भदौ ९, काठमाडौँ ।
आज माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित ‘नेकपा एकीकृत समाजवादी’ र महन्थ ठाकुर नेतृत्वको प्रस्तावित ‘लोकतान्त्रिक समाजवादी पार्टी’का सदस्यहरु निर्वाचन आयोगमा पुगेका छन् ।
सनाखतका लागि नयाँ पार्टीमा नरहेको बताउने नेता प्रदीप नेपाल पनि आयोग पुगेर सनाखत गरेका छन् । आयोगले सनाखतसहितका सबै काम टुंग्याएर दल दर्ता गराउने तयारी गरेको छ ।
आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिँदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरूलाई आज ११ बजेदेखि २ बजेसम्म सनाखत गर्न बोलाएको थियो ।
आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार दुवै दलकातर्फबाट दल दर्ताका लागि निवेदन दिँदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा हाजिर हुन भनेको थियो ।
नेपालको प्रस्तावित दलमा पूरानो दल एमालेबाट ५७ जना केन्द्रीय सदस्यको नाम बुझाइएको छ । त्यसमध्ये ५५ जनाले मात्रै हस्ताक्षर गरेका छन् । अध्यादेशअनुसार एमालेको केन्द्रीय कमिटीको कुल २ सय ३ संख्यामध्येको २० प्रतिशत अर्थात् ४१ जना जना सदस्य नयाँ दल खोल्न नेपाल समूहले आयोगमा पुर्याउनु पर्ने हुन्छ । नयाँ थपसहित नेपालले नेतृत्व गर्ने दलमा १ सय १५ जना केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नामको दलमा ३१ जना कार्यकारिणी सदस्यको नाम बुझाइएकोमा २९ जनाको मात्रै हस्ताक्षर छ । आयोगले निवेदनमा हस्ताक्षर गर्नेलाई मात्रै सनाखत गर्ने जनाएको छ । ठाकुर अध्यक्ष रहनेगरी सो दलमा राजेन्द्र महतो र शरतसिंह भण्डारीलाई वरिष्ठ नेताका लागि प्रस्ताव गरिएको छ ।