शब्दमा किरण किशोर, अनुभव, इमान र दृष्टिकोणको सङ्गम : घिमिरे – Kanika Khabar
Thursday, April 16Nepali News Portal

शब्दमा किरण किशोर, अनुभव, इमान र दृष्टिकोणको सङ्गम : घिमिरे

    मा प्रकाशित

दाङ । दाङको सामाजिक–राजनीतिक यात्रामा एउटा नाम निरन्तर सुन्न पाइन्छ—किरण किशोर घिमिरे । लोकतन्त्र, श्रमको सम्मान र जनसेवाप्रतिको अडानलाई जीवनको मूल मन्त्र बनाएका घिमिरेको राजनीतिक यात्रा २०३६ सालबाट सुरु भएको हो । पारिवारिक वातावरणमै लोकतान्त्रिक चेतनाको बीउ रोपिएको उनको जीवनले आज दाङ क्षेत्र नम्बर २ को प्रतिनिधित्व गर्ने दृढ आकाङ्क्षा बोकेको छ । दाङ क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसबाट उम्मेदवारी बनेका घिमिरेमा विकासको हुटहुटी पाइन्छ । विकासका पर्यायका रूपमा चिनिने घिमिरेमा देश र जनताका लागि केही इच्छा पनि त्यतिकै सबल भेटिन्छ । जहाँ घिमिरे त्यहाँ विकास, जहाँ समस्या त्यहाँ घिमिरे आभास दिलाउँदै आएका घिमिरे जनताका आशा र भरोसाका पात्र हुन् अनि युवाको ढुकढुकी पनि ।

पारिवारिक प्रेरणा र राजनीतिक चेतना
पिताको लोकतान्त्रिक आन्दोलन “जयतु संस्कृतम्” सँगको संलग्नता र दाजु कृष्ण किशोर घिमिरेको पञ्चायती निरङ्कुश व्यवस्थाविरुद्धको सक्रिय भूमिकाले उनलाई सानैदेखि अन्यायविरुद्ध उभिन सिकायो । यही प्रेरणाले २०३६ सालमै उनलाई राजनीतिमा सक्रिय बनायो—जहाँ विचारभन्दा पहिला इमान र सेवाको अभ्यास सुरु भयो । साढे चार दशक लामो राजनीतिक निरन्तरतालाई घिमिरेले सदनमा पु¥याउन तम्सिएका छन् । जनताका घरदैलो, खेतबारी, पानीपँधेरो र सडकमा सुन्दै आएका जन गुनासालाई सम्बोधन गर्दै आएका घिमिरे अब सदनबाट सम्बोधन गर्ने तयारीमा जुटेका छन् । यिनै मुद्दाका साथ जनताको घरदैलोमा चुनावी अभियानमा जुटेका छन् घिमिरे ।

२०४६ पछिको श्रमिक आन्दोलन : जरा तहदेखि परिवर्तन

२०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि देशमा लोकतन्त्र पुनर्स्थापना भयो, तर श्रमिक–मजदुरको जीवनमा वास्तविक परिवर्तन ल्याउने चुनौती अझै बाँकी थियो । यही चुनौतीलाई आत्मसात् गर्दै किरण किशोर घिमिरे ट्रेड युनियन आन्दोलनमा सक्रिय रूपमा होमिए । उनका लागि जनआन्दोलन केवल राजनीतिक परिवर्तन मात्र होइन, श्रमिकको अधिकार, सम्मान र सुरक्षाको आधार तयार गर्ने अवसर पनि थियो ।

घिमिरेले मजदुर–श्रमिकका हकहितका लागि जरा तहदेखि काम गर्न प्राथमिकता दिनुभयो । कारखाना, कार्यस्थल र श्रमिक बस्तीमा पुगेर उनीहरूको समस्या सुन्ने, सङ्गठित गर्ने र अधिकारबारे सचेत गराउने काममा उनी सक्रिय रहे । सङ्गठन निर्माणमार्फत श्रमिकलाई एकताबद्ध गर्दै श्रम अधिकारको संरक्षण, सुरक्षित कामको वातावरण र न्यायोचित पारिश्रमिकका विषयमा आवाज उठाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

ट्रेड युनियन आन्दोलनमार्फत घिमिरेले लोकतन्त्रको सार व्यवहारमा उतार्न प्रयासमा रहे । उनका लागि राजनीति भाषण र नारामा सीमित विषय थिएन । श्रमिकको दैनिकीमा देखिने सानो तर अर्थपूर्ण परिवर्तन नै राजनीतिक सफलताको मापदण्ड थियो । यही दृष्टिकोणका कारण उनी श्रमिक समुदायबीच विश्वासको पात्र बने ।

