काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको संविधान संशोधन बहसपत्र तयारी कार्यदलले प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुर्याएको छ । सरकारले दोस्रो पटक थपेको म्यादभित्रै प्रतिवेदन प्रधानमन्त्रीसमक्ष बुझाउने तयारी भइरहेको कार्यदलले जनाएको छ । कार्यदलले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने क्रममा विभिन्न राजनीतिक दल, संविधानविद्, कानुनविद्, नागरिक समाज, विज्ञ तथा सरोकारवालासँग व्यापक छलफल गरी सुझाव संकलन गरेको जनाएको छ । तर प्रतिवेदन अन्तिम चरणमा पुगेका बेला विपक्षी तीन दलका प्रतिनिधि कार्यदलबाट बाहिरिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २०८३ असार २२ गते संयुक्त पत्र पठाउँदै अब कार्यदलको बैठकमा दलको तर्फबाट सहभागी हुन नसक्ने जानकारी गराएका हुन्। उनीहरूले कार्यदलले अघि बढाएको बहस प्रक्रियालाई नै पुनर्विचार गर्नुपर्ने मागसमेत गरेका छन् । कार्यदलका संयोजक असिम शाहले भने ती दलका प्रतिनिधि गठनदेखि नै नियमित रूपमा बैठकमा सहभागी हुँदै आएका र करिब ८३ दिनसम्म बहसपत्र तयार गर्ने प्रक्रियामा कुनै असहमति नजनाएको बताएका छन् । उनका अनुसार अन्तिम चरणमा आएर कार्यदल छाड्ने निर्णयले बहसपत्र तयारी प्रक्रियालाई प्रभावित पार्ने उद्देश्य देखिएको छ । शाहले देश-विदेशका विज्ञ, सरोकारवाला र नागरिकबाट प्राप्त सुझावलाई समेटेर तयार पारिएको बहसपत्रले संविधान संशोधनका विषयमा राष्ट्रिय बहसलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । विपक्षी दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्यमान्यतालाई परिवर्तन नगर्ने स्पष्ट प्रतिबद्धता सरकारले सार्वजनिक गर्नुपर्ने तथा संशोधनका विषय र त्यसका आधारसमेत स्पष्ट पारिनुपर्ने माग गरेका छन् । कार्यदलका अनुसार विपक्षी दलका प्रतिनिधि बाहिरिए पनि तोकिएको समयभित्रै बहसपत्र तयार गरी मन्त्रिपरिषद्मा पेस गरिनेछ । कार्यदलले हालसम्म संविधानविद्, कानुनविद्, राजनीतिज्ञ, विभिन्न पेसागत क्षेत्रका विज्ञ, नागरिक समाज, महिला अधिकारकर्मी, पूर्वमहान्यायाधिवक्ता, पूर्वप्रशासकलगायतसँग छलफल गरी सुझाव संकलन गरिसकेको छ । साथै अनलाइनमार्फत स्वदेश तथा विदेशमा रहेका ४४ हजार ७ सय नागरिकबाट सुझाव लिइएको र संविधानसभाका विभिन्न समितिका प्रतिवेदनसमेत अध्ययन गरिएको कार्यदलले जनाएको छ ।
२- नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानमा आठ जना सदस्य नियुक्त गरेका छन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम मंगलबार विभिन्न क्षेत्रका विज्ञ तथा प्रतिनिधित्व हुने गरी सदस्य नियुक्त गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । नियुक्त हुनेहरूमा केन्द्रीय सदस्य तथा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश पन्थ, ह्योल्मो अल्पसंख्यक समुदायसम्बन्धी विद्यावारिधि गरेका डा. प्रेमध्वज लामा, सार्वजनिक नीतिमा स्नातकोत्तर तथा नेपाली जनसम्पर्क समिति बेलायतका पूर्व संयोजक विज्ञान प्रसाईं, आदिवासी जनजाति प्रतिष्ठानका पूर्व कार्यकारी अध्यक्ष रेशम गुरुङ, कृषि अभियन्ता तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सिताराम काफ्ले, एलजिबिटिक्युआइए समुदायको प्रतिनिधित्व गर्ने अंग्रेजी साहित्यमा स्नातकोत्तर प्रतीक्षा चापागाईं, आमसञ्चार विषयमा स्नातकोत्तर मोहन गजुरेल तथा आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर अनुपा श्रेष्ठ रहेका छन् ।
३- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले आगामी आर्थिक वर्षमा प्रसारण लाइन विस्तार, विद्युत् वितरण प्रणाली सुधार, सिँचाइ पूर्वाधार विकास तथा ऊर्जा व्यापारलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिएका छन् । मंगलबार राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले पछिल्लो समय विभिन्न क्षेत्रमा देखिएको विद्युत् आपूर्ति समस्याप्रति सरकार गम्भीर रहेको र तत्काल, मध्यकालीन तथा दीर्घकालीन योजनाअनुसार समाधानका काम अघि बढाइएको बताएका छन् । उनका अनुसार नागरिकका गुनासा तत्काल सम्बोधन