेष महत्वको छ ।’, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘यसबाट नेपालले लामो समयदेखि रेलसँग जोडिनका लागि देखेको सपनामात्र साकार हुने छैन ।, हाम्रो छिमेकी चीनको वैभव र उच्च आकांक्षालाई पनि एकसाथ विश्वसामु उजागर गर्नेछ ।’ कोभिड–१९ को महामारीले केही विलम्ब भएकोतर्फ चर्चा गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले दुवै देशका सरकारले सम्झौता गरेका आयोजनाहरूलाई छिटोभन्दा छिटो अघि बढाउन समर्थ हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न बीआरआईले अघि सारेका आयोजनाहरूको सफलताले विशेष महत्व राख्नेमा तिमिल्सिनाले जोड दिनुभयो ।
नेपाल भ्रमणका क्रममा गत वर्ष चिनियाँ राष्ट्रपतिसँग भएको भेटघाटको स्मरण गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच भएको ट्रान्स–हिमालय कनेक्टिभिटी सम्बन्धी सम्झौताले दुई देशका साझा सरोकारलाई सम्बोधन गर्नेमा शंका नरहेको बताउनुभयो । नेपाल विकास–निर्माणको अभियानमा हिड्न होइन, दौडिन चाहेको भन्दै अध्यक्ष तिमिल्सिनाले आर्थिक र सामाजिक रुपान्तरणमा नेपालले चीनको प्रगतिबाट सिक्न र सहकार्य गर्न चाहेको बताउनुभयो । कार्यक्रममा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनाका साथै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका नेता प्रकाश शरण महत, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि आफ्नो विचार राख्नुभएको थियो । चीनको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङ ताओ, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत कमिटीका सेक्रेटरी वु यिंगजी लगायतले बोल्नुभएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको वार्षिकोत्सवका अवसर पारेर चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरूको संयुक्त परामर्श सम्मेलन आयोजना गरेको थियो ।
मा प्रकाशित