लोकतन्त्र पुनर्स्थापनाको प्रक्रियामा श्रमिक आन्दोलनलाई बलियो बनाउँदै घिमिरेले अधिकारसँगै कर्तव्यको सन्तुलनमा पनि जोड दिए । श्रमिक सचेतना, संवाद र सहकार्यको माध्यमबाट समस्याको समाधान खोज्ने उनको शैलीले ट्रेड युनियन आन्दोलनलाई जिम्मेवार र परिणाममुखी दिशातर्फ डोर्‍यायो ।

यस चरणको अनुभवले घिमिरेलाई जरा तहको राजनीति बुझ्ने अवसर मात्र दिएन, नेतृत्वमा संवेदनशीलता, धैर्य र व्यवहारिक निर्णय क्षमताको विकास गर्‍यो । यही आधारमा उनको पछिल्लो राजनीतिक र सार्वजनिक सेवाको यात्रा निर्माण भएको देखिन्छ—जहाँ श्रमको सम्मान र जनताको जीवनमा प्रत्यक्ष परिवर्तन केन्द्रमा छन् ।

शिक्षा, सेवा र समाजप्रतिको प्रतिबद्धता
करिब १८ वर्षको सरकारी सेवाबाट शासन, सार्वजनिक प्रशासन र नीतिनिर्माणको गहिरो अनुभव आर्जन गरेका घिमिरे सामाजिक तथा सामुदायिक विकासका अभियानमा निरन्तर संलग्न रहे । स्नातकपछिका प्रारम्भिक वर्षहरूमा गंगा माध्यमिक विद्यालय, रामपुर तथा हर्नोक स्कुल, दाङमा शिक्षकका रूपमा सेवा दिँदै शिक्षा क्षेत्रको जग मजबुत बनाउन योगदान दिए । शिक्षा र सेवाको यही सङ्गमले उनलाई व्यवहारिक र जनमुखी बनायो ।

पार्टी जिम्मेवारी र वैचारिक प्रतिबद्धता
ने्पाली काङ्ग्रेस महासमिति सदस्य घिमिरे पार्टीभित्र नीतिनिर्माण, सङ्गठन सुदृढीकरण र लोकतान्त्रिक मूल्य प्रवर्द्धनमा सक्रिय घिमिरे लोकतान्त्रिक समाजवाद, संविधान, संघीयता र समावेशीताप्रति स्पष्ट अडान राख्छन् । बिपी कोइरालाको विचारसँग वैचारिक सामिप्य राख्दै उनी व्यवहारमा उतार्न जोड दिन्छन् ।

किसानका लागि घिमिरे

घिमिरेका लागि किसान विकासको नारा मात्र होइन, राष्ट्रिय समृद्धिको आधार हुन् । दाङजस्तो कृषि–प्रधान जिल्लामा किसानको श्रम, पसिना र पीडालाई नजिकबाट बुझेका उनी कृषि क्षेत्रलाई आत्मनिर्भर र सम्मानजनक बनाउने स्पष्ट दृष्टिका साथ अघि बढ्न चाहन्छन् ।

घिमिरे किसानका मुख्य समस्या—सिँचाइको अभाव, गुणस्तरीय बीउ–मलमा सीमित पहुँच, उत्पादन लागत बढ्नु र बजारमा उचित मूल्य नपाइनुलाई संरचनागत रूपमा समाधान गर्नुपर्नेमा जोड दिन्छन् । उनको बुझाइमा अनुदानमुखी होइन, उत्पादन–बजार मूल्यलाई एकै श्रृङ्खलामा जोड्ने नीति आवश्यक छ, जसले किसानलाई स्थायी आम्दानीको आधार दिन सक्छ ।

कृषि आधुनिकीकरणका नाममा साना किसान विस्थापित हुनु हुँदैन भन्ने उनको स्पष्ट धारणा छ । त्यसैले साना र मध्यम किसानलाई केन्द्रमा राखेर सहकारी, कृषि समूह र प्रविधिमा आधारित खेती प्रणाली विकास गर्न उनले वकालत गर्दै आएका छन् । यसले उत्पादन बढाउनुका साथै लागत घटाउने र बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता निर्माण गर्ने उनको विश्वास छ ।

किसानका सन्तानलाई पनि कृषि पेसाप्रति गर्व गर्न सकिने वातावरण निर्माण गर्नुपर्नेमा घिमिरे जोड दिन्छन् । कृषि शिक्षालाई व्यवहारसँग जोड्ने, युवा किसानलाई प्रविधि र उद्यमशीलतामा आकर्षित गर्ने र कृषिलाई सम्मानजनक व्यवसायका रूपमा स्थापित गर्ने उनको दृष्टि स्पष्ट छ ।

