काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सरकारले निजामती कर्मचारीहरू सम्बद्ध युनियन तथा संगठनका ८ भवन तथा अन्य संरचना खाली गर्न निर्देशन दिएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरेर तीन दिन भित्र भवन खाली गर्न निर्देशन दिएको हो । मन्त्रालयले साविकका युनियन, संगठन, संघहरुले सरकारी जग्गा भोगाधिकार प्राप्त गरी सो जग्गामा निर्माण गरेको भवन तथा अन्य संरचना र बहालमा दिएको भए सो समेत ३ दिन भित्रमा पूर्ण रुपमा खाली गराउन निर्देशन दिएको छ । खाली गराएर कागजात सम्पत्तिको जिम्मेवारी र भवनको तालाचाबी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउन र समयसीमा भित्र खाली नगराएमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । सरकारको स्वामित्वमा रहेको जग्गाको भोगाधिकार प्राप्त गरी भवन तथा अन्य संरचना निर्माण गरी उपयोग गर्दै आएकोमा त्यस्ता ट्रेड युनियनहरुको निजामती सेवा ऐन बमोजिमको अस्तित्व समाप्त भएमा प्राप्त जग्गाको भोगाधिकार समाप्त हुने गरी निर्णय भएको सूचनामा जनाइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका पञ्जिकाधिकारीको २०८३ वैशाख २३ गतेको निर्णय बमोजिम राष्ट्रियस्तरका निजामती कर्मचारी ट्रेड युनियनहरूको दर्ता खारेज भएकोले उक्त सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन (दर्ता नं. ५७०), नेपाल मधेशी निजामती कर्मचारी मन्च (दर्ता नं. २३१), नेपाल निजामती कर्मचारी संगठन (दर्ता नं. २१४), नेपाल निजामती कर्मचारी युनियन (दर्ता नं. २१५), नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन (दर्ता नं. २२१), एकीकृत सरकारी कर्मचारी संगठन नेपाल (दर्ता नं. ५२३), नेपाल स्वास्थ्यकर्मी संघ (दर्ता नं. २७२) र मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल (दर्ता नं. २८४) लाई भवन खाली गर्न निर्देशन दिएको छ ।
२- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटवार्तामा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ । अर्थमन्त्री डा. वाग्लेसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताएका थिए ।
३- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका २४८ जना पिडितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिव शिखर सहकारीका १११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।
४- सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने दीर्घकालीन नीति लिएको बताएका छन् । राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सुरक्षण मुद्रण केन्द्रलाई २२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। उक्त रकम राष्ट्रिय सुरक्षणसम्बन्धी दस्तावेज स्वदेशमै उत्पादन गरी विदेशमा रहेको निर्भरता घटाउने, विदेशी मुद्रा बचत गर्ने र राज्यको राजस्व बढाउने उद्देश्यका साथ विनियोजन गरिएको उनले बताए । मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षमा केन्द्रले २४ लाख स्मार्ट सवारी चालक अनुमतिपत्र र ३५ लाख हुलाक टिकट उत्पादन गरी सम्बन्धित निकायलाई उपलब्ध गराइसकेको जानकारी दिए। आगामी आर्थिक वर्षदेखि नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क टिकटलगायत थप सुरक्षण दस्तावेजको उत्पादन पनि केन्द्रबाटै गर्ने तयारी भइरहेको उनले बताए । उनका अनुसार सुरक्षण मुद्रण केन्द्रमा गरिएको लगानी उपभोग खर्च नभई दीर्घकालीन प्रतिफल दिने पुँजीगत लगानी हो। यसबाट राष्ट्रिय सुरक्षण सुदृढ हुनुका साथै स्वदेशमै सुरक्षण मुद्रणको क्षमता विस्तार, विदेशी मुद्रा बचत र सरकारी आम्दानी वृद्धि हुने विश्वास सरकारले लिएको उनले बताए ।
