काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति-सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन् । गृहमन्त्री सुधन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिएका छन् । प्रधानमन्त्री शाहले शान्ति-सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिएका छन् ।
२- स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो। सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। ऐनमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक निर्देशिका छिट्टै तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानुनी कारबाही प्रभावकारी बनाउने तथा सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय गर्ने सहमति भएको छ। यस्तै, स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार गरी नेपाल चिकित्सक संघसँगको सहकार्यमा एक कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख छ। सहमतिपछि नेपाल चिकित्सक संघले जारी राखेको आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्दै नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने सहमति भएको छ।
३- राहदानी विभागले विद्युतीय राहदानी (ई–राहदानी) को बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता उल्लेखनीय रूपमा विस्तार गरेको जनाएको छ । विभागका अनुसार हाल दैनिक करिब १ हजार ५०० वटा विद्युतीय राहदानी उत्पादन तथा छपाइ भइरहेको छ । विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप पनि उल्लेख्य रूपमा बढेको विभागले जनाएको छ । विभागका अनुसार विद्युतीय राहदानी सेवा देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत उपलब्ध हुँदै आएको छ । बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न उत्पादन क्षमता विस्तार गर्नुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको विभागको भनाइ छ । २०७८ मंसिरदेखि विद्युतीय राहदानी वितरण सुरु गर्दा दैनिक करिब १०० वटा मात्र राहदानी उत्पादन हुने गरेकोमा अहिले त्यो क्षमता बढेर दैनिक १ हजार ५०० वटा पुगेको विभागले जनाएको छ । यसलाई विभागले राहदानी सेवामा भएको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । विभागले सेवा प्रवाहका क्रममा देखिएका प्राविधिक समस्या समाधानका लागि आवश्यक काम तीव्र रूपमा अघि बढाइएको जनाएको छ । आगामी एक महिनाभित्र अधिकांश प्राविधिक समस्या समाधान गर्ने र तीन महिनाभित्र सम्पूर्ण प्रणालीलाई स्थिर तथा थप भरपर्दो बनाउने लक्ष्यका साथ प्राविधिक र व्यवस्थापकीय सुधारको काम भइरहेको विभागले जनाएको छ । साथै अत्यावश्यक अवस्थामा राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई प्राथमिकताका आधारमा सेवा उपलब्ध गराइने पनि विभागले स्पष्ट पारेको छ।
४- लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री कार्यालय बाहेक ८ मन्त्रालय रहने गरि नियमावली स्वीकृत गरेको हो । जस अनुसार यसअघि १२ मन्त्रालय रहेकोमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक ८ मन्त्रालय कायम हुने भएको छ । बैठकका निर्णय सार्वजनिक गर्दै भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र मितव्ययी बनाउन मन्त्रालयको संख्या घटाइएको बताएका छन् । नयाँ संरचनाअनुसार युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा गाभिएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालय खारेज गरी उद्योग तथा यातायातको जिम्मेवारी आन्तरिक मामिला, कानुन मन्त्रालयमा समायोजन गरिएको छ । त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई शहरी विकास मन्त्रालयमा गाभिएको छ भने वन तथा वातावरण मन्त्रालयमा पर्यटन क्षेत्र थप गरी वन, वातावरण तथा पर्यटन मन्त्रालय बनाइएको छ । अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा पर्यटन मन्त्रालय, शहरी विकास, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहनेछन् ।
