आज दिनभरका प्रमुख २० समाचार बुलेटिन – Kanika Khabar
Wednesday, July 22Nepali News Portal

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    मा प्रकाशित

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी, उद्योग, प्रतिष्ठान तथा संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश गर्न देशभरका सम्बन्धित भूमि प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । विभागले आज ४० जिल्लाका भूमि प्रशासन कार्यालयलाई पत्राचार गर्दै यसअघि पटकपटक प्रतिवेदन माग्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएकाले अनुगमन तथा निरीक्षण समितिले स्थलमै पुगेर वस्तुस्थितिको अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । विभागले जारी गरेको पत्र अनुसार नेपाल सरकारको स्वीकृतिमा हदबन्दीभन्दा बढी जग्गा प्राप्त गरेका उद्योग, कम्पनी, प्रतिष्ठान, आयोजना, शिक्षण संस्था तथा अन्य संघ–संस्थाले स्वीकृत उद्देश्यअनुसार नै जग्गा प्रयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलगत रूपमा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, यसअघि पटकपटक पत्राचार गर्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएपछि विभागले पुनः निर्देशन जारी गरेको हो । भूमि सम्बन्धी ऐन अनुसार हदबन्दीभन्दा बढी जग्गा राख्न स्वीकृति पाएका संस्थाको नियमित अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी सम्बन्धित समितिलाई तोकिएको छ। ऐनले आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र स्थानीय तहसँग समन्वय गरी जग्गाको वास्तविक उपयोग अवस्था निरीक्षण गर्न र त्यसको प्रतिवेदन विभागमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ । विभागले ढिलाइ नगरी सम्बन्धित कार्यालय आफैं फिल्डमा खटिएर अनुगमन सम्पन्न गर्न, स्वीकृत उद्देश्यअनुसार जग्गा प्रयोग भए नभएको स्पष्ट विवरणसहित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

२- दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीबीच आज मन्त्रालयमा विस्तृत छलफल भएको छ । छलफलका क्रममा दाइजो प्रथाविरुद्धको राष्ट्रिय जनचेतना अभियान मधेश प्रदेशबाट प्रारम्भ गरी चरणबद्ध रूपमा देशभर विस्तार गर्ने विषयमा विस्तृत विचारविमर्श भएको थियो। अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, समुदाय, धार्मिक तथा सामाजिक अगुवा, युवा, महिला समूह तथा नागरिक समाजको सक्रिय सहभागितामा देशव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो । दुवै पक्षले दाइजो प्रथा महिला हिंसा, लैङ्गिक विभेद तथा सामाजिक अन्यायको प्रमुख कारणमध्ये एक भएको उल्लेख गर्दै यसको अन्त्यका लागि कडा कानुनी कार्यान्वयन, प्रभावकारी अनुगमन र व्यापक सामाजिक सचेतना अभियानलाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए । मन्त्री सिता बादीले दाइजो प्रथा केवल कानुनी नभई सामाजिक चुनौती भएकाले यसको अन्त्यका लागि राज्य, स्थानीय तह, शैक्षिक संस्था, नागरिक समाज, सञ्चारमाध्यम तथा समुदायको साझा प्रतिबद्धता आवश्यक रहेको बताएकी थिइन् ।  त्यस्तै उपसभामुख रुबी कुमारीले मधेश प्रदेशबाट सुरु हुने अभियानले दाइजो प्रथाविरुद्ध राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै दाइजोमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय तथा सबै सरोकारवालाको सक्रिय सहकार्य अपरिहार्य रहेको बताएकी थिइन् । भेटका क्रममा दाइजो प्रथा अन्त्यका लागि कानुनी व्यवस्था थप प्रभावकारी बनाउने, जनचेतनामूलक अभियानलाई संस्थागत रूपमा अघि बढाउने तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।

३- राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठले जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि भारतको हरियाणा जान लागेको नेपाली पुरुष कबड्डी टोलीलाई बुधबार बिदाइ गरेका छन् । बिदाइ कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले खेलाडीहरूलाई प्रशिक्षणको पूर्ण सदुपयोग गर्दै उत्कृष्ट तयारी गर्न आग्रह गरे। उनले एसियाली खेलकुदमा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउन शुभकामना पनि व्यक्त गरेका थिए । हरियाणा जाने टोलीमा घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली रहेका छन् । टोलीका मुख्य प्रशिक्षक विष्णु दत्त भट्ट, सहायक प्रशिक्षक कल्याण भुजेल तथा व्यवस्थापक पर्शुराम ओली रहेका छन् ।

४- ककरोच जनता पार्टीले सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई अनशन अन्त्य गर्न आग्रह गरेको छ। पार्टीले बुधबार खुला पत्र जारी गर्दै उनको त्यागले देशभरका हजारौं विद्यार्थीलाई प्रेरित गरेको भन्दै अब स्वास्थ्यको पनि ख्याल गर्न अनुरोध गरेको हो । पार्टीले पत्रमा जुलाई २० मा विभिन्न राज्यबाट युवाहरू वाङ्चुक र आन्दोलनप्रति ऐक्यबद्धता जनाउन पुगेको उल्लेख गर्दै यो संघर्ष कुनै एक व्यक्तिको नभई परीक्षा प्रणालीमा न्याय खोज्ने सबै विद्यार्थीको भएको जनाएको छ । साथै, वाङ्चुकले अनशन तोडे पनि आन्दोलन नरोकिने स्पष्ट पार्दै परीक्षा प्रणालीमा न्याय सुनिश्चित नभएसम्म संघर्ष जारी रहने प्रतिबद्धता व्यक्त गरेको छ । आन्दोलनलाई थप प्रभावकारी रूपमा अघि बढाउन हरसम्भव प्रयास गरिने पनि पत्रमा उल्लेख छ । पार्टीका संस्थापक अभिजीत दीपकेले पनि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै वाङ्चुकलाई अनशन अन्त्य गर्न आग्रह गरेका छन् । उनले देशलाई सोनम वाङ्चुकको आवश्यकता रहेको र उनको जीवन थप जोखिममा पार्न नहुने बताउँदै जन्तर-मन्तरमा भइरहेको शान्तिपूर्ण प्रदर्शन माग पूरा नभएसम्म निरन्तर जारी रहने बताए ।

५- सर्वोच्च अदालतले कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न आदेश जारी गरेको छ । बुधबार न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले  सांसद शाहलाई पक्राउ गर्नुको कारण सोध्दै अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ। कपिलवस्तु जिल्ला अदालतले कुटपिट आरोपमा सांसद शाहलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएपछि त्यसका विरुद्धमा शाहले सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन दायर गरेका थिए । उनी कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।

६-  शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरेको हो । सिआइबीले बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको बताएको छ । विभिन्न बैंकबाट लिएको कर्जा दुरुपयोगको अभियोगमा गत महिना उनीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको थियो । सोही मुद्दामा फरार रहेका अग्रवाललाई प्रहरीले पक्राउ गरिएको बताइएको छ । जगदम्बा स्टील्सको नाममा विभिन्न बैंकबाट लिइएको ४२ करोड १४ लाखदुरुपयोग गरेको अभियोगमा शंकरलाल, उनका छोराहरु शाहिल र सुलभ तथा बिचौलिया दीपक भट्टविरुद्ध गत २८ जेठमा मुद्दा दायर भएको थियो । यसअघि पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका अग्रवाल चैत्र २२ गते हाजिरी जमानीमा रिहा भएका थिए ।

