योग र ध्यान गरेर मनाइयो आरोग्य दिवस – Kanika Khabar
Wednesday, April 15Nepali News Portal

योग र ध्यान गरेर मनाइयो आरोग्य दिवस

    मा प्रकाशित

दाङ,२ बैशाख । योग र ध्यान गरेर दाङमा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङको आयोजनामा घोराहीको राप्ती हलमा बुधवार विहान योग र ध्यान गरेर दिवस मनाइएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले योग र ध्यानलाई जीवनको सही मार्ग भएको बताए । योग तथा ध्यानकै माध्यमबाट मानिस शारीरिक र मानसिक रूपमा स्वस्थ रहन सक्ने उल्लेख गर्दै नगर प्रमुख चौधरीले योग र ध्यान साधना गराउने संघ–संस्थाले स्वस्थ नागरिक र शान्त समाज बनाउन भूमिका खेलेको बताएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले विश्वका अधिकांश मानिस मानसिक रूपमा अशान्त रहेको उल्लेख गर्दै सबै संघ–संस्थाको सहकार्यबाट विश्वभर शान्ति स्थापना गर्न सकिने बताए ।

पछिल्लो समय असमानता र कलहका कारण मानव जीवन आक्रान्त बनेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले सेवाभावका साथ काम गरे देश सुखी र शान्त बन्न सक्ने धारणा राखे । शान्त समाजसँगै शारिरीक, मानसिक र भावनात्मक रुपमा स्वस्थ नागरिक निर्माणका लागि योग र ध्यानको अत्यन्त आवश्यक रहेको बताएका थिए । कार्यक्रममा पतञ्जलि योग समिति लुम्बिनी प्रदेशका प्रभारी डा. प्रेम शाहले योगी बन्न दैनिक साधना तथा सन्तुलित खानपानमा विशेष ध्यान दिनुपर्ने बताए । स्वस्थ नागरिकसँगै सामाजिक सदभावका लागि मनलाई शान्त राख्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

पतञ्जलि महिला योग समितिकी लुम्बिनी प्रदेश प्रभारी शारदा पोख्रेलले आमाप्रतिको सम्मान सधैं कायम राख्नुपर्ने बताए । उनले ‘आमाको मुख हेर्ने दिन’को सन्दर्भमा कुनै पनि आमाको आँखामा आँसु आउन नदिन सबै सचेत हुनुपर्ने बताएकी थिइन । कार्यक्रममा बयलडाँडा चौतारी क्लबका अध्यक्ष नारायणप्रसाद भुसाल, ब्रह्मकुमारी विश्व विद्यालय घोराहीका शिवलाल महतरा, स्वज्ञान शिक्षाका पदम भण्डारी, ओशोका प्रतिनिधि चक्रबहादुर घर्ती, जीवन विज्ञानका आशिष आचार्य, विपश्यना ध्यान केन्द्र, आर्ट अफ लिभिङलगायतका प्रतिनिधिले धारणा राखेका थिए ।

‘सुखी, शान्त, स्वस्थ र समृद्धिका लागि आरोग्य’ भन्ने मूल नारासहित पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग, ध्यान, प्राणायाम तथा व्यायामसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमको सहजीकरण सुबोध रेग्मीले गरेका थिए । कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेनालगायतका नागरिकको सहभागीता रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्