५- युरोपेली फुटबल महासंघ (युइएफए) ले अमेरिकाका फरवार्ड फोलारिन बालोगुनमाथिको स्वतः लागू हुने प्रतिबन्ध कार्यान्वयन नगर्ने विश्व फुटबल महासंघको निर्णयप्रति कडा आपत्ति जनाएको छ । युइएफएले उक्त निर्णयलाई ‘अभूतपूर्व, बुझ्न नसकिने र कुनै पनि हिसाबले उचित ठहरिन नसक्ने’ भन्दै आलोचना गरेको हो । अमेरिकी टोलीका प्रमुख गोलकर्ता बालोगुन बोस्निया-हर्जेगोभिनाविरुद्धको खेलमा रातो कार्ड पाएपछि विश्वकपको अन्तिम १६ अन्तर्गत बेल्जियमविरुद्धको खेलमा खेल्न नपाउने अपेक्षा गरिएको थियो । तर विश्व फुटबल महासंघ (फिफा) ले तत्काल प्रतिबन्ध लागू नगर्ने निर्णय गरेपछि २५ वर्षीय बालोगुन उक्त खेलका लागि उपलब्ध हुने भएका छन् । युइएफएले प्रतियोगिताका क्रममा यसरी स्वतः लागू हुने प्रतिबन्ध हटाउने निर्णयले फुटबलका नियम र निष्पक्षताको सीमारेखा नै पार गरेको जनाएको छ । यस विश्वकपमा हालसम्म देखाइएका १८८ रातो कार्डमध्ये केवल एक खेलाडीले मात्र प्रतिबन्धबाट छुट पाएका छन् । यसअघि सन् १९६२ को विश्वकपमा ब्राजिलका गारिन्चा प्रतिबन्धबाट जोगिएका थिए । त्यतिबेला स्वतः प्रतिबन्धको व्यवस्था थिएन र उक्त घटनामा राजनीतिक हस्तक्षेप भएको आरोपसमेत लागेको थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विश्व फुटबल महासंघका अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरी बालोगुनमाथिको प्रतिबन्धबारे छलफल गरेको दाबि गरिएको छ । त्यसपछि महासंघले प्रतिबन्ध लागू नगर्ने निर्णय गरेको बताइएको छ । राष्ट्रपति ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत विश्व फुटबल महासंघलाई ‘ठूलो अन्याय सच्याएको’ भन्दै धन्यवाद दिएका थिए । विश्व फुटबल महासंघका पूर्वअध्यक्ष सेप ब्लाटरले पनि सामाजिक सञ्जालमार्फत फुटबल राजनीतिक शक्तिको खेल मैदान बन्न नहुने टिप्पणी गरेका छन् । युरोपेली फुटबल महासंघले एक खेलको स्वतः प्रतिबन्ध कुनै वैकल्पिक व्यवस्था नभई प्रतियोगिताको नियममा स्पष्ट रूपमा उल्लेख गरिएको सिद्धान्त भएको जनाएको छ । महासंघले जारी गरेको विज्ञप्तिमा नियम कार्यान्वयन गर्ने निकायबाटै नियमको निश्चितता सुनिश्चित हुन नसके खेलको निष्पक्षता र प्रतियोगिताको विश्वसनीय तामाथि गम्भीर प्रश्न उठ्ने उल्लेख गरिएको छ । महासंघले यस्तो निर्णयले जारी विश्वकपमा यस्तै प्रकृतिका अन्य घटनामा पनि समान व्यवहारको माग उठ्ने अवस्था सिर्जना गर्ने र त्यसले प्रतियोगिताको समग्र विश्वसनीयतामा नकारात्मक असर पर्ने चेतावनी दिएको छ । विश्वकपको अन्तिम १६ अन्तर्गतको प्रतिष्पर्धामा भोली बिहान ५: ४५ बजेदेखि अमेरिका र बेल्जियम आमने सामने हुदैछन् ।
६- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजारको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार गुप्ता २०७४ असार २० गते गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि २०७९ असार २८ गतेसम्मको अवधिलाई अनुसन्धानको आधार बनाइएको थियो। सो अवधिमा उनी र उनको एकाघर परिवारको कानुनी आम्दानी तथा खर्चको विवरण विश्लेषण गर्दा आम्दानीभन्दा खर्च उल्लेख्य रूपमा बढी देखिएको आयोगको निष्कर्ष छ। अनुसन्धानबाट गुप्ता र उनको परिवारले बैंक मौज्दात, तलब–भत्ता, कम्पनीबाट भएको आम्दानी, बैंक ऋण तथा कृषि आयलगायत स्रोतबाट कुल तीन करोड ५१ लाख ५२ हजार कानुनी आम्दानी गरेको देखिएको छ। तर सोही अवधिमा बैंक मौज्दात, जग्गा खरिद, घर निर्माण, बैंक ऋणको साँवा–ब्याज भुक्तानी, अध्ययन खर्च, सवारीसाधन खरिद, शेयर तथा कम्पनीमा लगानी, बीमा शुल्कलगायत शीर्षकमा छ करोड ९७ लाख ८१ हजार खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ। यसरी कानुनी आम्दानीभन्दा तीन करोड ४५ लाख ९९ हजार बढी खर्च भएको र त्यसको वैधानिक स्रोत पुष्टि हुन नसकेको आयोगको आरोप छ। आयोगले उक्त सम्पत्ति सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरिएको दाबी गरेको छ। आयोगका अनुसार अनुसन्धानका क्रममा गुप्ताले पेस गरेको सम्पत्ति विवरण पनि वास्तविक आर्थिक अवस्था र आर्जनसँग मेल नखाने तथा अस्वाभाविक देखिएको छ। गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति एकाघर परिवारका सदस्यहरूको नाममा समेत रहेको पाइएको आयोगले जनाएको छ। यस प्रकरणमा गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तासहित उनका बुबा वंशराज गुप्ता, आमा धानमती तेली तथा श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्ताविरुद्ध समेत भ्रष्टाचारसम्बन्धी कसुरमा कानुनबमोजिम सजायको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
७- ललितपुरको महालक्ष्मी-२ इमाडोलस्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गर्ने जिल्ला बैतडी पाटन-०७ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी-२ बस्ने वर्ष ५५ को सुरेन्द्र भट्ट पक्राउ परेका छन् । पीडित महिलाले उक्त व्यक्तिको भिडियो सामाजिक संजाल मार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोवाटो, ललितपुरको टोलीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा निज भट्ट सिंहदरवारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रुपमा कार्यरत रहेको बुझिएको छ । पक्राउ परेका भट्टलाई प्रहरी वृत्तको सातदोवाटोको हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
८- नेप्से आज गिरावट आएको छ । आज सोमबार नेप्से २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा पुगेर रोकिएको छ । आज ३५६ कम्पनिका ७५ लाख ४० हजार ४१८ कित्ता शेयर ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी स्नो रिभर र सानीगाड हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने कलंगा हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी थ्री स्टार हाइड्रोको शेयर १३.७९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल इन्भेस्टमेन्ट डिभेन्चरको ५३ करोड ९४ लाख बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको कारोबार भएको छ ।
९- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधानका आधारभूत तीन कुरामा परिवर्नत गरे देश दुर्घटनामा पर्ने चेतावनी दिएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले संबिधानका तीन आधारभूत कुरा संघियता, समावेशी र धर्मनिरपेक्षतालाई तलमाथि गरेमा देश दुर्घटनामा पर्ने चेतावनी दिएका हुन् । उनले भने- ‘संविधानका संशोधन गर्नुपर्छ भन्ने कुराहरुमा कुराकानी भैरहेका छन् । संविधानका आधारभूत तीन कुरा संघियता, समावेशी र धर्मनिरपेक्षतालाई तलमाथि हुनेगरि दखलअन्दाजी गर्न खोजियो भने फेरी देशमा दुर्घटना हामीले जानेर वा नजानेर दुर्घटना निम्त्याउन पुग्नछौं ।’ साथै उनले त्यसो गरिएमा विगतमा भएका गल्ति दोहोरिने चेतावनी दिदै संबिधान संशोधनमा सजक हुन आग्रह गरेका छन् । उनले यी तीन कुरा बाहेक अन्यमा के के परिवर्तन गर्ने हो, छलफल गरेर गर्न सकिने बताए ।
१०- काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदप्रति उत्तरदायी रहन आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै आङ्देम्बेले प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको भन्दै विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने संसदीय अभ्यास रहेको भएपनि अहिलेका प्रधानमन्त्रीबाट आफुलाई त्यस्तो अपेक्षा नरहेको बताए । उनले भने- ‘लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एउटै कुरा होइन। सँगै म स्मरण गराउन चाहन्छु- प्रख्यात हुनु र लोकप्रिय हुनु पनि एउटै होइन । अझै बुझ्नेगरी भन्नु पर्दा फेमस हुँदै गर्दा लोकप्रिय भएँ भनेर भ्रमपूर्ण जिन्दगी पनि हामी कटाइरहेका हुन्छौँ । र म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु- सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ तर देशको प्रधानमन्त्रीका रुपमा गहन र गम्भीर भएर कार्य गर्न गाह्रो छ । त्यसैले प्रधानमन्त्रीज्यू, तपाईंले भाइरल हुने बाटो त्याग्नुहोस् । भूली दिनुहोस् । तपाईं देशको प्रधानमन्त्री भइसक्नुभयो । प्रधानमन्त्रीका रुपमा मुलुकलाई सही ढङ्गले ड्राइभ गर्नुहोस् । एक्सप्रेस वेमा नै ड्राइभ गर्नुहोस् तर निकै सम्हालिएर । दुर्घटनामा पर्दा तपाईं मात्रै होइन सिङ्गो देश दुर्घटनामा पर्छ ।’
११- भेनेजुएलामा गएको शक्तिशाली दोहोरो भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ३४२ पुगेको छ । भेनेजुएलाको सूचना मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घाइते हुनेको संख्या १६ हजार ४७० पुगेको छ भने घरबारविहीन हुनेको संख्या १७ हजार ३४५ पुगेको छ । यसअघि आइतबार नै भेनेजुएलाको २१५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पपछिको सरकारी कदमको बचाउ गरेकी छन् । उद्धार तथा राहत कार्य ढिलो भएको र पर्याप्त नभएको भन्दै बढ्दो असन्तुष्टिबीच उनले सरकारले तत्काल आवश्यक कदम चालेको दाबी गरिन् । राष्ट्रपति रोड्रिगेजले भूकम्पलगत्तै सुरक्षा बल परिचालन गरिएको र विपद् तथा आपत्कालीन अवस्थाको प्रभावकारी व्यवस्थापनका लागि नयाँ सैन्य इकाइ गठन गरिएको जानकारी दिइन् । उनका अनुसार उक्त इकाइले भविष्यमा यस्ता विपद्को सामना गर्न उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउनेछ । यस्तै, गैरसरकारी तर व्यापक रूपमा प्रयोग हुँदै आएको विवरणअनुसार अझै ४१ हजारभन्दा बढी मानिस बेपत्ता रहेका छन् । अमेरिकी विदेश मन्त्रालयको समन्वयमा विभिन्न सहयोगी संस्थासँग मिलेर सञ्चालन गरिएको अस्थायी अस्पतालले हालसम्म करिब ४ सय बिरामीको उपचार गरिसकेको छ । गत बुधबार ७.