नयाँ पुस्ताले हामीलाई रुचाएनन् काङ्ग्रेस पुनर्गठन गरौँ : महामन्त्री थापा – Kanika Khabar
Thursday, April 16Nepali News Portal

नयाँ पुस्ताले हामीलाई रुचाएनन् काङ्ग्रेस पुनर्गठन गरौँ : महामन्त्री थापा

    मा प्रकाशित

काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपाली काङ्ग्रेसको पुनर्गठन  गर्नुपर्नेमा जोड दिएका छन् । आज शुक्रबार एक भिडियो सन्देश सार्वजनिक गर्दै महामन्त्री थापाले नयाँ पुस्ताले नरुचाएका कारण पार्टी पुनर्गठन  गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘नागरिकको विश्वास किन टुट्यो । यसको हामीले समीक्षा गर्नुपर्दछ । खासगरी नयाँ पुस्ताले हामीलाई नरुचाएको पाइयो,’ थापाले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘उनीहरु किन हामीहरुसँग छैनन् ? यसको उत्तर खोज्ने मात्रै होइन, केही काम गर्ने पनि हो, गति र मति अनुसार पार्टी चल्न सकेको छैन ।’
‘जेनजी समूहले अगाडि सारेका व्यक्तिलाई नै अन्तरिम सरकारको प्रमुख बनाउन कांग्रेस तयार छ,’ महामन्त्री थापाले भिडियोमा भनेका छन्, ‘जेनजी समूहले राखेको मागलाई सम्मान र सम्बोधन गरेर मात्रै देश अगाडि बढ्न सक्छ ।’

थापाले भदौ २३ गते भएको घटनामा पार्टीका तर्फबाट माफी माग्दै भदौ २३ र २४ गते भएका प्रत्येक घटनाको छानबिन हुनुपर्ने बताए । ‘भदौ २३ र २४ गते घटेका प्रत्येक घटनाको छानबिन हुनुपर्छ । दोषीले कानुनअनुसारको सजाय पाउनुपर्छ,’ थापाले भनेका छन् ।

अब बन्ने अन्तरिम सरकारलाई संविधानसँग जोड्न कांग्रेसले आग्रह गर्ने थापाले बताए । ‘२०७२ को संविधानसँग जोडिएन भने अहिलेको सरकारले दिने समाधान स्थायी समाधान हुन सक्दैन । बाटो सजिलो छैन । संविधानसम्मत बनाउन आवश्यक छ,’ थापाले भने ।

उनले भने, ‘तपाईँ र म सरकारमा थिएनौँ तर हाम्रो पार्टी सरकारमा थियो। हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ। कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ। भदौ २४ गते भएको क्षतिको कसैले आँकलन गर्न सक्दैनन्।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्