५- भारतको चर्चित टी-२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को व्यावसायिक मूल्य बढेर २० अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ । वित्तीय परामर्श संस्था हुलिहान लोकीले बुधबार सार्वजनिक गरेको आईपीएल मूल्याङ्कन अध्ययन–२०२६ अनुसार आईपीएलको व्यावसायिक मूल्य अघिल्लो वर्षको तुलनामा ११.४ प्रतिशतले वृद्धि भएको हो । प्रतिवेदनअनुसार आईपीएलको ब्रान्ड मूल्य पनि १०.३ प्रतिशतले बढेर ४ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ । लगातार दोस्रो वर्ष आईपीएलको व्यावसायिक मूल्य र ब्रान्ड मूल्य दुवै दोहोरो अंकले वृद्धि भएका हुन् । यस वर्ष आईपीएलमा सबैभन्दा ठूलो व्यावसायिक घटना रोयल च्यालेन्जर्स बेङ्गलुरु र राजस्थान रोयल्सको स्वामित्व परिवर्तन भएको छ । रोयल च्यालेन्जर्स बेङ्गलुरु मार्चमा १ अर्ब ७८ करोड अमेरिकी डलरमा बिक्री भएको थियो, जुन आईपीएल इतिहासकै सबैभन्दा महँगो टोली बिक्री हो । यस टोलीको स्वामित्व आदित्य बिर्ला समूह, टाइम्स अफ इन्डिया समूह, डेभिड ब्लिट्जरको बोल्ट भेन्चर्स र ब्ल्याकस्टोनको समूहले संयुक्त रूपमा लिएका हुन् । त्यसपछि मे महिनामा राजस्थान रोयल्स १ अर्ब ६५ करोड अमेरिकी डलरमा मित्तल परिवार र सिरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख अदार पुनावालालाई बिक्री गरिएको थियो । यी दुई टोलीको बिक्रीबाट मात्रै ३ अर्ब ४३ करोड अमेरिकी डलर बराबरको कारोबार भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार आईपीएलको टेलिभिजन र डिजिटल माध्यमबाट कुल पहुँच १ अर्ब ६ करोड स्क्रिन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत बढी हो । यस वर्ष पहिलो पटक रोयल च्यालेन्जर्स बेङ्गलुरु आईपीएलकै सबैभन्दा मूल्यवान टोली बनेको छ । टोलीको ब्रान्ड मूल्य १६ प्रतिशतले बढेर ३१ करोड २० लाख अमेरिकी डलर पुगेको छ । यसपछि मुम्बई इन्डियन्स दोस्रो र कोलकाता नाइट राइडर्स तेस्रो स्थानमा रहेका छन् । चेन्नई सुपर किङ्स चौथो स्थानमा झरेको छ । प्रतिवेदनले आईपीएल विश्वकै निजी लगानीकर्ताका लागि सबैभन्दा आकर्षक खेल प्रतियोगितामध्ये एक बनेको उल्लेख गरेको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्डले टोलीमा निजी लगानीका लागि अन्य धेरै खेल लिगको तुलनामा कम प्रतिबन्ध लगाएकाले विदेशी लगानीकर्ताको आकर्षण बढेको प्रतिवेदनको निष्कर्ष छ । प्रत्येक टोलीले प्रसारण अधिकारबाट मात्रै वार्षिक करिब ५ करोड ५० लाख अमेरिकी डलर प्राप्त गर्ने व्यवस्था पनि आईपीएलको आर्थिक मजबुतीको प्रमुख आधार मानिएको छ । हुलिहान लोकीले सन् २०२८ देखि २०३२ सम्मको आईपीएल प्रसारण अधिकारको मूल्य हालको ६ अर्ब २० करोड अमेरिकी डलरबाट ८० देखि १०० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरेको छ । यद्यपि अर्को अनुसन्धान संस्था मिडिया पार्टनर्स एसियाले भने प्रतियोगिताको खेल संख्या बढेकाले आगामी प्रसारण अधिकारको मूल्य स्थिर रहने र प्रति खेल मूल्य घट्न सक्ने अनुमान सार्वजनिक गरेको छ ।
६- नेपालमा पाटेबाघको अनुमानित संख्या बढेर ४२९ पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसको अवसरमा राष्ट्रिय बाघ सर्वेक्षण–२०८२ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालमा हाल ४०२ देखि ५०० को दायरामा रहने अनुमानसहित ४२९ वटा बाघ रहेको जनाएको हो । विभागका अनुसार नेपालमा बाघ पाइने पाँच राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा गरिएको सर्वेक्षणमा चितवनमा सबैभन्दा धेरै १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटामा ५० वटा बाघ रहेको अनुमान गरिएको छ । राष्ट्रिय बाघ सर्वेक्षणका लागि सन् २०२५ डिसेम्बर १६ देखि सन् २०२६ अप्रिल २३ सम्म पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा क्यामेरा जडान गरिएको थियो । सर्वेक्षणका क्रममा ७ हजार ३९३ वर्ग किलोमिटर क्षेत्रलाई समेट्दै १ हजार ८४८ वटा ग्रिडमा ३ हजार ६९६ वटा स्वचालित क्यामेरा जडान गरिएको थियो। ती क्यामेराबाट ११ हजार ९११ वटा बाघका तस्बिर प्राप्त भएका थिए भने ३७३ वटा फरक–फरक बाघको पहिचान गरिएको विभागले जनाएको छ । उक्त तथ्याङ्कलाई वैज्ञानिक विश्लेषण विधिबाट मूल्याङ्कन गर्दा