२ म्याग्निच्युडको भूकम्प गएको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको मुख्य भूकम्प गएको थियो । सन् १९०० यताकै सबैभन्दा शक्तिशाली मानिएको उक्त भूकम्पले राजधानी काराकास र सबैभन्दा बढी प्रभावित तटीय राज्य ला ग्वाइरामा व्यापक क्षति पुर्याएको छ । राजधानीको मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्वार सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल पनि गम्भीर रूपमा क्षतिग्रस्त भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले भौतिक पूर्वाधारमा करिब छ अर्ब ७० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति भएको अनुमान गरेको छ, जुन भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादनको करिब ६ प्रतिशत बराबर हो । जोखिम मूल्याङ्कन गर्ने संस्था भेरिस्कले भने कुल आर्थिक क्षति १० अर्ब अमेरिकी डलरभन्दा बढी हुने आकलन गरेको छ ।
१२- जारी फिफा विश्वकप फुटबलको सबैभन्दा आकर्षक व्यक्तिगत पुरस्कारमध्ये एक गोल्डेन बुट को दौड थप रोचक बनेको छ । सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने यो पुरस्कारका लागि विश्व फुटबलका शीर्ष फरवार्डहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ । यसपटकको विश्वकपमा विशेष नजर फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेमाथि छ । विश्वकपको इतिहासमा कुनै पनि खेलाडीले दुई पटक गोल्डेन बुट जित्न सकेको छैन । सन् २०२२ को विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका एम्बाप्पेले यस वर्ष पनि उपाधि जित्न सके नयाँ इतिहास रच्नेछन् । एम्बाप्पेले सेनेगलविरुद्ध दुई गोल गर्दै आफ्नो अभियान उत्कृष्ट रूपमा सुरु गरेका थिए । तर अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थान कब्जा गरेका छन् । यस्तै, इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन र नर्वेका स्ट्राइकर इर्लिङ हालान्ड पनि सर्वाधिक गोलकर्ताको प्रतिस्पर्धामा बलिया दाबेदारका रूपमा रहेका छन् । हाल मेसी, एम्बाप्पे र हालान्ड ७-७ गोल सहित शिर्ष स्थानमा छन् भने इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन ६ गोलसहित दोस्रो स्थानमा रहेका छन् । त्यस्तै इङल्याण्डका जुड बेलिङघम, उसमान डेम्बेले, र स्पेनका मिकेल ओयारजाबाल ४-४ गोलसहित तेस्रो स्थानमा रहेका छन् । त्यस्तै ब्राजिलका भिनिसियस जुनियर, मेक्सिकोका जुलियन क्यूइनोनेज र सेनेगल सारले पनि ४-४ गोल गरेका भए पनि उनीहरु विश्वकपबाट बाहिरिएकाले गोल्डेन बुटको दौडबाट पनि बाहिरिएका छन् । प्रतियोगिता अघि बढ्दै जाँदा यी स्टार खेलाडीबीचको प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ । गोल्डेन बुट विजेता निर्धारण गर्दा सर्वप्रथम गोलको संख्या हेरिन्छ । यदि दुई वा बढी खेलाडीको गोल बराबर भएमा सर्वाधिक असिस्ट गर्ने खेलाडीलाई अगाडि राखिन्छ । असिस्ट पनि बराबर भए सबैभन्दा कम समय मैदानमा खेलेको खेलाडीलाई विजेता घोषित गर्ने फिफाको नियम छ ।