७-  नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले गगन थापालाई सानो माग पुरा गर्न नसकेको भन्दै प्रश्न गरेका छन् । देउवा समुहले आयोजना गरेको ४४औं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापासहित अहिलेको काँग्रेसको नेतृत्वसँग इतिहासको कालखण्डमा लामो संघर्ष गरेका नेता कार्यकर्ताको सानो माग पुरा गर्न किन नसकेको भन्दै प्रश्न गरेका छन् । सिटौलाले विपी कोइरला, गणेशमान, कृष्णप्रसाद भट्टराईको लिगेसी बोकेको समुहलाई नजरअन्दाज नगर्न आग्रह गर्दै काँग्रेस जोगाउने आग्रह गरे । उनले निर्वाचन आयोगले गरेको निर्णय आफुले नमान्ने भन्दै आफुहरु अन्यायमा परेको बताए । सिटौलाले अहिलेको देशको अवस्था संकटमा रहेको र यस अवस्थाबाट काँग्रेसले नै बाहिर निकाल्ने भन्दै देशको संबिधान कहाँ छ ? देशको न्यायालय स्वतन्त्र छ ? कहाँ छ अख्तियार ? कहाँ छ संबिधानको मर्म ?  भन्ने प्रश्न गरेका थिए । सिटौलाले सभापति थापालाई एक्लै नहिडन चेतावनी दिदै भोली लडेको अवस्था आफुहरुले नै सम्हाल्नुपर्ने अवस्था आउने बताए । सिटौलाले यस महिनाको अन्तिमसम्म भेला गरेर नयाँ कार्यदिशा तय गर्ने बताउदै गगन थापालाई काँग्रेसलाई जोडने साहस गर्न आग्रह गरे ।

८- आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । जस अनुसार, विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने र गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्रराज कुँवरलाई नियुक्ति गर्ने निर्णय गरेको छ । त्यस्तै २०८५ साल भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिन र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिन स्वीकृति गर्ने निर्णय गरेको छ भने अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि बीच मिति २०८३/०४/०१ मा भएको सम्झौता अनुमोदन गर्ने , सम्झौतामा उल्लेख भएबमोजिम मिटरब्याजरसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने निरन्य गरेको छ । त्यस्तै गणेश नेपालीको आत्महत्या घटनाको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय गरिएको छ भने आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

९- नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से १३.९५  अंकले घटेर २७१२.५४ विन्दुमा पुगेर रोकिएको छ । आज ३४६ कम्पनिका एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता शेयर ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ मा कारोबार भएको थियो । आज फाइनान्स र उत्पादन बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने बुन्गल हाइड्रोको शेयर १०.५० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनसीसी डिभेन्चर २०८६ को शेयर ७.१६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ४२ करोड ३० लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड १० लाख बराबरको कारोबार भएको छ ।

१०- नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरुले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि उनीहरुलाई बोलाएका थिए । छलफलका क्रममा वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरुलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको महासंघका प्रतिनिधिहरुले बताएका हुन् । त्यस क्रममा प्रधानमन्त्री शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति, कला संरक्षण, रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताए । यस्तै, निजी सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने पदाधिकारीहरुको मागमा पनि प्रधानमन्त्री शाह सकारात्मक रहेको बताएका छन् । अहिलेसम्म महासंघले मंसिर २८ मा आफ्नै ढंगले हस्तकला दिवस मनाइरहेको अवस्थामा अब राष्ट्रिय स्तरमा मनाउनुपर्ने महासंघका पदाधिकारीले माग गरेका थिए । प्रधानमन्त्री शाहले पनि उक्त दिवस मनाउने विषयमा तत्कालै गृह मन्त्रालयसँग समन्वय गर्न आफ्नो टिमलाई निर्देशन दिए । यस्तै, हस्तकला सामग्री निर्यात अहिलेसम्म स्वघोषणामा भइरहेकोमा त्यसको साटो बिजक मूल्यांकन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीको सुझाव अनुसार काम गरिने पनि प्रधानमन्त्रीले आश्वस्त पारे । हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने सोको पाँच प्रतिशत रकम तीन वर्षयता रोकिएकोमा प्रधानमन्त्री शाहले त्यसलाई पुनः निरन्तरता दिने विषयमा पनि आश्वासन दिए । हस्तकलाको वस्तु उत्पादन र विकासका लागि उद्योग विभागमा सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण भइसके पनि त्यहाँ अरु नै कार्यालय (कम्पनी रजिस्ट्रार) रहेकोमा त्यो आफूहरुलाई फिर्ता हुनुपर्ने माग पदाधिकारीले राखेका थिए र त्यसैअनुसार काम गर्ने प्रधानमन्त्री शाहले आश्वासन दिए । यस्तै, उपत्यकामा हस्तकला ग्राम खडा गर्ने र सातै प्रदेशमा हस्तकला सम्बन्धी सीप प्रशिक्षण केन्द्र खोल्ने विषयमा प्रधानमन्त्री शाहले विशेष चासो देखाएका छन् । यसबाहेक निर्माण व्यवसायीसँगको सहकार्यमा कलात्मक संरचना निर्माण गर्न दुई पक्षबीच सम्झौताका लागि प्रधानमन्त्रीसँग अनुरोध गरिएकोमा उनी यसबारे सकारात्मक बनेका छन् । परम्परागत सीप कलालाई जगेर्ना गर्ने र हस्तकलाकर्मीलाई परिचयपत्र दिनुपर्नेलगायत पदाधिकारीले विभिन्न माग राखेका थिए । छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए ।