नेपालमा बाघको अनुमानित संख्या ४२९ पुगेको निष्कर्ष निकालिएको हो। बाघको घनत्व, बासस्थान र आहारा प्रजातिसम्बन्धी विस्तृत प्रतिवेदन भने पछि सार्वजनिक गरिने विभागले जनाएको छ । विभागका अनुसार बाघको संख्या वृद्धि हुनु बासस्थान संरक्षण, चोरी सिकार नियन्त्रण, आहारा प्रजातिको संरक्षण तथा जैविक मार्ग व्यवस्थापनलगायतका संरक्षण प्रयासको सकारात्मक परिणाम हो । आगामी दिनमा प्रदेश र स्थानीय तह, स्थानीय समुदाय तथा संरक्षण साझेदार संस्थासँगको सहकार्यमा मानव–बाघ सहअस्तित्व, बाघ संरक्षण, जनचेतना अभिवृद्धि, समस्याग्रस्त बाघको समयमै व्यवस्थापन तथा बाघमा आधारित पर्यापर्यटन प्रवर्द्धनका कार्यक्रमलाई थप प्रभावकारी बनाइने विभागले जनाएको छ । विभागले सर्वेक्षणमा सहयोग गर्ने राष्ट्रिय निकुञ्ज कार्यालय, डिभिजन वन कार्यालय, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष नेपाल, जेड एस एल नेपाल, विभिन्न संरक्षण संस्था, अनुसन्धानकर्ता, विद्यार्थी, स्वयंसेवक तथा स्थानीय समुदायप्रति आभार व्यक्त गरेको छ ।
७- आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेट राज दाहाल, सिन्धुलीलाई मनोनयन गर्ने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले देहायका विधेयकहरू संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरको छ: (क) संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक । (ख) खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक । (ग) सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । (घ) राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक । (ङ) मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक । (च) बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी विधयेक । (छ) आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । (ज) मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक । (झ) कर्मचारी संचयकोष ऐन, २०१९ लाई संसोधन गर्न बनेको विधेयक ।
८- नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ८३ वर्षको उमेरमा मंगलबार निधन भएका श्रेष्ठको बुधबार हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिएको हो । श्रेष्ठको पार्थिव शरीरलाई बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । सो अवसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका श्रेष्ठको निधनले पार्टी र नेपाली राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ । काँग्रेसले श्रेष्ठको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
९- संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त मानबहादुर कार्की र आयुक्त पदमा सिफारिस भएका डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकले आयोगको प्रमुख आयुक्तमा सिफारिस कार्की र दुई आयुक्त पदमा सिफारिस भएका सुब्बा र वाग्लेलाई सर्वसम्मत अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन् । संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । संबैधानिक व्यवस्था अनुसार समितिको अनुमोदनपछि अब राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ ।
१०- नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा पुगेर रोकिएको छ । आज ३४३ कम्पनिका ९७ लाख ७७ हजार ५१२ कित्ता शेयर ४ अर्ब २ करोड ९३ लाख ९० हजार ३५१ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा १४.९९ प्रतिशतले बढेको छ भने स्नो रिभरको शेयर ४.९० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी गरिमा समृद्धि योजनाको शेयर ६.६० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी हिमालयन पावरको २२ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने खानी खोला हाइड्रोको २१ करोड १७ लाख बराबरको कारोबार भएको छ ।
११- राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । बुधबार शीतल निवासस्थित राष्ट्रपति भवन पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग समसामयिक राजनीतिक अवस्था तथा पछिल्ला घटनाक्रमबारे छलफल गरेका हुन् । भेटका क्रममा लामिछानेले सुनसरी घटनापछि विकसित परिस्थितिबारे जानकारी गराउनुका साथै उक्त विषयमा छलफल गर्न आफूले आह्वान गरेको सर्वदलीय बैठकका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए । राष्ट्रपति कार्यालयका अनुसार भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सामाजिक सद्भाव कायम गर्ने विषय तथा समसामयिक राष्ट्रिय मुद्दाहरूमा पनि कुराकानी भएको थियो।
१२- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गरेको छ। साउन १३ गते सम्पन्न बैठकपछि जारी संयुक्त वक्तव्यमा सुनसरीलगायत विभिन्न जिल्लामा भएका दुःखद घटनाले सिर्जना गरेको असहज परिस्थितिको गम्भीर समीक्षा गरिएको उल्लेख गरिएको छ । बैठकमा सहभागी सबै राजनीतिक दलहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी विश्वासको संरक्षणका लागि आफूहरू एकताबद्ध रहेको सन्देश दिएका छन् । संयुक्त वक्तव्यमा वर्तमान परिस्थितिको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकारसँग आवश्यक समन्वय र सहयोग गर्न सबै राजनीतिक दल प्रतिबद्ध रहेको जनाइएको छ । बैठकले सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिबाट टाढा रहन तथा संवाद, सहकार्य र आपसी समझदारीमार्फत समस्या समाधानतर्फ अघि बढ्न सबै पक्षलाई आग्रह गरेको छ । संयुक्त अपिल: १. समवेदना तथा सहानुभूति: पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउने मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं। साथै, घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। २. सामाजिक सद्भाव र शान्तिको अपिल: नेपालको पहिचान नै विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व हो। सदियौंदेखि हाम्रो समाजमा कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकहरूमा हार्दिक अपिल गर्दछौं। आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी छ। ३. शान्तिपूर्ण संवाद र सहमतिको आह्वान: लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याहरूको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव छ। आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न सम्बन्धित सबै पक्षलाई हामी आह्वान गर्दछौं। ४. तल्लो तहमा सर्वदलीय संयन्त्र र बैठकको आह्वान : समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन। तसर्थ, प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न हामी आ-आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशित गर्दछौं। स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुनु आजको आवश्यकता हो। ५. केन्द्रीय तहबाट समन्वय र नेतृत्वदायी भूमिका : यस्ता प्रकृतिका दुःखद र संवेदनशील घटनाहरू भविष्यमा देशका कुनै पनि भू-भागमा दोहोरिन नदिन हामी, राजनीतिक दलको केन्द्रीय तह, अत्यन्तै गम्भीर छौं। यसका लागि आवश्यक पहलकदमी , निरन्तर समन्वय र अनुगमन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न हामी प्रतिबद्ध छौं। ६. अफवाह नियन्त्रण र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग : यस्तो संवेदनशील समयमा सामाजिक सञ्जाल लगायतका माध्यमबाट फैलाइन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहहरूले स्थितिलाई थप भयावह बनाउन सक्छन्। तसर्थ, सामाजिक सञ्जालको अत्यन्त जिम्मेवार प्रयोग गर्न आम नागरिकलाई अनुरोध गर्दै, सञ्चारमाध्यमहरूलाई समेत संयमित र तथ्यपरक सूचना मात्र सम्प्रेषण गरिदिन आग्रह गर्दछौं। ७. नेपाल सरकारको ध्यानाकर्षण: नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो। अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुन बमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं । संयुक्त अपिलमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपा संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनमत पार्टीका अध्यक्ष सिके राउत, जसपा नेपालका नेता प्रकाश अधिकारीले हस्ताक्षर गरेका छन् ।