गर्न मन्त्रालयको ११५१ र नेपाल विद्युत् प्राधिकरणको ११५० हटलाइन चौबीसै घण्टा सञ्चालनमा छन्। पछिल्ला तीन महिनामा प्राप्त करिब १८ हजार ३ सय गुनासामध्ये अधिकांशको सम्बोधन गरिएको उनले जानकारी दिएका छन् । मन्त्री श्रेष्ठले हाल देशको विद्युत् उत्पादन आन्तरिक मागभन्दा बढी भए पनि पुराना प्रसारण तथा वितरण संरचना, तीव्र रूपमा बढ्दो विद्युत् माग र प्रतिकूल मौसमका कारण केही क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको बताएका छन् । उनले आगामी आर्थिक वर्षभित्र १३२ केभीका ९ वटा, २२० केभीका २ वटा तथा नेपाल–भारत अन्तरदेशीय एउटा गरी कुल १२ वटा प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिएका छन्। आन्तरिक तथा अन्तरदेशीय प्रसारण तथा वितरण प्रणालीको विस्तार र स्तरोन्नतिका लागि ४६ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको पनि उनले बताएका छन् । सिँचाइ क्षेत्रतर्फ नयाँ आयोजना सुरु गर्नुभन्दा निर्माणाधीन तथा राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने नीति लिइएको उनले स्पष्ट पारेका छन्। आगामी आर्थिक वर्षमा थप १५ हजार ७ सय ७६ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरी कुल सिञ्चित क्षेत्रको अनुपात ६४ प्रतिशत पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिएका छन्। बबई, भेरी–बबई र सुनकोशी–मरिन डाइभर्सनलगायत ठूला आयोजनाका लागि पर्याप्त बजेट र कार्ययोजना तयार गरिएको उल्लेख गर्दै उनले तराई–मधेशमा भूमिगत जल सिँचाइ, गहिरो नलकूप, लिफ्ट सिँचाइ, साना जलाशय निर्माण तथा नदी नियन्त्रण कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको बताएका छन् । ऊर्जा उत्पादनतर्फ आगामी आर्थिक वर्षभित्र देशको कुल जडित विद्युत् क्षमता ५ हजार ५ सय ३५ मेगावाट पुग्ने लक्ष्य रहेको मन्त्री श्रेष्ठले बताएका छन्। हाल राष्ट्रिय विद्युत् पहुँच ९७.६ प्रतिशत पुगेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको अन्त्यसम्म यसलाई ९८.१ प्रतिशत पुर्याइने उनले जानकारी दिएका छन्। बाँकी क्षेत्रमा लघु जलविद्युत्, सौर्य, वायु तथा अन्य नवीकरणीय ऊर्जामार्फत सेवा विस्तार गरिने उनको भनाइ छ। मन्त्री श्रेष्ठले अब विद्युत् उत्पादनसँगै आन्तरिक खपत बढाउने र ऊर्जा व्यापार विस्तार गर्ने समय आएको बताउँदै सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३ कार्यान्वयनमा ल्याएको बताएका छन्। रणनीतिअनुसार वर्षायाममा बचत हुने विद्युत् अन्तरदेशीय प्रसारण लाइनमार्फत क्षेत्रीय बजारमा निर्यात गरिने उनले स्पष्ट पारेका छन्।
४-नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको समष्टिगत आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै देशको बाह्य क्षेत्र इतिहासकै सबैभन्दा मजबुत अवस्थामा पुगेको जनाएको छ । बाह्य क्षेत्र बलियो भइरहँदा आन्तरिक उत्पादन, सरकारी पूँजीगत खर्च र बैंकहरूको कर्जा प्रवाहमा भने अझै पनि गम्भीर सुस्ती देखिएको छ । विश्वव्यापी भू-राजनीतिक तनाव, आन्तरिक आन्दोलन र इन्धनको मूल्यमा भएको उतारचढावका बीच नेपाली अर्थतन्त्रले मिश्रित प्रदर्शन गरेको राष्ट्र बैंकको ताजा तथ्याङ्कले देखाएको छ । खाडी मुलुकहरूमा बढेको भू-राजनीतिक तनावका बाबजुद नेपाली श्रमिकहरूले पठाउने रेमिट्यान्स प्रवाहमा ऐतिहासिक उछाल आएको छ । समीक्षा अवधिमा रेमिट्यान्स ४१.२ प्रतिशतले बढेर १९१६.९ अर्ब पुगेको छ । डिजिटल भुक्तानी र औपचारिक माध्यमको प्रयोग बढ्नु यसको मुख्य कारण मानिएको छ । रेमिट्यान्सको यही बाढीका कारण नेपालको कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा २४.१९ अर्ब अर्थात् नेपाली रुपैयाँमा ३७०४.५ अर्ब पुगेको छ । यो सञ्चितिले इतिहासकै उच्च १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ। यस्तै देशको शोधनान्तर स्थिति ८६३.६ अर्ब र चालु खाता ७२९.३ अर्ब रुपैयाँको ठूलो बचतमा रहेको छ । बाह्य क्षेत्र बलियो देखिए पनि वास्तविक आर्थिक वृद्धिदर भने सरकारको लक्ष्यभन्दा कम अर्थात् ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । वास्तविक वृद्धिदर सम्भावित वृद्धिदर भन्दा कम रहेकाले अर्थतन्त्रमा नकारात्मक उत्पादन अन्तर कायमै देखिएको छ । यस वर्ष बेमौसमी वर्षा र खडेरीका कारण कृषिको वृद्धिदर १.