रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा छाड्ने सर्वोच्चको आदेश – Kanika Khabar
Wednesday, April 29Nepali News Portal

रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा छाड्ने सर्वोच्चको आदेश

    मा प्रकाशित

काठमाडौँ, २ जेठ ।
सर्वोच्च अदालतले राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ। मिश्र पत्नी सारिका कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै शुक्रबार न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको हो।

योसँगै मिश्र आजै रिहा हुने भएका छन्। गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलन हिंसात्मक बनेपछि मिश्रलगायत राजावादी नेताहरूविरुद्ध हत्या, आगजनी, तोडफोडसहित मुद्दामा पक्राउ परेका थिए। मिश्रमाथि राज्यविरुद्धको कसुरसमेत लगाइएको छ।

मिश्र ठीक ५० दिनमा हिरासतमुक्त भएका छन् । उनलाई गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ गरिएको थियो ।

सर्वोच्चले काठमाडौं जिल्ला अदालतको वैशाख १० गतेको आदेश उल्लेख गरेको छ।

‘वैशाख १० गते हिरासतमा राख्न अनुमति दिँदा नै उनीबाट संकलन गर्नुपर्न प्रमाणहरू संकलन भइसकेको अवस्था देखाई हाजिर जमानीमा छोड्न ध्यानाकर्षण गराइएको पाइन्छ,’ संक्षिप्त आदेशमा उल्लेख छ, ‘हालसम्मको अनुसन्धान तहकीकातको अवस्थालाई हेर्दा निज निवेदकसँग सम्बन्धित अधिकांश प्रमाण संकलन कार्य सम्पन्न भइसकेको देखिएको छ।’

आफू हाजिरी जमानीमा छुटे पनि मुद्दा अझै जारी रहेकाले धेरै खुसी नहुने मिश्रले प्रतिक्रिया दिएका छन् ।  मिश्रले आफूले राज्यले आरोप लगाएजस्तो संगठित र राज्यविरुद्धको अपराध नगरेको समेत जिकिर गरे ।

‘म राजनीतिक मान्छे हुँ, मैले राजनीतिक रूपमा राजसंस्था पुनर्स्थापनाका लागि काम गरेको हो । तर, राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मबाट भएको छैन’, सर्वोच्चको आदेशपछि  मिश्रले पत्रकारहरूसँग भने ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्