बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता थप मजबुतः मुख्यमन्त्री आचार्य – Kanika Khabar
Thursday, May 28Nepali News Portal

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता थप मजबुतः मुख्यमन्त्री आचार्य

    मा प्रकाशित

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

बकर ईदको अवसरमा बिहिवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले नेपाल विविध भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध मुलुक भएको उल्लेख गर्नुभएको छ । उहाँले विभिन्न समुदायले मनाउने चाडपर्वहरूले सामाजिक सद्भाव, आपसी विश्वास तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले सबै धर्म, संस्कृति र परम्परालाई समान सम्मान गर्दै मौलिक भाषा, कला तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले त्याग, बलिदान, मानव सेवा र परोपकारको सन्देश दिने बकर ईद पर्वले समाजलाई अझ सहिष्णु, सभ्य र एकताबद्ध बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । विविधताको सम्मान र सांस्कृतिक सहअस्तित्वबाट मात्रै समृद्ध समाज निर्माण सम्भव हुने धारणा उहाँले व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री आचार्यले मौलिक संस्कृति, भाषिक पहिचान र धार्मिक परम्पराको जगेर्नामार्फत समृद्ध लुम्बिनी प्रदेश निर्माणमा सबै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ । शुभकामना सन्देशमार्फत उहाँले बकर ईदको पावन अवसरले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र आपसी एकताको भावना अभिवृद्धि गरोस् भन्ने कामना गर्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्