१३- नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी घटनामा दलहरुसँग संवाद नगरेको भन्दै आपत्ति जनाएका छन् । बुधबार रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकबाट बाहिरिनेक्रममा प्रधानमन्त्री शाह बैठकमा सहभागी नभएको र संवाद अगाडि नबढाएकोप्रति आपत्ति जनाएका हुन् । उनले भने- ‘प्रधानमन्त्रीले यस्तो बेलामा नेपालका मिडिया बोलाएर किन छलफल नगरेको ? सरकारको तर्फबाट संवाद गर्नुपर्दैन। धार्मिक नेताको पनि महत्त्व हुन्छ यस्तो समयमा। हामीले भनेको नमानेको अवस्थामा धार्मिक नेताले भनेको मान्ने समुदाय पनि छन्, उनीहरुलाई बोलाएर प्रधानमन्त्रीले संवाद गर्नुपर्छ । प्रधानमन्त्री यस्तो बेलामा प्रधानमन्त्री जस्तो बन्नुपर्छ। म एक्लै गर्छु भनेर हुँदैन । म पुराना कुरा केही पनि गर्दिनँ, पहिलेको जस्तो होइन भनेर हुँदैन ।’ सिंहदरबारमा जारी बैठकमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनमतका अध्यक्ष सिके राउतलगायतका नेता र सांसदहरूलाई सहभागी रहेका थिए ।
१४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको ओभल कार्यालयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । पश्चिम एशियामा बढ्दो तनाव र रुस-युक्रेन युद्ध विश्वका प्रमुख चुनौतीका रूपमा रहेको समयमा यी भेटवार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्पले दुवै नेतासँगको भेट सम्पन्न गरेको र दुवै वार्ता सकारात्मक तथा उपयोगी रहेको बताएकी छन् । जेलेन्स्की र नेतान्याहू दुवै अमेरिका दिवंगत सिनेटर लिन्ड्से ग्राहमको अन्त्येष्टिमा सहभागी हुन पुगेका थिए । सोही अवसरमा उनीहरूले आफ्ना देशसँग सम्बन्धित महत्वपूर्ण विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरेका हुन् । लिन्ड्से ग्राहम इजरायलका बलिया समर्थक तथा इरानका कडा आलोचक मानिन्थे । उनको निधन हुनुभन्दा एक दिनअघि उनले कीभमा जेलेन्स्कीसँग भेट गरेका थिए । साथै उनले रुसविरुद्ध थप कडा प्रतिबन्ध लगाउने सम्बन्धी सिनेट विधेयकमा पनि काम गरिरहेका थिए । फेब्रुअरीपछि यो नेतान्याहूको पहिलो वासिङ्टन भ्रमण हो । यसअघि भएको भेटपछि अमेरिका र इरानबीच लामो समयसम्म तनाव र सैन्य द्वन्द्व चर्किएको थियो । प्रतिवेदनअनुसार ट्रम्पको दोस्रो कार्यकालको सुरुआतमा दुवै नेता अधिकांश विषयमा सहमत देखिए पनि पछिल्ला साताहरूमा केही मुद्दामा मतभेद सार्वजनिक भएका छन् । ट्रम्पले एक समय नेतान्याहूलाई ‘पागल’ सम्म भनेका थिए भने ‘मबिना इजरायल नै हुँदैनथ्यो’ भन्ने अभिव्यक्ति पनि दिएका थिए । इरानसँग भएको युद्धविरामसम्बन्धी सहमति तथा होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा नेतान्याहूसँग पूर्वपरामर्श नगरिएको दाबी गरिएको छ । त्यसैगरी साउदी अरेबियासँग सम्भावित आणविक ऊर्जा सहकार्य र टर्कीलाई एफ–३५ लडाकु विमान बिक्री गर्ने अमेरिकी योजनाप्रति पनि इजरायली अधिकारीहरूले असन्तुष्टि जनाएका छन् । यद्यपि ट्रम्पले अमेरिका कसलाई के बिक्री गर्ने भन्ने निर्णय अरू कसैले निर्धारण गर्न नसक्ने बताएका छन् । इरानसम्बन्धी मतभेदबारे सोधिएको प्रश्नमा उनले केही विषयमा फरक धारणा भए पनि अधिकांश मुद्दामा आफूहरू सहमत रहेको बताए । ट्रम्प र जेलेन्स्कीबीच यसअघि पनि यही महिनाको सुरुआतमा टर्कीको अङ्कारामा भएको उत्तर एटलान्टिक सन्धि संगठनको शिखर सम्मेलनका क्रममा भेट भएको थियो । यसपटकको भेटमा रुस–युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित उपाय र युक्रेनलाई आवश्यक हतियार तथा क्षेप्यास्त्र आपूर्तिबारे विस्तृत छलफल भएको बताइएको छ । हालैका साताहरूमा जेलेन्स्कीले युक्रेनमा हतियारको अभावका कारण रुसी आक्रमणको जोखिम बढेको भन्दै अमेरिकासँग तीव्र गतिमा सैन्य सहायता उपलब्ध गराउन आग्रह गर्दै आएका छन्। यसअघि ट्रम्पले युक्रेनलाई प्याट्रियट प्रतिरक्षा क्षेप्यास्त्र अवरोधक स्वदेशमै उत्पादन गर्न अनुमति दिने घोषणा गरेका थिए । युक्रेनले लामो समयदेखि यस्तो अनुमति माग गर्दै आएको थियो ।
