कालापानीबाट भारतिय सेना फिर्ता गर्नुपर्ने नेताहरुको माग – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

कालापानीबाट भारतिय सेना फिर्ता गर्नुपर्ने नेताहरुको माग

    मा प्रकाशित

कनिका खबर
असार ४, दाङ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउनुपर्ने बताएका छन् ।
आज राष्ट्रियसभाको बैठकमा नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको दफावार छलफल भाग लिँदै नेता श्रेष्ठले नेपालको भूभागमा बसेको भारतको सैनिक, प्रहरी, सुरक्षाकर्मीहरु सबै फिर्ता जानुपर्ने बताए । नेता श्रेष्ठले लिम्पियाधुरा क्षेत्रका विषयमा देखिएका समस्या समाधान गर्ने उपाय वार्ता र संवाद नै भएको भन्दै भारत वार्ताका बस्न तयार हुनुपर्ने धारणा राखे ।

सत्तारुढ दल नेकपाका प्रवक्ता समेत रहनुभएका नेता श्रेष्ठले नेपालकै राजनीतिक दलहरुलाई पनि लिम्पियाधुराको मुल मुद्दालाई ओझेलमा पार्ने गरी अन्य विषयलाई अगाडि नल्याउन आग्रह गरे ।

यस्तै  छलफलमा सहभागी हुँदै, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले अंग्रेज साम्राज्यले लुटेको नेपालको दार्जिलिङ, काँगडासम्मको भूभाग भारतले नेपाललाई फिर्ता दिनुपर्ने बताए । भारत साँच्चै असल मित्र भए अंग्रेज सम्राज्यले लुटेको नेपाली भूभाग नेपाललाई नासोका रुपमा फिर्ता गर्नुपर्ने उनको भनाई छ । नेता शर्माले तत्काल कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता लैजान भारतसँग माग गरे । स्वयम् केही भारतीय नेताहरूले समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको बताइरहेका बेला भारत सरकारले नेपालको भूमिबाट भारतीय सेना फिर्ता लैजानुपर्नेमा शर्माको जोड छ ।

संविधान संशोधन विधेयकमाथिको दफावार छलफल भाग लिँदै प्रमुख विपक्षी दल नेपाली काँग्रेस राष्ट्रिय सभाका संसदीय दलका नेता राधेश्याम अधिकारीले नेपाल–भारत सीमा विवादमा भारत आफैंले घिउ थप्ने काम गरेको बताए । खासगरी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई विवादित क्षेत्र भनेर स्वीकार गर्दै आएको भारतले नयाँ नक्सा जारी गरेर यो विषयलाई सतहमा ल्याएको उनले बताए । नेपालले पटक–पटक वार्ताको प्रस्ताव गर्दा पनि बेवास्ता गर्दै भारतले मानसरोवर जाने बाटो उद्घाटन गरेपछि बाध्य भएर नेपालले नयाँ नक्सा सार्वजनिक गर्नु परेको उनको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्