
दाङ । दाङको घोराहीस्थित मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलले क्यान्सर पीडित प्रकाश घर्ती मगरलाई ५१ हजार बढी सहयोग उपलब्ध गराएको छ । मेचीकालीको कक्षा १२ मा अध्ययनरत विद्यार्थी किरण घर्ती र हुकुम घर्तीका बुबा प्रकाश घर्ती मगरलाई ५१ हजार ३०० रुपैयाँ सहयोग उपलब्ध गराएको हो।
विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको स्वेच्छिक सहयोगबाट सङ्कलित उक्त रकम एक कार्यक्रमका बिच क्यान्सर पीडित घर्तीकी धर्मपत्नी हिमकुमारी घर्तीलाई हस्तान्तरण गरिएको छ।
विद्यार्थीहरूले खाजा खर्चबाट रु १३ हजार र शिक्षकहरूबाट रु ३८ हजार ३०० सङ्कलन गरी सहयोग हस्तान्तरण गरिएकाने प्रिन्सिपल चक्रबहादुर रावतले जानकार दिएका हुन् । शिक्षक र विद्यार्थीहरूले स्वस्फूर्त रूपमा सहयोग जुटाएको भन्दै प्रिन्सिपल रावतले यस्ता अभियानले विद्यार्थीहरूमा मानवीय भावना, सामाजिक उत्तरदायित्व तथा सहयोगको संस्कार विकास गर्ने बताए।
रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले आर्थिक सहयोगले उपचारमा केही राहत पुग्ने विश्वास व्यक्त गर्दै प्रकाश घर्ती मगरको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।
सहयोग ग्रहण गर्दै हिमकुमारी घर्तीले कठिन परिस्थितिमा विद्यालय परिवारले देखाएको आत्मीयता र सहयोगप्रति हार्दिक आभार व्यक्त गरिन्।