५८ प्रतिशतमा खुम्चिएको छ भने कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान १२.६ प्रतिशतमा झरेको छ । अर्कोतिर, जलविद्युत उत्पादनमा झन्डै २० प्रतिशतको विस्तार भएसँगै उद्योग क्षेत्रको वृद्धिदर ५.६७ प्रतिशत पुगेको छ । थोक तथा खुद्रा व्यापार र वित्तीय क्षेत्रको सुधारका कारण सेवा क्षेत्र ४.२१ प्रतिशतले विस्तार भएको छ, जसको जीडीपीमा ६२.५८ प्रतिशतको मुख्य योगदान छ । बैंकिङ प्रणालीमा हाल ११ खर्ब रुपैयाँ बराबरको अत्यधिक लगानीयोग्य रकम थुप्रिए पनि बजारमा कर्जाको माग बढ्न सकेको छैन । वाणिज्य बैंकहरूको औसत कर्जाको ब्याजदर घटेर ६.७३ प्रतिशत र औसत आधार दर ४.९७ प्रतिशत कायम भई ऐतिहासिक रूपमा सस्तो हुँदा पनि कर्जा विस्तार हुन सकेको छैन । बैंकहरूको निष्कृय कर्जा अनुपात बढेर ५.६ प्रतिशत पुग्नु, ऋण असुलीमा समस्या आउनु र घरजग्गा बजारमा मन्दी देखिनुले बैंकहरू नयाँ ऋण दिन हच्किएका हुन् । यसैबीच, डिजिटल बैंकिङको बढ्दो प्रयोग र सञ्चालन खर्च घटाउने राष्ट्र बैंकको नीतिका कारण चालू वर्षमा मात्रै बैंक तथा वित्तीय संस्थाहरूका १६० वटा भौतिक शाखाहरू घटेका छन् । पछिल्ला महिनाहरूमा उपभोक्ता मुद्रास्फीति अर्थात् महँगी फेरि उकालो लाग्न थालेको छ । अघिल्लो वर्षको नोभेम्बरमा इतिहासकै न्यून १.१ प्रतिशतमा झरेको मुद्रास्फीति अहिले ५.०४ प्रतिशत पुगेको छ । पश्चिम एसियाको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै नेपालमा इन्धनको भाउ र यातायात खर्च बढ्नु यसको मुख्य कारण राष्ट्र बैंकले उल्लेख गरेको छ । खाद्य समूहतर्फ फलफूल र घिउ तथा तेलको मूल्यमा तीव्र वृद्धि भएको रिपोर्टमा उल्लेख छ । सरकारी वित्तको पाटो यो वर्ष पनि निराशाजनक देखिएको छ । आर्थिक वर्षको ११ महिना बितिसक्दा पनि विकास निर्माणका लागि छुट्याइएको पूँजीगत खर्च जम्मा ३२.५३ प्रतिशत मात्र हुन सकेको छ, जुन अघिल्लो वर्षको तुलनामा पनि ७.५ प्रतिशतले कम हो । अर्कोतर्फ, आन्तरिक ऋणको सावाँ-ब्याज भुक्तानीमा भने ३०५.७ अर्ब रुपैयाँ खर्च भएको छ । नेपालको कुल सार्वजनिक ऋण हाल कुल गार्हस्थ्य उत्पादनको ४४.९ प्रतिशत पुगेको छ । नयाँ सरकारले आगामी आर्थिक वर्षका लागि २१२४.३ अर्बको महत्त्वाकाङ्क्षी बजेट ल्याउँदै ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । कर कटौती र व्यक्तिगत आयकरको सीमा १० लाख पुर्याइएकाले बजारमा माग बढ्ने अपेक्षा छ । राष्ट्र बैंकले आगामी वर्षको औसत मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गर्दै आन्तरिक बजारको सुस्ती चिर्न आगामी वर्ष पनि सतर्कतापूर्वक लचिलो मौद्रिक नीति अवलम्बन गरेको स्पष्ट पारेको छ । यद्यपि, बजेटको कमजोर कार्यान्वयन शैली र कृषि क्षेत्रमा मौसमको अनिश्चितता अर्थतन्त्रका लागि मुख्य जोखिमका रूपमा रहने प्रतिवेदनमा उल्लेख छ ।
५- राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार बहुमतले पारित भएको हो । राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो । यसअघि प्रतिनिधिसभा बैठकबाट असार ४ गते विनियोजन विधेयक पारित भएको थियो । यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको छ । अर्थमन्त्री डा. वाग्लेले गत जेठ १५ गते २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका थिए । बजेटमा चालुतर्फ १२ खर्ब ७० अर्ब र पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहेको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ । त्यस्तै राजस्व १४ खर्ब ५ अर्बको रहने र अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहेको बजेटमा उल्लेख छ, जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब रहेको छ ।
६- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन सिरियाको राजधानी दमास्कस भ्रमणमा रहेका बेला दुईवटा विस्फोट भएका छन् । सञ्चारमाध्यमका अनुसार म्याक्रोन बसेको फोर सिजन्स होटलबाट करिब १२५ मिटर पर दुईवटा विस्फोट भएका हुन् । सिरियाली सञ्चारमाध्यमका अनुसार घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये चार जना प्रहरी पनि रहेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यमा घटनास्थलबाट धुवाँ र आगोको मुस्लो उठिरहेको देखिएको छ । विस्फोटपछि सुरक्षा निकायले घटनास्थल वरपरको क्षेत्र घेराबन्दी गरी सडकहरू बन्द गरेका छन् । फ्रान्सेली राष्ट्रपति कार्यालयले भने राष्ट्रपति म्याक्रोन पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ । घटनापछि म्याक्रोनले सामाजिक सञ्जालमार्फत सिरियाली नागरिकले स्वतन्त्र, सुरक्षित, एकताबद्ध र सबै समुदायलाई समेट्ने राष्ट्रको चाहना राखेको उल्लेख गर्दै आफ्नो भ्रमण निर्धारित कार्यक्रमअनुसार जारी रहने बताएका छन् । बशर अल असद सत्ताच्युत भएपछि सिरियाको भ्रमण गर्ने म्याक्रोन पहिलो प्रमुख युरोपेली नेता हुन् । उनी सोमबार दमास्कस पुगेका थिए । सिरियाका विदेशमन्त्री असद अल शैबानीले विमानस्थलमा उनको स्वागत गरेका थिए । भ्रमणका क्रममा म्याक्रोनले राष्ट्रपति अहमद अल शरासँग भेटवार्ता गरेका छन् । दुवै नेताले ऐतिहासिक उमय्यद मस्जिदको पनि भ्रमण गरेका छन् । म्याक्रोनको भ्रमणमा सिरियाको पुनर्निर्माण, वैदेशिक लगानी, सुरक्षा सहकार्य, आतंकवादविरुद्धको अभियान तथा पूर्वाधार, वित्त र ऊर्जा क्षेत्रको सहकार्य प्रमुख एजेन्डाका रूपमा रहेका छन् । यी विषयमा दुई देशबीच विभिन्न सम्झौताबारे पनि छलफल भइरहेको जनाइएको छ । यसअघि जुलाई ३ पनि दमास्कसस्थित प्यालेस अफ जस्टिस नजिकै रहेको उटा क्याफेमा बम विस्फोट भएको थियो । उक्त घटनामा पाँच जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।
७- नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्बजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीति सार्बजनिक गरेका हुन् । मौद्रिक नीतिमा विश्व भूराजनीतिमा देखिएको तनावका कारण उत्पन्न आपूर्तिजन्य अवरोधले विश्वको आर्थिक वृद्धि र मुद्रास्फीतिमा चाप पर्न थालेको उल्लेख गर्दै यससँगै केही केन्द्रीय बैंकहरुले ब्याजदर बढाएर कसिलो मौद्रिक अडान लिएका छन् भने अधिकांशले नीतिगत अडान तटस्थ राखेको उल्लेख छ । साथै आर्थिक वर्ष २०८३/८४ मा नेपाल सरकारले ७.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको उल्लेख गर्दै मौद्रिक नीतिमा विगतका प्रवृत्ति हेर्दा यथास्थितिमा आर्थिक वृद्धिको लक्ष्य उच्च देखिएतापनि नेपाल सरकारले शुरु गरेका आर्थिक सुधारका कार्यक्रमहरुको प्रभाव स्वरुप नीजि क्षेत्रमा लगानीको वातावरण सुधार सरकारको पूँजिगत खर्च गर्ने क्षमता अभिवृद्धि र वाह्य आर्थिक अवस्था अनुकूल भएमा अनुमान गरिएको आर्थिक वृद्धिदर हासिल हुन सक्ने उल्लेख छ । यो मौद्रिक नीति आक्रामक विस्तारकारी पनि होइन, अत्यधिक कसिलो पनि होइन । राष्ट्र बैंकले मूल्य स्थिरता कायम राख्दै आर्थिक गतिविधि बढाउने सन्तुलित रणनीति अपनाएको देखिन्छ । ब्याजदर यथावत् राखेर बजारमा स्थिरताको सन्देश दिइएको छ भने निजी क्षेत्रको लगानी, बैंकिङ सुधार, डिजिटल वित्तीय सेवा र ऋण व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । आर्थिक वृद्धि प्रवर्द्धन, मूल्यवृद्धि नियन्त्रण, बैंकिङ प्रणाली सुदृढीकरण र निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने सन्तुलित मौद्रिक नीति आएको विश्लेषण गरिएको छ ।
८- रौतहटको गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाषकुमार ठाकुरसहित तीन जना तथा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालिविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अनुसन्धानअनुसार आर्थिक वर्ष २०७६/७७ का लागि लक्ष्मीपुर–धर्मपुरघाट क्षेत्रको बालुवा, गिट्टी र ग्राभेल उत्खनन, सङ्कलन, बिक्री तथा निकासीको ठेक्का एक करोड पाँच लाख रुपैयाँमा भाग्यमणी कन्स्ट्रक्सन कम्पनीलाई स्वीकृत गरिएको थियो। तर कम्पनीले सम्झौताअनुसार पूरा रकम नबुझाई धरौटी मिलानसहित ४० लाख ५० हजार रुपैयाँ मात्र दाखिला गरेको थियो । बाँकी ६४ लाख ५० हजार रुपैयाँ दाखिला हुन बाँकी रहेकै अवस्थामा सम्पूर्ण रकम