कनिका खबर
कार्तिक २५, काठमाडौँ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
धनगढीमा आज मंगलबार आयोजित ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका विषयक अन्तरक्रियामा उनले कोभिड–१९ महामारी र जोखिमबारे जनतालाई सचेत गराउन जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको धारणा राखे ।
जनप्रतिनिधिले कोभिड–१९ महामारी र जोखिमबारे सचेतना अभिवृद्धि गर्न नागरिकसँगको सम्बन्धलाई नजिक बनाउनुपर्ने उनले बताए । तीनवटै सरकार, राजनीतिक दल र विभिन्न सङ्घसंस्था लागेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न आवश्यक रहेको उनको भनाइ छ । कोरोनाबाट सजग हुन र स्वास्थ्य मापदण्ड अपनाउन पनि नागरिक समक्ष उनले आग्रह गरे ।