११- काभा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल काजकिस्तानसँग ३–२ ले पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा पहिलो २ सेट पराजित भएपछि पछिल्लो २ सेटमा कमब्याक गर्दै नेपालले खेल पाँचौं सेटमा लम्बाएको थियो । नेपाल काजकिस्तानसँग २५–१९, २५–२१, ३२–३४, २५–१९ र १५–९ ले पराजित भएको हो ।  नेपालविरुद्ध पहिलो, दोस्रो र पाँचौं सेट जित्दै काजकिस्तानले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो । नेपालले तेस्रो र चौथो सेटमा निकै राम्रो कमब्याक जित निकाले पनि पाँचौं सेटमा भने पछि पर्‍यो । हारका बावजुद पनि नेपालले अंक तालिकामा १ अंक दर्ता गरेको छ । नेपालले दोस्रो खेल श्रीलंकासँग बिहीबार खेल्ने तालिका रहेको छ । यस प्रतियोगिता ६ वटा राष्ट्रले सहभागिता जनाएका छन् ।

१२- अमेरिकाले इरानसँग जारी युद्धमा हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च भएको जनाएको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले मंगलबार संसद्को सुनुवाइका क्रममा उक्त जानकारी दिँदै युद्ध सञ्चालनका लागि थप बजेट आवश्यक रहेको बताएका हुन् । हेगसेथका अनुसार हालसम्मको खर्चमा युद्ध सञ्चालनका विभिन्न गतिविधि र आगामी सेप्टेम्बर ३० सम्म हुने अनुमानित खर्चसमेत समावेश गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना इरानसँगको युद्धका लागि मुख्य रूपमा प्रयोग हुने गरी थप करिब ९० अर्ब डलर बजेट स्वीकृत गर्न संसद्समक्ष प्रस्ताव गरेका थिए । इरानसँगको युद्ध लामो बन्दै गएपछि अमेरिकी संसद्मा यसको विरोध बढ्दै गएको छ । सत्तारुढ रिपब्लिकन र विपक्षी डेमोक्र्याट दुवै दलका सांसदहरूले राष्ट्रपति ट्रम्पले युद्धको अवस्था र रणनीतिबारे पर्याप्त जानकारी नदिएको आरोप लगाएका छन् । डेमोक्र्याट सांसदहरूले युद्धले देशको अर्थतन्त्रमा थप भार परेको र जनजीवन महँगिएको भन्दै सरकारको आलोचना गरेका छन् । रक्षामन्त्री हेगसेथले थप बजेट स्वीकृत नभए सैन्य तालिम, मर्मतसम्भार र भविष्यका सैन्य क्षमता विकासका कार्यक्रम प्रभावित हुने चेतावनी दिएका छन् । उनले सन् २०२७ का लागि १.५ ट्रिलियन डलरको रक्षा बजेट पनि आवश्यक रहेको बताएका छन् । यसैबीच, अमेरिका र इरानबीच यसअघि भएको युद्धविराम केही समयमै भंग भएपछि दुवै पक्षले फेरि दैनिक आक्रमण जारी राखेका छन् । पछिल्लो विवरणअनुसार युद्धमा १८ अमेरिकी सैनिकको मृत्यु भएको छ भने करिब ४३० जना घाइते भएका छन् । तीमध्ये अधिकांश सैनिक उपचारपछि पुनः सेवामा फर्किएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रपति ट्रम्पले इरानका ऊर्जा संरचना, पुल तथा अन्य रणनीतिक स्थलहरूलाई समेत निशाना बनाउन सकिने चेतावनी दिँदै भूमिगत आणविक केन्द्रमाथि पनि छिट्टै आक्रमण गरिने बताएका छन् । युद्ध चर्किंदै जाँदा थप सैन्य खर्च र यसको राजनीतिक प्रभाव अमेरिकाभित्रै प्रमुख बहसको विषय बनेको छ ।

