दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण किशोर घिमिरेले सोमबार घोराही–४ मा घरदैलो कार्यक्रम गर्दै स्थानीयसँग प्रत्यक्ष संवाद गरेका छन्।
घरदैलोका क्रममा स्थानीय बिष्णु रोकायले चुनावअघि मात्र नेता घर–घर र गाउँमा आउने, तर जितेपछि फर्केर नआउने प्रवृत्तिप्रति गुनासो राख्दै “जितेपछि पनि गाउँमै फर्केर समस्या सुन्नुहोस्” भनी आग्रह गरे। त्यस्तै भरतराज देवकोटाले यस क्षेत्रमा सुकुम्बासी समस्या जटिल रहेको उल्लेख गर्दै लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन माग गरे। उनले न्यून वर्गका घरमा अझै विद्युत् र खानेपानी जडान हुन नसकेको भन्दै ठोस योजना ल्याउनुपर्ने बताए।
स्थानीयले घिमिरे पदमा नरहे पनि क्षेत्रका विभिन्न विकास तथा सामाजिक काममा सक्रिय रहेको स्मरण गर्दै पदमा पुगेपछि अझ प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गरेका छन्।
उम्मेदवार घिमिरेले जनताका गुनासा ध्यानपूर्वक सुन्दै भने, “म चुनाव जित्नका लागि मात्रै होइन, विश्वास जित्नका लागि आएको हुँ। जितेपछि पनि निरन्तर गाउँमै फर्केर तपाईंहरूका समस्या सुन्नेछु। सुकुम्बासी समस्या समाधान, आधारभूत सेवा विस्तार र रोजगारी सिर्जना मेरो प्राथमिकता हुनेछ।” उनले पार्टीभन्दा माथि उठेर विकास र परिणाममुखी काममार्फत भरोसा कायम गर्ने प्रतिबद्धता जनाए।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेस दाङका नेता एवं महासमिति सदस्य भुप बहादुर डांगी, क्षेत्र नम्बर–२ (क) का सभापति प्रकाश श्रेष्ठ, वडा नम्बर–४ का सभापति नारायण जिएमलगायत स्थानीय नेता तथा कार्यकर्ता सहभागी थिए।
मा प्रकाशित


