कनिका खबर
असार ८, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ मा रहेको अमरज्योती माध्यामिक विद्यालयले लकडाउनकाबिच पठनपाठन शुरु गरेको छ । सामाजिक दुरी कायम गरी स्वास्थ्य सावधानीसहित लामो समयदेखि बन्द पठपाठनलाई शुरु गरेको विद्यालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमणपछिको लकडाउनका कारण चैत ४ गतेदेखि लगातार शैक्षिक संस्थाहरू बन्द छन् । तर विद्यालयले भने विद्यार्थीहरूलाई विद्यालयमा नै उपस्थित गराएर पठनपाठन शुरु गरेको प्रधानध्यापक खगेन्द्र थापाले बताए । असार १ गतेदेखि सरकारले वैकल्पिक शिक्षाको सुरुवात गरेको भएपनि त्यसको प्रभावकारिता नभएको भन्दै विद्यार्थीहरुलाई विद्यालयमै उपस्थित गराएर स्वास्थ्य सावधानीसहित पठपाठन शुरु गरिएको उनले बताए ।
हिजो आइतबार विद्यालयमा कक्षा ७ का २० जना विद्यार्थी उपस्थित भएको भन्दै उहाँले अब कक्षा ८, ९ र १० का कक्षा पनि सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । एउटा बेन्चमा करिब २ मिटरको दुरी हुनेगरी विद्यार्थीहरूलाई बस्ने व्यवस्था गरिएको छ भने मास्क, सेनिटाइजरको समेत प्रयोगलाई अनिवार्य गरिएको छ ।