१३-  दोलखाको गौरीशंकर गाउँपालिका –०९ स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम नजिकै अविरल वर्षापछि गएको पहिरोले एक गोठ बगाउँदा एक वृद्ध सम्पर्कविहीन भएका छन् । बुधबार बिहान करिब १ बजे गएको पहिरोले ड्यामका कर्मचारी बस्ने घर पूर्ण रूपमा क्षति पुगेको छ । असुरक्षित स्थानमा रहेका ड्यामका चार जना कर्मचारीलाई बिहान ७:१५ बजे सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । त्यस्तै, ड्याम क्षेत्रमै गोठ बनाएर बस्दै आएका गौरीशंकर गाउँपालिका –०९ टासिनामका करिब ७३ वर्षीय चस्मान तामाङ (तसमान) को गोठ पहिरोसँगै बगेको छ । गोठमा रहेका ७ वटा बाख्रा, ९ वटा गाई र ३ वटा गोरु समेत बगेका छन् । चस्मान तामाङ हालसम्म सम्पर्कविहिन रहेकोले नेपाल प्रहरी खोजी तथा उद्धारका लागि घटनास्थलमा सक्रिय रुपमा खटिरहेका छन् भने स्थानीयवासी तथा अन्य सुरक्षा निकायको समेत सहयोगमा खोजी कार्य भईरहेको छ प्रहरीले जनाएको छ ।

१४- नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । काँग्रेसको नेतृत्वमा रहेको बागमती सरकारमा रहेका एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा दिदै सरकार छोडेका हुन् । केन्द्रीय तहमा नेपाली कांग्रेस र एमालेबीचको सत्ता सहकार्य अन्त्य भएपछि कर्णाली र सुदूरपश्चिमपछि अब बागमती प्रदेशमा पनि सहकार्य टुटेको छ । बागमती सरकारमा एमालेबाट उद्योगमन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्यमन्त्री किरण थापा, वनमन्त्री भरतबहादुर केसी, कृषिमन्त्री मधुसूदन पौडेल र श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा सहभागी थिए । यसअघि मंगलबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको दाबि गरिएको छ ।

१५- नेपाली कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको छ ।  बीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा बोल्दै कांग्रेसका सभापति गगन थापाले कोष स्थापनाको घोषणा गरेका हुन् । सभापति थापाले कोषयमा हाल १० लाख रुपैयाँ जम्मा भएको जानकारी दिदै सो रकम हाल विस्थापित भएका सुकुमवासी परिवार, विशेषगरी एकल महिला र उनीहरूका बालबालिकाको शिक्षामा सहयोग गर्न खर्च गरिने बताए । उनले कोषको रकम परिचालन नेपाल महिला संघ मार्फत हुने बताउदै महिला संघका प्रतिनिधिहरू प्रभावित बस्तीमा पुगेर आवश्यकताको पहिचान गर्ने र सहयोग वितरण गर्ने बताए । कार्यक्रममा सहभागीको संख्या अपेक्षाभन्दा बढी हुँदा व्यवस्थापन राम्रो नभएको गुनासोप्रति सभापति थापाले कमजोरी स्वीकार गर्दै आगामी कार्यक्रमलाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

