काठमाडौँ, २९ असार ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक मनाइँदै छ।
नेपाली भाषामा पहिलोपटक रामायण अनुवाद गरेर आम नेपालीलाई धर्म, संस्कृति र साहित्यमा पहुँच दिलाएका भानुभक्तको योगदान स्मरण गर्दै विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाउन लागिएको हो ।
१८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीको प्रेरणाले रामायण नेपालीमा अनुवाद गर्न उत्प्रेरित गरेको इतिहास प्रसिद्ध छ। उनका ‘रामायण’ बाहेक ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ जस्ता काव्यकृतिहरू नेपाली साहित्यका धरोहर मानिन्छन्।
आदिकवि आचार्यको निधन विस. १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।