समग्रमा, घिमिरेका लागि किसान सहानुभूतिको विषय होइनन्, नीति निर्माणका केन्द्र हुन् । श्रमिक आन्दोलन र सरकारी सेवाबाट आर्जित अनुभवको आधारमा किसानको पक्षमा व्यवहारिक, दिगो र परिणाममुखी समाधान अघि सार्न सक्ने नेता मानिन्छन्। यही कारण दाङ–२ मा किसानका लागि भरोसाको नाम बनेका छन् घिमिरे।

शैक्षिक योग्यता र अन्तर्राष्ट्रिय दृष्टि
नेदरल्यान्ड्सको  Maastricht School of Management  बाट जनरल स्ट्राटेजिक म्यानेजमेन्टमा PGd र भारतबाट अर्थशास्त्रमा स्नातकोत्तर (एमए) हासिल गर्नुभएका घिमिरे रणनीतिक नेतृत्व र आर्थिक–राजनीतिक विश्लेषणलाई स्थानीय सन्दर्भमा रूपान्तरण गर्न सक्षम छन् । यही कारण उनका योजना कागजमै सीमित नहुने विश्वास गरिन्छ ।

विचार र प्रतिबद्धता : घिमिरेका शब्दमा
राजनीतिलाई उनी पद र प्रतिष्ठाको साधन होइन, जिम्मेवारीको अभ्यासका रूपमा हेर्छन् । उनी भन्छन् –
“राजनीति मेरो लागि पद होइन, जनसेवाको निरन्तर अभ्यास हो। जनताको जीवनमा सानो भए पनि सकारात्मक परिवर्तन देखिनु नै मेरो राजनीतिक सफलता हो।”
दाङ–२ मा बढ्दो युवा पलायनलाई गम्भीर चुनौतीका रूपमा हेर्दै उनको दृष्टिकोण स्पष्ट छ—
“दाङ–२ का युवालाई परदेश होइन, आफ्नै माटोमा भविष्य देखाउन चाहन्छु । सीप, रोजगारी र उद्यमका अवसर यहीँ सिर्जना गर्न सकिन्छ भन्ने मेरो दृढ विश्वास हो।”
अनुभव र इमानदारीबारे उठ्ने प्रश्नमा उनको उत्तर पनि सिधा छ—
“अनुभवले निर्णयलाई परिपक्व बनाउँछ, र इमानले जनताको भरोसा जितिन्छ । यी दुई बिना नेतृत्व टिकाउ हुँदैन।”

दाङ–२ का मुद्दा र स्पष्ट रोडम्याप
घिमिरेका लागि दाङ–२ विकासको प्रयोगशाला हो ।
– कृषि र पशुपालन : सिँचाइ बिस्तार, बीउ–मलमा पहुँच, किसानको बजार सुनिश्चितता
– रोजगारी : युवालाई सीपमूलक तालिम, स्थानीय उद्यम र उद्योग
– शिक्षा : सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक शिक्षा
– स्वास्थ्य : ग्रामीण स्वास्थ्य चौकी सुदृढीकरण, आधारभूत सेवा
– पूर्वाधार : सडक, खानेपानी, सिँचाइ—स्थायी र दिगो संरचना

आलोचना र जवाफ : सन्तुलित दृष्टि
राजनीतिप्रति बढ्दो निराशाबारे उनी स्पष्ट छन् — अनुभव र नयाँपनको संयोजनले मात्र परिणाम दिन्छ । “किन फेरि अनुभवी नेता?” भन्ने प्रश्नमा उनको उत्तर सरल छ : अनुभवले जोखिम घटाउँछ, इमानले भरोसा बढाउँछ ।

घिमिरेको यात्रा अनुभव, इमान र दृष्टिकोणको संगम हो। लोकतन्त्रको रक्षा, श्रमको सम्मान र जनसेवाको निरन्तरतामा विश्वास राख्ने उनी दाङ क्षेत्र नम्बर २ का मतदाताका लागि भरोसाको विकल्प बनेका छन् । २०३६ सालदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय, २०४६ पछिको श्रमिक आन्दोलनबाट जरा तहको राजनीति सिकेका, करिब १८ वर्षको सरकारी सेवाबाट शासन र नीतिनिर्माणको अनुभव बटुलेका घिमिरे आज दाङ क्षेत्र नम्बर २ बाट नेपाली काङ्ग्रेसका उम्मेदवारका रूपमा जनताको विश्वास जित्ने यात्रामा छन् । पद र प्रतिष्ठाभन्दा जनसेवालाई प्राथमिकता दिने सोच, युवालाई आफ्नै माटोमा भविष्य देखाउने स्पष्ट दृष्टि र समावेशी विकासप्रतिको प्रतिबद्धतासहित उनको उम्मेदवारी दाङ–२ को राजनीतिक बहसको केन्द्रमा उभिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्