१६-  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशका सेनाप्रमुख ओलेक्सान्दर सिर्स्कीलाई पदबाट हटाउँदै उनको स्थानमा युद्ध अनुभव भएका वरिष्ठ सैन्य कमान्डर मिखाइलो द्रापातीलाई नियुक्त गरेका छन् । रक्षामन्त्री मिखाइलो फेदोरोभलाई हटाइएको निर्णयको विरोधमा देशभर लगातार प्रदर्शन भएपछि जेलेन्स्कीले सेनाको नेतृत्व परिवर्तन गरेका हुन्।

३५ वर्षीय फेदोरोभलाई युक्रेनी सेनामा प्रविधिको प्रयोग बढाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र युद्ध रणनीतिलाई आधुनिक बनाउने व्यक्तिका रूपमा व्यापक प्रशंसा गरिएको थियो । उनी पदबाट हटेपछि सिर्स्कीसँगको मतभेद नै त्यसको मुख्य कारण रहेको पुष्टि भएको थियो । त्यसपछि सिर्स्कीको राजीनामा वा बर्खास्तीको माग गर्दै विभिन्न सहरमा प्रदर्शन भएका थिए । नवनियुक्त सेनाप्रमुख द्रापातीले सामाजिक सञ्जालमार्फत देशको रक्षा गर्ने सैनिकप्रति सम्मानका साथ पूर्ण जिम्मेवारी लिएर काम गर्ने बताएका छन् । उनले पूर्व सेनाप्रमुख सिर्स्कीको योगदानको पनि प्रशंसा गर्दै युक्रेनी सेनालाई बलियो बनाउन उनले खेलेको भूमिकाप्रति आभार व्यक्त गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले सिर्स्कीले सन् २०२२ मा रुसको पूर्ण आक्रमण सुरु हुँदा राजधानी किभको सफल रक्षामा महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद दिएका छन् । उनले पूर्व रक्षामन्त्री फेदोरोभलाई पनि सरकारभित्र उपयुक्त जिम्मेवारी दिने प्रस्ताव गरिएको जानकारी दिएका छन्, तर उनले उक्त प्रस्ताव स्वीकार गरेका छन् वा छैनन् भन्ने खुलाइएको छैन । फेदोरोभले द्रापातीको नियुक्तिलाई स्वागत गर्दै यसलाई स्वतन्त्रता र न्यायका लागि भइरहेको संघर्षमा नयाँ आशाको सुरुआत भएको बताएका छन् । उनले सेनामा सुधारको गति अझ तीव्र बनाउन आवश्यक रहेको उल्लेख गर्दै विगतका कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने धारणा पनि राखेका छन् । हाल कार्यवाहक रक्षामन्त्रीका रूपमा येभहेनी ख्मारा कार्यरत छन् । राष्ट्रपति जेलेन्स्कीले ख्मारा र द्रापातीलाई सैन्य संरचना सुधार, हतियार आपूर्ति, ड्रोन प्रविधिको विस्तार तथा समग्र रक्षा रणनीतिलाई नयाँ ढंगले अघि बढाउने योजना तयार गर्न निर्देशन दिएका छन् । युक्रेनमा जारी युद्धका बीच गरिएको यो नेतृत्व परिवर्तनलाई देशको रक्षा प्रणालीमा महत्वपूर्ण राजनीतिक तथा सैन्य फेरबदलका रूपमा हेरिएको छ।

