
घोराही, दाङ, २७ असार। नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाको ४७औँ वार्षिक साधारण सभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। साधारण सभाले शाखाको नयाँ नेतृत्व चयन गर्दै माया कुमारी पोख्रेललाई अध्यक्ष तथा रेणु कुमारी श्रेष्ठलाई कोषाध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ।
शाखाका सभापति भरतराज देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व संविधानसभा सदस्य तथा नेपाल परिवार नियोजन सङ्घकी पूर्व केन्द्रीय उपाध्यक्ष अनिता देवकोटा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, नेपाल परिवार नियोजन सङ्घकी निवर्तमान केन्द्रीय उपाध्यक्ष निर्मला रेग्मी, नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका पूर्व सभापति तथा पूर्व केन्द्रीय सदस्य गणेशराज श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, आजीवन तथा साधारण सदस्य र स्वास्थ्य क्षेत्रसँग आबद्ध सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साधारण सभामा शाखा प्रबन्धक बसन्त खनालले सन् २०२५ ९जनवरीदेखि डिसेम्बरसम्म० शाखाले सञ्चालन गरेका कार्यक्रमहरूको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाले विगत ४७ वर्षदेखि दाङमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जानकारी गराउनुभयो। उहाँले परिवार नियोजन सेवा, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन सेवा, किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको प्रारम्भिक परीक्षण, परिवार नियोजनका अस्थायी तथा स्थायी साधन, यौनजन्य सङ्क्रमणसम्बन्धी परामर्श तथा उपचार, स्वास्थ्य शिक्षा र जनचेतनामूलक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको बताउनुभयो।
उहाँले विशेषगरी गरिब, विपन्न, सीमान्तकृत तथा सेवाबाट वञ्चित समुदायलाई लक्षित गरी धेरै सेवा निःशुल्क वा सहुलियत दरमा उपलब्ध गराइँदै आएको उल्लेख गर्नुभयो। दातृ निकाय तथा केन्द्रबाट प्राप्त आर्थिक सहयोग क्रमशः घट्दै गएको वर्तमान अवस्थामा संस्थागत दिगोपन सुनिश्चित गर्न सङ्घले आफ्नो दीर्घकालीन रणनीतिअनुसार केही सेवामा न्यूनतम सेवा शुल्क लागू गरी त्यसबाट प्राप्त स्रोतलाई सेवा विस्तार, गुणस्तर अभिवृद्धि तथा संस्थाको आत्मनिर्भरतामा परिचालन गरिरहेको जानकारी दिनुभयो। आर्थिक चुनौतीका बाबजुद सेवाको गुणस्तरमा कुनै सम्झौता नगरी समुदायको आवश्यकताअनुसार सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उहाँले स्पष्ट पार्नुभयो।
कोषाध्यक्ष माया कुमारी पोख्रेलले आर्थिक वर्ष २०२५ को आय–व्यय तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारण सभाले वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।
प्रमुख अतिथि अनिता देवकोटाले नेपाल परिवार नियोजन सङ्घले नेपालमा मातृ तथा शिशु स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य र परिवार नियोजन सेवाको क्षेत्रमा पुर्याएको योगदान ऐतिहासिक रहेको बताउनुभयो। उहाँले दाङ शाखाले करिब ४७ वर्षदेखि समुदायको विश्वास जित्दै निरन्तर सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै बदलिँदो समयको आवश्यकता अनुसार संस्थाले आफ्ना कार्यक्रमलाई अझ प्रभावकारी, आत्मनिर्भर र समुदायमुखी बनाउनुपर्नेमा जोड दिनुभयो। स्थानीय तहसँग सहकार्य, स्रोत परिचालन र सेवाको पहुँच विस्तार गर्न सके संस्थाको भूमिका अझ सशक्त हुने उहाँको भनाइ थियो।
विशेष अतिथि गणेशराज श्रेष्ठले नेपाल परिवार नियोजन सङ्घले लामो समयदेखि संस्थागत दिगोपनको सवाललाई प्राथमिकताका साथ उठाउँदै आएको उल्लेख गर्दै भविष्यमा वित्तीय आत्मनिर्भरता, सेवा विस्तार, स्थानीय साझेदारी, संस्थागत क्षमता विकास तथा समुदायको विश्वासलाई थप मजबुत बनाउने रणनीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, आजीवन सदस्य तथा अन्य अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल परिवार नियोजन सङ्घले स्वास्थ्य क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।
निर्वाचन अधिकृत दिपक कुमार रेग्मीका अनुसार अध्यक्ष र कोषाध्यक्ष पदमा एक–एक जनाको मात्र उम्मेदवारी परेकाले माया कुमारी पोख्रेल अध्यक्ष र रेणु कुमारी श्रेष्ठ कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो। नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन अधिकृतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
निर्वाचित भएपछि अध्यक्ष माया कुमारी पोख्रेलले सम्पूर्ण सदस्य तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै शाखालाई नयाँ सोच, प्रभावकारी नेतृत्व र दीर्घकालीन योजनाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संस्थागत सुशासन, आर्थिक आत्मनिर्भरता, गुणस्तरीय सेवा विस्तार, कर्मचारी क्षमता विकास तथा स्थानीय तह र साझेदार संस्थासँगको सहकार्यलाई सुदृढ बनाउँदै नेपाल परिवार नियोजन सङ्घ दाङ शाखालाई देशकै उत्कृष्ट शाखामध्ये एकका रूपमा स्थापित गर्ने लक्ष्यका साथ काम गर्ने बताउनुभयो।
साधारण सभामा वर्षभरि सञ्चालन भएका कार्यक्रमहरूको समीक्षा, संस्थाको वर्तमान अवस्था, आर्थिक चुनौती, सेवा विस्तार, स्रोत परिचालन, भावी रणनीति तथा संस्थागत दिगोपनका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले समुदायको आवश्यकता अनुरूप सेवा विस्तार गर्दै स्वास्थ्य क्षेत्रमा सङ्घको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए।
सो अवसरमा शाखाका निवर्तमान सभापति भरतराज देवकोटाले स्वास्थ्य सेवामा लामो समयदेखि समर्पित भई योगदान पुर्याउँदै आउनुभएका कर्मचारी आशा शर्मा, बुद्धिप्रकाश चौधरी तथा स्वयंसेवक गोविन्द रेग्मीलाई सम्मान गर्नुभयो।
कार्यक्रमको सञ्चालन शाखा कार्यसमिति सदस्य बालिका लम्सालले गर्नुभएको थियो भने स्वागत मन्तव्य रेणु कुमारी श्रेष्ठले व्यक्त गर्नुभएको थियो। समापन गर्दै सभापति भरतराज देवकोटाले संस्थाको सफलतामा योगदान पुर्याउने सम्पूर्ण सदस्य, कर्मचारी, स्वयंसेवक, साझेदार संस्था तथा सहयोगी निकायप्रति आभार व्यक्त गर्दै नवनिर्वाचित नेतृत्वले सङ्घलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
करिब पाँच दशकदेखि दाङमा समुदायमुखी स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाले आगामी दिनमा पनि गुणस्तरीय, पहुँचयोग्य र दिगो यौन तथा प्रजनन स्वास्थ्य सेवामार्फत समाजका सबै वर्गको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


