कनिका खबर
कार्तिक १७, रौतहट
रौतहटमा पुन कोरोना सङ्क्रमित बढन थालेका छन् । केही दिन अगाडी देखि रौतहटमा दिनानुदिन सङ्क्रमितको दरमा बृद्धि हुदै गएको हो । विजया दशमी अगावै कोरोना सङ्क्रमित शुन्य रहेको रौतहटमा केही दिन यतादेखि सङ्क्रमण दर बढ्दै जान थालेको हो । पछिल्लो एक सातामा रौतहटमा १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा १ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल गौरले जनाएको छ । रौतहटमा हाल २ हजार ६४ जना सङ्क्रमित रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कोरोनाका कारण रौतहटमा हालसम्म १४ जनाले ज्यान गुमाइ सकेका छन । बजारहरुमा बढी भिडभाड हुनु, व्यक्तिगत दुरी कायम नहुनु, सचेतना नअपनाउने बानीले गर्दा जोखिम झनै बढेको गौर अस्पतालका डा. कृष्ण साहको भनाइ रहेको छ । पछिल्लो समय, स्थानीयसँगै जिल्लाका सुरक्षा अधिकारीहरु, जनप्रतिनिधि, कार्यालयका कर्मचारीहरु संक्रमित हुने क्रम बढेको छ । कोरोना महामारी नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकपछि नयाँ रणनिति तयार गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । बजार, कार्यालय, व्यापार कोरोना महामारीमा पहिले कै अवस्थामा झैं सञ्चालनमा आएको छ तर सुरक्षाको उपाय भने अपनाएको देखिएको छैन । स्थानीयले मास्क, भौतिक दुरी तथा स्वास्थ्य सचेतनामा ध्यान दिन छोडेका छन् ।