बुझाएको देखाउँदै कबोल रकमको १० प्रतिशत छुटसमेत दिई गलत टिप्पणी र प्रतिवेदनका आधारमा ठेक्का स्वीकृत गरी सम्झौता गरिएको अख्तियारको आरोप छ । यस्तै, मूल्य अभिवृद्धि करबापत तिर्नुपर्ने १३ लाख ६५ हजार रुपैयाँसमेत दाखिला नगरेको देखिएको छ। यसबीच ठेकेदारले २२ हजार ४३५ घनमिटर नदीजन्य पदार्थ उत्खनन तथा निकासी गरी एक करोड १० लाख ९१ हजार ३०३ रुपैयाँ १२ पैसा बराबरको लाभ लिएको अनुसन्धानबाट खुलेको छ । अख्तियारका अनुसार प्रचलित कानुन, ठेक्का सूचना र सम्झौताका सर्तविपरीत ठेकेदार कम्पनीलाई गैरकानुनी लाभ पुर्याउने तथा नेपाल सरकार र गढीमाई नगरपालिकालाई ७८ लाख १५ हजार रुपैयाँ बराबरको राजस्व नोक्सानी पुर्याउने कार्य भएको पुष्टि भएपछि संलग्न प्रतिवादीविरुद्ध आज विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो। संलग्न प्रतिवादीहरुमा गढीमाई नगरपालिका, रौतहटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, गढीमाई नगरपालिका, रौतहटका तत्कालीन लेखा प्रमुख कामेश्वर सहनी, भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रा.लि., तथा उक्त कम्पनीका मुख्य भई काम गर्ने राधेश्याम साह रहेका छन् ।
९- नेप्से आज वृद्धि भएको छ । आज मंगलबार नेप्से २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा पुगेर रोकिएको छ । आज ३५२ कम्पनिका ९५ लाख १९ हजार ४५२ कित्ता शेयर ४ अर्ब ४० करोड ७ लाख ५२ हजार ५४२ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी कलंगा हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने आरबिबि फोकस ४० को शेयर १३.८५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयर १३.७८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी केबीएल डिभेन्चरको २० करोड ७५ लाख बराबरको कारोबार भएको छ भने कृषि विकास बैंक डिभेन्चरको १७ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।
१०- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार, कृषि उत्पादन, कृषि सेवा र बजारीकरणलाई एकीकृत योजनामार्फत अघि बढाउन छलफल गरेका छन् । मंगलबार ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीबीच भएको भेटवार्तामा सिँचाइ र कृषि क्षेत्रलाई समन्वयात्मक ढंगले अघि बढाउने विषयमा छलफल भएको हो । भेटका क्रममा मन्त्री श्रेष्ठले सरकारले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तारका लागि ठूलो लगानी गरिरहेको उल्लेख गर्दै त्यसपछि आवश्यक पर्ने उन्नत बीउ, मल, आधुनिक प्रविधि, प्राविधिक सेवा र कृषि उपजको प्रभावकारी बजारीकरण सुनिश्चित भएमा मात्र लगानीको पूर्ण प्रतिफल प्राप्त हुने बताए । उनले सिँचाइ र कृषि कार्यक्रमलाई मन्त्रालयगत सीमाभन्दा माथि उठाएर एकीकृत योजनाका रूपमा कार्यान्वयन गर्न प्रस्ताव गरे । कृषि मन्त्री चौधरीले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी दिनमा नीति निर्माण, कार्यक्रम छनोटदेखि कार्यान्वयन तहसम्म दुवै मन्त्रालयबीचको समन्वयलाई थप सुदृढ बनाइने बताइन् । यसअघि मन्त्री श्रेष्ठले पश्चिम नेपालका प्रमुख सिँचाइ आयोजनाको स्थलगत अनुगमन गरेका थिए । उनले रानी–जमरा–कुलरिया, सिक्टा, बबई तथा राजापुर सिँचाइ प्रणालीको निरीक्षण गर्दै किसान, आयोजना प्रमुख र प्राविधिकहरूसँग आयोजना प्रगति, सञ्चालनका चुनौती तथा किसानका आवश्यकताबारे छलफल गरेका थिए । निर्माणाधीन बबई सिँचाइ आयोजनाले बर्दियाका छ स्थानीय तहका करिब ३६ हजार हेक्टर कृषि जमिनमा वर्षभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ। त्यसैगरी कैलालीको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाबाट करिब ३७ हजार ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार हुने अपेक्षा गरिएको छ। बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यसहित काम गरिरहेको छ। यी आयोजनाको करिब आधा निर्माण सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ। मूल नहर, शाखा तथा उपशाखा नहर, तटबन्ध, जलाशय र लिफ्ट सिँचाइ प्रणाली विस्तारसँगै किसानले क्रमशः प्रत्यक्ष लाभ लिन थालेका छन्। मन्त्रालयका अनुसार यी आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि पश्चिम नेपालको कृषि उत्पादन र उत्पादकत्वमा उल्लेखनीय वृद्धि हुने, खाद्य सुरक्षा सुदृढ हुने, किसानको आयआर्जन बढ्ने तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। मन्त्रालयले सिँचाइ आयोजना केवल पूर्वाधार निर्माणमा सीमित नभई कृषि आधुनिकीकरण, व्यावसायिक खेती विस्तार र ग्रामीण समृद्धिको आधारका रूपमा विकास भइरहेको जनाएको छ।