१३- नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णालीमा भएको बस दुर्घटना राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाडको परिणाम भएको बताएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले कर्णाली दुर्घटनाले सिंगो कर्णाली र देशलाई रुवाएको उल्लेख गर्दै यति लामो समय बितिसक्दा समेत राज्यबाट घटनाको सम्पूर्ण विवरण र यथार्थ सार्वजनिक हुन नसक्नु अत्यन्तै दुःखद भएको बताइन् । उनले भनिन्- ‘कर्णालीको सडकमा दिनहुँजसो रगत बगिरहेको छ । ती सडक आज सडक रहेनन्, मृत्यु मार्गजस्ता देखिएका छन् । अब कहिलेसम्म कर्णालीले यस्तो नियति भोग्नुपर्ने हो? हरेकपटक यात्रा गर्दा मानिसहरूले ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने यो कस्तो व्यवस्था हो ?’ थापाले के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो ? भन्ने सरकारलाई प्रश्न गर्दै कर्णालीबासीको निधारमा अकाल मृत्यु मात्रै लेखिएको र दुर्घटनालाई राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाड भएको बताएकी थिइन् । उनले तत्काल कर्णाली राजमार्गको स्तरोन्नति, सडक सुरक्षाको सुनिश्चितता तथा यस्ता दुर्घटना रोक्न तत्काल ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
१४- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको बस दुर्घटनामा उद्धार प्रभावकारी हुन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठक आकस्मिक समयमा बोल्दै सांसद शाहीले कर्णालीमा भएको दुर्घटनाभन्दा पनि सरकारको गैरजिम्मेवारी र असफलता देखेको बताए । उनले भने- ‘मैंले आज कर्णालीमा दुर्घटना देखेको छैन, सरकारको गैरजिम्मेवारी र असफलता देखेको छु । कर्णालीमा गाडी नदीमा खस्यो, मानिसहरू नदीको बीचमा फसेर जीवन बचाइदिन गुहार मागिरहेका थिए। एकजना व्यक्ति भीरमा अड्किएर बाँच्नका लागि संघर्ष गरिरहनुभएको थियो। तर उहाँहरूको जीवन सकियो, उद्धार आएन ।’ उनले असार १८ गते कर्णाली नदीमा बस खस्दा यात्रुहरू नदीको बीचमा फसेर जीवन बचाइदिन हारगुहार गरिरहेको अवस्थामा पनि समयमै उद्धार हुन नसकेको बताउदै सभामुखले यस विषयमा सरकारलाई रुलिङ गर्न माग गरेका थिए ।
१५- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १०३ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा सुदूरपश्चिम, कर्णाली, बागमती, लुम्बिनी र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १०३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँमा २० जना घाइते भएका छन् । त्यस्तै कोशीमा २० जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ५ जना र कर्णालीमा १७ घाइते भएका छन् भने काठमाडौँ बाहेक बागमतीमा १० जना र सुदूरपश्चिममा २ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ९ सयले घटेर तोलाको २ लाख ८९ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९० हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर तोलाको ४५८५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४६०५ मा कारोबार भएको थियो ।
