कनिका संवाददाता
असार १५, मकवानपुर
घरको भान्छामा मृत भेटिएका मकवानपुरका सुस्मिता थापाको परिवारका सदस्यले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । दुई साताको अनुसन्धानपछि मकवानपुर प्रहरीले २२ वर्षका थापाको हत्यामा सलग्न भएको आरोपमा सासू, ससुरा र दुईजना नन्दलाई सार्वजनिक गरेको छ । प्रहरीले मृतकका ५८ वर्षका ससुरा प्रकाश थापा, ५० वर्षका सासू तुलसा, नन्द २७ वर्षका दुर्गा र २३ वर्षका नन्द सीता थापालाई सार्वजजिक गरेको हो । सुस्मिताका पति अर्थात प्रकाश र तुलसाका छोरा रुपेन्द्रको २०७६ असोज २६ गते ससुरालीबाट फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको थियो । त्यससँगै थापा परिवारमा किचलो सुरु भयो । परिवारका सदस्यहरुले बुहारीमाथि उनकै कारण छोराको मृत्यु भएको आरोप लगाउँदै आएका थिए । त्यो विवादमा पैसा जोडिएको थियो । रुपेन्द्रको सवारी दुर्घटनाको मृत्यु भएका कारण क्षतिपूर्ति बापत रकम दश लाख आउने भयो । यस्तै क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाउने बिमा, बोनस र तलब गर्दा ३८ लाख २८ हजार आउने भयो । यो रकमलाई लिएर सुस्मिता र परिवारबीच विवाद भयो । सुस्मितामाथि ससुरा प्रकाशले बाथरुममा जर्बजस्ती करणी प्रयाससमेत गरेको पाइएको प्रहरीले जनाएको छ ।
यही दुई कारणले परिवारका सदस्य मिलेर सुस्मिताको हत्या भएको देखिएको मकवानपुरका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक सुशील सिंह राठोरले जानकारी दिनुभयो । प्रहरीका अनुसार घटना योजनाबद्ध देखिन्छ । हत्या अभियोगमा प्रहरी हिरासतमा रहेकालाई मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ क बमोजिम क्रुर यातना दिएर ज्यान मारेको आरोपमा जन्मकैद हुने व्यवस्था रहेको प्रहरी प्रमुख राठौरले बताउनुभयो ।