११- प्रधानमन्त्री बालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन् । नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भएको यस शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आधा घण्टा चलेको यस शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरेका छन् । जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ। भेटका क्रममा अध्यक्ष कान्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताएका छन् । उनले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैं साथ रहने प्रतिबद्धता दोहोर्याएका छन् । नेपालको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको उनको भनाइ छ ।
१२- चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले डा खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । नवनियुक्त उपाध्यक्ष खत्रीलाई मंगलबार मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरेका छन् । यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि आयोगको उपाध्यक्ष पद खाली भएको थियो ।
१३- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै मुलुकमा मुद्रास्फीति नियन्त्रणमा रहेको, विदेशी मुद्रा सञ्चिति बलियो बनेको र बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहे पनि निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसकेको जनाएको छ । समीक्षाअनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित रहेको छ भने वैशाखसम्म वार्षिक बिन्दुगत मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले मुद्रास्फीतिलाई ५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिएको थियो । विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा बढेर वैशाखसम्म १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ । बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेकाले ब्याजदर लगातार घट्दो क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक समीक्षा अनुसार विस्तृत मुद्रा आपूर्ति १५.२ प्रतिशतले बढेको भए पनि निजी क्षेत्रतर्फको कर्जा प्रवाह भने ६.५ प्रतिशतमा सीमित रहेको छ । कमजोर आन्तरिक माग, निजी क्षेत्रको लगानीमा सुस्तता तथा निष्क्रिय कर्जा बढ्दै जाँदा कर्जा विस्तार अपेक्षाअनुसार हुन नसकेको राष्ट्र बैंकको निष्कर्ष छ । राष्ट्र बैंकले विश्वव्यापी भूराजनीतिक तनाव, पेट्रोलियम आपूर्तिमा देखिएको अवरोध, ढिलो मनसुन, अत्यधिक वर्षा, कृषि उत्पादनमा आएको कमी, सार्वजनिक तथा निजी निर्माण कार्यको सुस्तता र घरजग्गा कारोबारमा आएको मन्दीले अर्थतन्त्रमा दबाब सिर्जना गरेको जनाएको छ । समीक्षामा मौद्रिक नीतिअन्तर्गत गरिएका विभिन्न व्यवस्थालाई पनि समेटिएको छ । पहिलो घर निर्माण वा खरिदका लागि आवास कर्जाको सीमा २ करोडबाट ३ करोड पुर्याइएको छ । डिजिटल माध्यमबाट प्रवाह हुने कर्जाको सीमा १० लाखसम्म विस्तार गरिएको छ भने व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट १ करोड बनाइएको छ । त्यस्तै सेयर धितो कर्जाको एकल ग्राहक सीमा १५ करोडबाट २५ करोड पुर्याइएको छ । कृषि, लघु, घरेलु, साना तथा मझौला व्यवसायमा कर्जा प्रवाह सहज बनाउन विभिन्न व्यवस्था गरिएको छ। १० लाख रुपैयाँसम्मको कृषि तथा साना व्यवसाय कर्जाको धितो मूल्याङ्कन बैंकका कर्मचारीबाटै गर्न सकिने, कृषि उत्पादनको चक्रअनुसार किस्ता भुक्तानी तालिका मिलाउन सकिने तथा डिजिटल कर्जा प्रवाहलाई थप सहज बनाइएको राष्ट्र बैंकले जनाएको छ । यसैगरी बैंकिङ प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउन प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंकको पहिचानसम्बन्धी रूपरेखा लागू गरिएको, विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापनसम्बन्धी नियमावली संशोधन गरिएको, सम्पत्ति गुणस्तर मूल्याङ्कन सम्पन्न गरिएको तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा समेत प्रगति भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार मौद्रिक नीतिले मूल्य स्थायित्व कायम राख्दै आर्थिक गतिविधि विस्तार, लगानी प्रवर्द्धन, वित्तीय स्थायित्व सुदृढीकरण तथा निजी क्षेत्रको मनोबल बढाउने उद्देश्य राखे पनि अर्थतन्त्रमा विद्यमान सुस्तताका कारण कर्जा विस्तार र लगानीमा अपेक्षित सुधार हुन सकेको छैन ।
१४- संयुक्त अरब इमिरेट्स (युएई) सरकारले १११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार युएईले ईद अल-अधाको अवसरमा कारागारमा रहेका १११ नेपालीलाई आममाफी दिएको हो । मन्त्रालयले यो निर्णयलाई नेपाल र युएईबीचको घनिष्ठ मित्रता तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको थप सुदृढ उदाहरणका रूपमा लिएको जनाएको छ । मन्त्रालयका अनुसार अबुधाबीस्थित नेपाली दूतावासले मन्त्रालयको निर्देशनअनुसार गरेको अनुरोधका आधारमा युएई सरकारले उक्त आममाफीको निर्णय गरेको हो । आममाफी पाएका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा युएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्किने मन्त्रालयले जनाएको छ ।
१५- नेपाल सरकार र एसियाली विकास बैंकबीच दुई वटा विकास आयोजनाका लागि कुल १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो । नेपालको तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा एसियाली विकास बैंकका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुवाले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि ११ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ। उक्त रकम स्थानीय तहमा खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी एकीकृत पूर्वाधार निर्माणमा खर्च गरिने जनाइएको छ। त्यसैगरी दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा ढुवानी प्रणाली सुधार कार्यक्रम-उपकार्यक्रम २ अन्तर्गत ५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ । यो रकम भन्सार कार्यप्रक्रिया तथा ढुवानी सेवाको आधुनिकीकरणका लागि गरिएको सुधारबापत बजेट सहयोगका रूपमा परिचालन गरिनेछ । सम्झौता कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले नेपालको विकास यात्रामा एसियाली विकास बैंकले पुर्याएको सहयोगको उच्च मूल्यांकन गर्दै आगामी दिनमा दुवै पक्षबीचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे । एसियाली विकास बैंकका अध्यक्ष कान्डाले नेपालसँग रहेको करिब छ दशक लामो सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउँदै अघि बढाउने प्रतिबद्धता जनाए । उनले नेपालले सामना गरिरहेका आन्तरिक तथा बाह्य चुनौती समाधानमा बैंक निरन्तर सहयोगी रहने र नेपालको विकास प्राथमिकतासँग बैंकका प्राथमिकताहरू मेल खाने बताए । सम्झौता कार्यक्रममा नेपाल सरकार तथा एसियाली विकास बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ८८ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८९ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर तोलाको ४५५५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४५८५ मा कारोबार भएको थियो ।
१७- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु भएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै जयवीरलाई सात दिनभित्र विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । विभाग जारी गरेको सार्बजनिक सूचनामा भनिएको छ- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरबाट प्रसाद सिंह देउवाको नाति, शेरबहादुर देउवाको छोरा, डडेलधुरा जिल्ला, साविक असिग्राम गा.वि.स. वडा नं. ५ वतन भई काठमाडौं जिल्ला, बूढानीलकण्ठ नगरपालिका वडा नं. २ बस्ने वर्ष अ. ३१, ना.प्र.