कविताबाट सम्झिइए जेनजी सहिद – Kanika Khabar
Saturday, May 2Nepali News Portal

कविताबाट सम्झिइए जेनजी सहिद

    मा प्रकाशित

लीलाधर वली

दाङ ६ असोज ।
‘उनीहरू त मरेर गैगए
जिम्मेवारी हामीलाई दिई गए ।’

आइतबार घोराहीमा जेनजी समूहका किशोरकिशोरीहरूको भेला भयो । भेलाको आयोजना गरेको थियो, लियो क्लब अफ घोराही अम्बिकेश्वरीले । उनीहरूले त्यहाँ आफ्ना समकालीन सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त मात्र गरेनन्, अभिशेक बोहराका माथिका दुई पङ्क्तिको भाव जस्तै सहिदले दिएको जिम्मेवारी ग्रहण गर्दै उनीहरूको सुन्दर सपना साकार पार्ने सङ्कल्प पनि गरे ।

यसैगरी सहभागी किशोरकिशोरी कविहरूले कविता वाचन गर्दै सहिदको बलिदानलाई स्मरण गर्दै सहिदको सपना पूरा गर्नका लागि जेन–जी पुस्ताका बिचमा बलियो एकता आवश्यक रहेकोमा जोड दिएका थिए । भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापनाका माध्यमबाट देश परिवर्तन गरी स्वदेशमै नयाँ पुस्तालाई बस्ने वातावरण निर्माणको आवश्यकता औल्याउँदै पनि उनीहरू अभिव्यक्त भएका थिए । ‘त्यसका लागि जेन–जी पुस्ताले अब देशलाई रचनात्मक परिवर्तनतर्फ डो¥याउनुपर्छ’, यो भावमा समेत सहभागीहरूको समान धारणा भेटिन्थ्यो ।

लियो क्लब अफ अम्बिकेश्वरी घोराहीका अध्यक्ष विराज पौडेलको अध्यक्षता तथा लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा श्रवण नेपाली, रोशन शर्मा, आशुतोष पोख्रेल, प्रतीक अधिकारी, सोम्या आचार्य, अविशेष बोहरा, टार्जन भण्डारीले सहिद र आन्दोलनलाई समर्पित कविता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले जेनजी आन्दोलनले उठाएका सामाजिक न्यायका मुद्दाहरूलाई मर्न दिन नहुने बताए । सामाजिक न्यायका मुद्दाबाट सुरु भएको आन्दोलनको मौका छोपेर केही व्यक्तिले राजनीतिक लाभ उठाउने र मुद्दाहरू अलपत्र पर्ने हुन् कि ? भन्नेमा युवाहरू सचेत हुनुपर्ने उनले बताए । ‘पत्रकारिताले पनि खबरदारी गर्छ युवाहरू पनि खबरदारी गर्दै गर्नुहोस्’, पोख्रेलले भने, ‘अब सहिदले देखाएको लक्ष्य पूरा गर्नका लागि एकजुट भएर लाग्नु पर्नेछ ।’

कार्यक्रममा इन्जिनियर अनन्तराज घिमिरेले अब देश विकासलाई प्रमुख मुद्दा बनाउनु पर्नेमा जोड दिएका थिए । अहिलेको आन्दोलनले सुशासनको पक्षमा र विकृतिकाविरुद्ध महत्वपूर्ण उपलब्धि प्राप्त गरेको भन्दै परिवर्तनलाई बचाउनका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ अम्बिकेश्वरी घोराहीका अध्यक्ष डा प्रकाश सुवेदी, पूर्व अध्यक्ष सागर बस्नेत, जेनजी प्रकाश बुढालगायतका वक्ताले जेनजीले आन्दोलनले ल्याएको जागरणलाई संस्थागत गर्दै नयाँ पुस्ताले सुशासन र परिवर्तनको नेतृत्व गर्नुपर्ने धारणा राखेका थिए । आयोजक संस्था लियो क्लब अफ घोराही अम्बिकेश्बरीकी सचिव आकाङ्क्षा पाठकले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्