१७- इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा आइतबार उनका तीन छोरा मसुद, मेयसम र मुस्तफा सहभागी भएका छन् । तर उनका छोरा तथा वर्तमान सर्वोच्च नेता मुज्तबा खामेनी भने समारोहमा देखिएनन् । सञ्चारमाध्यमका अनुसार इजरायलबाट सुरक्षा जोखिम रहेकाले उनले सार्वजनिक रूपमा अन्त्येष्टिमा सहभागी नभएको बताइएको छ । इरान इन्टरनेसनलको प्रतिवेदनअनुसार अन्त्येष्टिका क्रममा सहभागीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध नाराबाजी गरेका थिए । साथै पूर्व सर्वोच्च नेताको मृत्युको प्रतिशोध लिनुपर्ने मागसमेत उठाइएको थियो । सोमबार तेहरानका मुख्य सडकहरूबाट खामेनीको भव्य अन्तिम यात्रा निकालिने तयारी गरिएको छ। यसमा लाखौँ नागरिक सहभागी हुने अपेक्षा गरिएको छ । उनको शवलाई राजधानीका प्रमुख मार्ग हुँदै अन्तिम विश्रामस्थलसम्म लगिनेछ । कार्यक्रममा धार्मिक अगुवा, सरकारी अधिकारी तथा सेनाका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहने जनाइएको छ । अन्तिम यात्रामा ठूलो भीड जुट्ने अनुमान गर्दै इरानी प्रशासनले एक सय त्रियानब्बे बसको व्यवस्था गरेको छ । ती बस तेहरानस्थित इमाम खुमैनी अन्तर्राष्ट्रिय विमानस्थलमा परिचालन गरिएको छ, ताकि स्वदेश तथा विदेशबाट आएका श्रद्धाञ्जली अर्पण गर्न आउने नागरिक र प्रतिनिधिमण्डललाई समारोहस्थलसम्म पुग्न सहज होस् । इरानका राष्ट्रपति मसुद पेजेशकियानले खामेनीको अन्तिम यात्रा केवल विदाइ नभई उनको मार्ग र विचारलाई निरन्तरता दिने सङ्कल्प भएको बताएका छन् । उनले अन्त्येष्टिमा लाखौँ मानिसको सहभागिता र उनीहरूको भावुकता कुनै आदेशबाट सम्भव नहुने उल्लेख गर्दै जनभावना कुनै पनि भाषणभन्दा बढी प्रभावशाली हुने र विश्वले त्यसलाई बुझ्ने बताएका छन् ।
१८- इङ्ग्ल्यान्डले फिफा विश्वकप फुटबलको अहिलेसम्मकै आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै सहआयोजक मेक्सिकोलाई ३-२ ले पराजित गरेको छ। रोमाञ्चक जितसँगै इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गर्दै नर्वेसँगको भेट पक्का गरेको हो । मेक्सिकोको ऐतिहासिक एस्टेका रङ्गशालामा भीषण वर्षा र आँधीका कारण खेल एक घण्टा ढिलो सुरु भएको थियो । दोस्रो हाफको सुरुआतमै जारेल क्वान्साह रातो कार्ड खाएर मैदानबाट बाहिरिए पनि १० खेलाडीमा सीमित इङ्ग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण जित निकाल्न सफल भयो । घरेलु समर्थकको ठूलो दबाबबीच खेलिएको प्रतिस्पर्धामा इङ्ग्ल्यान्डले पहिलो हाफको अन्त्यतिर खेल आफ्नो पक्षमा मोडेको थियो । जुड बेलिङ्घमले ९८ सेकेन्डको अन्तरमा दुई गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाएका थिए । मेक्सिकोका लागि जुलियन क्विनोनेसले पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा शक्तिशाली प्रहारमार्फत एक गोल फर्काउँदै खेललाई २-१ मा ल्याएका थिए। इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले राउल जिमेनेजका दुई उत्कृष्ट अवसर बचाउँदै टोलीलाई खेलमा टिकाइराखेका थिए । दोस्रो हाफमा क्वान्साहले जेसस गालार्डोमाथि खतरनाक ट्याकल गरेपछि रातो कार्ड पाए । त्यसपछि घरेलु टोलीले आक्रमण तीव्र बनाएको थियो । तर एन्थोनी गोर्डनलाई मेक्सिकाका गोलरक्षक राउल राङ्गेलले पेनाल्टी क्षेत्रमा लडाएपछि प्राप्त पेनाल्टीलाई कप्तान ह्यारी केनले गोलमा परिणत गर्दै इङ्ग्ल्यान्डलाई ३-१ को अवस्थामा पुर्याए । खेलको अन्त्यतिर भने केनकै गल्तीका कारण मेक्सिकोले अर्को पेनाल्टी पायो । ब्रायन गुटिएरेजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि प्राप्त अवसरलाई राउल जिमेनेजले सदुपयोग गर्दै अन्तर ३-२ मा झारेका थिए । बाँकी समयमा मेक्सिकोले बराबरी गोलका लागि निरन्तर दबाब बनाए पनि प्रशिक्षक थोमस टुचेलले ड्यान बर्न र जेड स्पेन्सलाई मैदानमा उतार्दै पाँच सदस्यीय रक्षापङ्क्ति बनाए । इन्जुरी समयको ११ मिनेटसम्म दबाब झेलेको इङ्ग्ल्यान्डले अन्ततः अग्रता जोगाउँदै महत्वपूर्ण जित हात पार्यो ।
१९- इर्लिङ हालान्डको दोस्रो हाफमा गरेको दुई गोलको मद्दतमा नर्वेले पाँचपटकको विश्वविजेता ब्राजिललाई २-१ गोलले स्तब्ध पार्दै पहिलोपटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ । पहिलो हाफमा ब्रुनो गुइमाराएसले पाएको पेनाल्टी अवसर खेर फाल्दा ब्राजिलले ठूलो मूल्य चुकायो । खेलभर खासै प्रभाव जमाउन नसकेका हालान्डले ७९औँ मिनेटमा एन्ड्रियास स्केल्डेरुपको क्रसलाई गाब्रियलभन्दा अघि पुगेर गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । त्यसपछि ९०औँ मिनेटमा उनले पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको उत्कृष्ट तल्लो प्रहार गोलमा परिणत हुँदा नर्वेको ऐतिहासिक जित पक्का भएको थियो । खेलको इन्जुरी समयमा ब्राजिलले दोस्रो पेनाल्टी पायो । रेफ्री इस्माइल एलफाथले लिओ ओस्टिगार्डले कासेमिरोलाई कुहिनाले हानेको ठहर गरेपछि पाएको पेनाल्टी नेयमारले गोलमा परिणत गरेका थिए । तर त्यो गोल ब्राजिलका लागि केवल सान्त्वना मात्र बन्यो। ब्राजिल सन् १९९० पछि पहिलोपटक क्वार्टरफाइनलअघि नै प्रतियोगिताबाट बाहिरिएको हो । क्वार्टरफाइनलमा नर्वेले इङ्ल्यान्ड र सहआयोजक मेक्सिकोबीच अन्तिम १६ मा हुने विजेतासँग प्रतिस्पर्धा गर्नेछ। अब इङ्ग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा नर्वेको सामना गर्नेछ ।
२०- अस्ट्रेलियाले इङ्ल्यान्डलाई सात विकेटले पराजित गर्दै महिला टी- २० विश्वकप क्रिकेटको उपाधि सातौँ पटक जितेको छ । उत्कृष्ट बलिङ प्रदर्शनपछि बेथ मुनीको अर्धशतकीय इनिङ्सको मद्दतमा अस्ट्रेलियाले सहज जित दर्ता गरेको हो । टस जितेर पहिले बलिङ रोजेको अस्ट्रेलियाले इङ्ल्यान्डलाई निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५० रनमा सीमित गरेको थियो । १५१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १७.१ ओभरमा तीन विकेट मात्र गुमाएर १५३ रन बनाउँदै उपाधि आफ्नो नाममा लेखायो । महिला टी-२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र इङ्ल्यान्डबीच भएको यो चौथो भेट थियो । यसअघिका सबै फाइनलमा जस्तै यसपटक पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई पराजित गर्दै आफ्नो वर्चस्व कायम राख्यो । यसअघि अस्ट्रेलियाले सन् २०१२, २०१४ र २०१८ को फाइनलमा पनि इङ्ल्यान्डलाई हराएर उपाधि जितेको थियो । सन् २०२६ को फाइनलमा समेत विजय हासिल गर्दै अस्ट्रेलियाले विश्वकप फाइनलमा इङ्ल्यान्डविरुद्ध आफ्नो शतप्रतिशत जितको कीर्तिमान कायम राखेको छ । योसँगै अस्ट्रेलियाले महिला टी-२० विश्वकपको इतिहासमा कीर्तिमानी सातौँ पटक उपाधि जित्दै आफ्नो प्रभुत्वलाई थप मजबुत बनाएको छ ।