नं. १०६०/८५८६० (काठमाडौँ) को जयविर सिंह देउवाका नाममा जारी भएको हाजिर हुन आउने बारेको सूचना । (प्रकाशित मिति: २०८३/३/२३), सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका सिलसिलामा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकाले बाटोको म्याद बाहेक यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र ललितपुर, पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको बी ब्लकमा रहेको विभागको कार्यालयमा हाजिर हुन आउनुहुन सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम यो सूचना प्रकाशन गरिएको छ । म्यादभित्र हाजिर हुन नआएमा प्रचलित कानून बमोजिम हुनेछ ।
१८- फोलारिन बालोगुन पुनः टोलीमा फर्किए पनि अमेरिका फिफा विश्वकप फुटबलबाट बाहिरिएको छ । अन्तिम १६ को खेलमा बेल्जियमले अमेरिकामाथि ४-१ को प्रभावशाली जित दर्ता गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो । बेल्जियमको जितमा चार्ल्स डे केटेलारेले दुई गोल गरे भने हान्स भानाकेनले अमेरिकी गोलरक्षक म्याट फ्रिसेको गम्भीर गल्तीको फाइदा उठाउँदै अर्को गोल थपे ।त्यस्तै इन्जुरी समयमा रोमेलु लुकाकुले नजिकैबाट शक्तिशाली प्रहार गर्दै बेल्जियमको चौथो गोल गरेका थिए । योसँगै पछिल्ला पाँच विश्वकपमध्ये अमेरिकाले चार पटक अन्तिम १६ चरणमै यात्रा टुंग्याएको छ । सन् २०१८ मा भने अमेरिका विश्वकपका लागि छनोट हुन नै सकेको थिएन । सन् २०१४ को विश्वकपमा पनि बेल्जियमले अमेरिकालाई अन्तिम १६ बाटै बाहिरिएको थियो। त्यसबेला खेल अतिरिक्त समयसम्म पुगेको थियो भने यसपटक बेल्जियम सुरुदेखि नै हावी देखियो । अब बेल्जियमले क्वाटरफाइनलमा स्पेनको सामना गर्ने छ ।
१९- मिकेल मेरिनोले अतिरिक्त समयको पहिलो मिनेटमा निर्णायक गोल गरेपछि स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । डलासमा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफभर दुवै टोलीले स्पष्ट अवसर सिर्जना गर्न सकेका थिएनन् । तर ९१औँ मिनेटमा फेरान टोरेसको पासमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मेरिनोले सहज फिनिस गर्दै स्पेनलाई जित दिलाएका थिए । यो नतिजा सन् २०१० को विश्वकपमा पनि यही चरणमा स्पेनले पोर्चुगललाई १-० ले हराएको सम्झना दोहोरिएको हो । अब स्पेनले क्वार्टरफाइनलमा आयोजकमध्ये एक संयुक्त राज्य अमेरिका वा बेल्जियममध्ये विजेतासँग लस एन्जलसमा खेल्नेछ । यस हारसँगै ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि समाप्त भएको छ । रोनाल्डोले यसअघि नै यो विश्वकप आफ्नो अन्तिम हुने घोषणा गरेका थिए । खेलको तेस्रो मिनेटमै स्पेनले उत्कृष्ट अवसर खेर फाल्यो । डानी ओल्मोको पासमा मिकेल ओयारजाबाल रक्षकलाई छल्दै अगाडि बढे पनि उनको प्रहार गोलपोस्ट बाहिरियो । त्यसपछि पोर्चुगलका गोलरक्षक डियोगो कोस्टाले लामिन यामाल र आलेक्स बाएनाको लगातार दुई प्रहार उत्कृष्ट रूपमा बचाउँदै टोलीलाई संकटबाट जोगाएका थिए । पहिलो हाफको ४१औँ मिनेटमा पोर्चुगल गोल नजिक पुगेको थियो । नुनो मेन्डेसको शक्तिशाली प्रहार पेड्रो पोरोमा ठोक्किँदै क्रसबारमा लागेपछि स्पेनले राहत पाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पोर्चुगलले खेलमा पकड बढाए पनि अग्रपंक्तिमा रहेका रोनाल्डो प्रभाव जमाउन सकेनन् । ७६औँ मिनेटमा ब्रुनो फर्नान्डेसको प्रहार जालीको बाहिरी भागमा लाग्यो भने अर्को छेउमा दानी ओल्मोको प्रहार रुबेन डियासले साहसिक रूपमा रोकिदिएका थिए । अन्ततः खेलको अतिरिक्त समयमा स्पेनका दुई वैकल्पिक खेलाडीबीचको उत्कृष्ट संयोजनले निर्णायक गोल सम्भव बन्यो र स्पेनले अन्तिम आठमा स्थान सुरक्षित गर्यो ।
२०- राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान आसिफ सेख नेपाल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । सोमबार भएको अक्सनमा लुम्बिनीले सेखलाई लक्की ड्र मा २० लाखमा किनेको हो । आसिफलाई जनकपुर बोल्ट्सले रिलिज गरेपछि अक्सनमा आएका थिए । असिफका लागि चितवन राइनोज बाहेक अन्य सात टिमले बोली लगाएका थिए । आसिफका लागि सात टिमले २० लाखमा किन्न तयार भएपछि लक्की ड्रबाट लुम्बिनीले पाएको हो ।