१७- भारतको सिक्किम राज्यस्थित नाम्ची जिल्लामा निर्माणाधीन सुरुङ भत्किँदा मृत्यु हुने श्रमिकको संख्या २० पुगेको छ । पाँच जना अझै सुरुङभित्रै फसेको र उनीहरूको उद्धार कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । २४ घण्टाभन्दा बढी समयदेखि श्रमिकहरू फसेकाले मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ । दक्षिण सिक्किमको समरदुङ क्षेत्रमा निर्माणाधीन तिस्ता चरण–६ जलविद्युत् आयोजनाको सुरुङभित्र गत जुलाई २० मा दुर्घटना भएको थियो । भारतको सरकारी स्वामित्वको जलविद्युत् कम्पनी एनएचपिसीका अनुसार चट्टानभित्र थुनिएको मिथेन ग्यास अचानक विस्फोट हुँदा ठूलो दुर्घटना भएको हो । विस्फोटपछि सुरुङभित्र बाक्लो धुवाँ र विषाक्त ग्यास फैलिएको थियो । एनएचपिसीका अनुसार दुर्घटनाका बेला सुरुङभित्र २५ जना श्रमिक कार्यरत थिए । उद्धार टोलीले हालसम्म २० जनाको शव फेला पारेको छ भने पाँच जनाको खोजी जारी छ । जिल्ला प्रशासनले कम्पनीको उपस्थिती विवरण र अन्य अभिलेखका आधारमा श्रमिकहरूको संख्या पुष्टि गरेको जनाएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले दुर्घटनामा ज्यान गुमाउने प्रत्येक श्रमिकका परिवारलाई चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । घाइते प्रत्येक व्यक्तिलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने जनाइएको छ । त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिने घोषणा गरेका छन् । तिस्ता चरण–६ जलविद्युत् आयोजना भारतको ठूलो जलविद्युत् विकास संस्था एनएचपिसी लिमिटेडद्वारा निर्माणाधीन आयोजना हो । दुर्घटनापछि सुरक्षाका मापदण्ड र निर्माण प्रक्रियामाथि पनि प्रश्न उठ्न थालेका छन् । उद्धार टोलीले बाँकी फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएको छ ।

१८-  काठमाडौँ महानगरपालिकाले माइतीघर क्षेत्रको डुवानको प्राविधिक कारण अध्ययन गर्ने भएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले डुबानको प्राबिधिक कारणसहित प्रतिवेदन पेश गर्न साझेदार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिएकी छन् । डुवान हुने क्षेत्रको मंगलबार अनुगमन गर्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौँ र महानगरपालिकाका सम्बन्धित विभागको टोलीलाई प्रतिवेदन पेश गर्न निर्देशन दिएकी हुन् । अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग, महानगर प्रहरी बलका अधिकारी सहभागी थिए । अनुगमनका क्रममा माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरको ढल राखिएको छ । निकास हुने ठाउँमा ६० सेन्टिमिटरको ढल छ । प्रारम्भिक अवस्थामा यही कारणले डुवान भएको देखिन्छ । अधिकारीहरुले, माइतीघर मण्डला क्षेत्र वरिपरि भवन संरचना निर्माण गर्दा ढल निकास प्रणालीमा अवरोध हुन सक्ने अनुमान गरिएको छ ।  अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले, स्थानीय प्रशासनसहित पूर्वाधार निर्माण तथा सुविधा वितरणसँग सम्बन्धित साझेदारसँगको सहकार्यमा माइतीघर मण्डला क्षेत्रलाई डुवान मुक्त बनाइने बताएकी छन् ।

१९- बझाङ केन्द्र विन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ४ बजेर ४० मिनेट जादा बझाङको कोतदेवाल आसपास केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन ।

२०- आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले खराब शुरुवात गरेको छ । मंगलबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य पछाएको नामिबियाले ३७.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४६.५ ओभरमा अल आउट हुदै १५७ रन मात्र बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३१, दिपेन्द्र सिंह ऐरीले ३०, गुलशन झाले २०, करण केसीले १८ र आसिफ सेखले १६ रन बनाएका थिए । त्यसैगरी नामिबियाका बलर जेजे स्मितले ६ विकेट लिएका थिए भने ज्याक ब्रासेल र बेर्नार्ड स्कोल्जले २-२ विकेट लिए । यो जितपछि लिग-२ मा नामिबियाको २९ खेलमा २४ अंक भएको छ भने नेपालको पनि २९ खेलमा २४ अंक नै रहेको छ । अब सिरिजको अर्को खेल विहिबार नेपाल र नेदरल्याण्डसबीच हुने तालिका छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्