काठमाडौँ । नेपाली कांग्रेसका ६ लाख ८७ हजार ९३१ सदस्यले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् ।
यसअघि काँग्रेसका कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये ६ लाख ८७ हजार ९३१ सदस्यले आफ्नो विवरण वडा तहबाट अद्यावधिक गरेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । जस अनुसार ५ लाख ३८ हजार ६२२ सदस्यले एनसिआइडी प्राप्त गरिसकेका छन् भने १ लाख ४९ हजार ३०९ सदस्यको फाराम वडा तहबाट अनुमोदन प्रक्रियामा रहेको छ ।
कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले वडा तहबाट अनलाइनमा प्रविष्ट भएका फाराम आगामी असार ५ गतेभित्र अनुमोदन गरिसक्न निर्देशन दिइएको छ । तोकिएको समयभित्र अनुमोदन नभएमा योग्य सदस्यहरूको विवरण केन्द्रले स्वतः अनुमोदन गर्ने व्यवस्था गरिनेछ ।
इन्टरनेट पहुँच कम भएका उच्च हिमाली तथा विकट पहाडी क्षेत्रका केही जिल्लासहित बारा र खोटाङमा भने सदस्यता अद्यावधिकको समयसीमा असार ७ गतेसम्म तोकिएको छ । त्यस्तै विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि यो समय असार १० गतेसम्म कायम गरिएको छ । त्यस्तै नयाँ क्रियाशील सदस्यता वितरण तथा फाराम संकलन कार्य असार २० गतेसम्म सञ्चालन हुने समितिले जानकारी दिएको छ । त्यस्तै, शुल्क नबुझाएका सदस्यहरूको हकमा सम्बन्धित तहका सभापतिहरूलाई यथाशीघ्र शुल्क संकलन गर्न निर्देशन दिइएको छ । शुल्क नबुझाउने सदस्यहरू १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ ।
त्यसैगरी छुट भएका सदस्यहरूले असार २० गतेभित्र आफ्नो प्रमाणसहित केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् । आवश्यक विवरण प्रमाणसहित निवेदन पेश गर्न सकिने व्यवस्था गरिएको छ । वडाबाट छुट भएका सदस्यताका लागि सम्बन्धित वडाले पनि थप समय माग गर्न सक्ने व्यवस्था गरिएको छ, जसअनुसार अधिकतम ७ दिनसम्मको अतिरिक्त समय दिन सकिने समितिले जनाएको छ ।
यस्तै, १५औँ महाधिवेशनलाई असर नपर्ने गरी सम्पूर्ण सदस्यता अद्यावधिक कार्यलाई समय मिलान गर्ने निर्णय गरिएको छ । त्यसैगरी ३५ वर्षमुनिका युवालाई लक्षित गर्दै युवा केन्द्रित अभियानमार्फत नयाँ सदस्यता वितरण गर्ने निर्णय पनि गरिएको छ । विषय विज्ञमार्फत प्रवेश पाउने तथा विभिन्न कारणले विदेशमा रहेका सदस्यहरूको विवरण अद्यावधिक गर्ने कार्य पनि असार २० गतेसम्म सञ्चालन हुने भएको छ ।
त्यस्तै पुराना सदस्यता नम्बर रहेका सदस्यहरूको हकमा उनीहरूको पुरानो सदस्यतालाई निरन्तरता दिई अद्यावधिक कायम गरिने जनाइएको छ । त्यस्तै, पहिले संकलित तर प्रणालीमा प्रविष्ट नभएका नामहरू पनि असार ७ गतेभित्र अद्यावधिक गरिसक्नुपर्ने व्यवस्था गरिएको समितिले निर्णय गरेको छ ।