१५- फ्रान्स फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा फ्रान्सका महान् पूर्वखेलाडी जिनेदिन जिदानलाई नियुक्त गरेको छ । उनले लामो समयदेखि टोली सम्हालिरहेका डिडिए डेशचाम्पको स्थान लिएका हुन् । फ्रान्स फुटबल महासंघका अध्यक्ष फिलिप डियालोले महासंघको मुख्यालयमा आयोजित कार्यक्रममा जिदानको नियुक्तिको घोषणा गर्दै उनलाई चार वर्षको जिम्मेवारी दिइएको जानकारी दिए । डियालोले जिदान फ्रान्सेली फुटबलका महान् हस्ती भएको उल्लेख गर्दै राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने उनको सपना अन्ततः पूरा भएको बताए । ५४ वर्षीय जिदान सन् २०२१ मा स्पेनको रियल मड्रिडको प्रशिक्षक पदबाट राजीनामा दिएपछि कुनै पनि टोलीको जिम्मेवारीमा थिएनन् । उनी लामो समयदेखि डेशचाम्पका स्वाभाविक उत्तराधिकारीका रूपमा हेरिँदै आएका थिए । नियुक्तिपछि जिदानले राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्न पाउदा अत्यन्त खुशी लागेको बताए । उनले पछिल्ला पाँच वर्षमा विभिन्न क्लबबाट आएका प्रस्ताव अस्वीकार गरेको स्मरण गर्दै आफूले फ्रान्सकै टोली सम्हाल्ने इच्छा राखेकाले अन्य अवसर नस्वीकारेको बताए । उनले राष्ट्रिय टोलीलाई सफल बनाउन आफ्नो सम्पूर्ण अनुभव र क्षमता प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पूर्वप्रशिक्षक डेशचाम्पको योगदानको पनि प्रशंसा गरे । फ्रान्स फुटबल महासंघका अनुसार डेशचाम्पले सन् २०२६ को विश्वकपपछि पद छाड्ने निर्णय गरेपछि जिदानसँग सन् २०२५ को फेब्रुअरीमै प्रारम्भिक छलफल भएको थियो । जिदानले खेलाडी जीवनमा आफू अग्रपङ्क्तिका सिर्जनात्मक खेलाडी भएकाले आकर्षक र आक्रामक फुटबल मनपर्ने बताए । मैदानमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव अब प्रशिक्षकका रूपमा पनि प्रयोग गर्ने उनको भनाइ थियो । डेशचाम्पले सन् २०१२ देखि लगातार १४ वर्ष फ्रान्सको नेतृत्व गरेका थिए । उनको प्रशिक्षणमा फ्रान्सले सन् २०१८ को विश्वकप जितेको थियो भने सन् २०२२ को विश्वकप र सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा उपविजेता बनेको थियो । अब जिदानको पहिलो चुनौती यसै शरद ऋतुमा हुने युरोपेली नेसन्स लिग हुनेछ । त्यसपछि उनले सन् २०२८ को युरोपियन च्याम्पियनसिप छनोट प्रतियोगितामा फ्रान्सको नेतृत्व गर्नेछन् । फ्रान्सले समूह चरणमा टर्की, बेल्जियम र इटालीसँग प्रतिस्पर्धा गर्नेछ भने पहिलो खेल सेप्टेम्बर २५ मा टर्कीसँग खेल्ने तालिका छ । खेलाडी जीवनमा जिदानले सन् १९९८ को विश्वकपको फाइनलमा ब्राजिलविरुद्ध दुई गोल गर्दै फ्रान्सलाई पहिलो पटक विश्वविजेता बनाएका थिए । त्यसपछि उनले सन् २००० को युरोपियन च्याम्पियनसिप पनि जितेका थिए । सन् २००६ को विश्वकपमा उत्कृष्ट खेलाडी घोषित भएका जिदान इटालीविरुद्धको फाइनलमा प्रतिद्वन्द्वी खेलाडी मार्को मातेरात्सीलाई टाउकोले हिर्काएपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । सोही वर्ष उनले खेलाडी जीवनबाट सन्यास लिएका थिए । प्रशिक्षकका रूपमा पनि जिदानले उल्लेखनीय सफलता हासिल गरेका छन्। उनले सन् २०१६ देखि २०१८ सम्म लगातार तीन पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जिताएका थिए भने रियल मड्रिडलाई दुई पटक स्पेनी शीर्ष डिभिजनको उपाधिसमेत दिलाएका थिए । यस वर्षको विश्वकपमा उपाधिको प्रमुख दाबेदार मानिएको फ्रान्स सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित हुँदै बाहिरिएको थियो । त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डसँग ६–४ ले पराजित भएको थियो ।
१६- बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा आज बिहान करिब ९ बजे उनीहरू फसेका थिए। प्रहरीले जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएर तीनै जनालाई मृत अवस्थामा बाहिर निकालेको थियो। उक्त शवहरू परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–३ बस्ने अन्दाजी ४० वर्षीय कालु थारु, अन्दाजी २६ वर्षीय प्रकाश थारु र अन्दाजी ३३ वर्षीय बिर्जा थारु रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१७- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले श्रेष्ठको योगदानको उच्च सम्मान गर्दै विभिन्न शोक कार्यक्रमसमेत घोषणा गरेको छ । कांग्रेसले जारी गरेको शोक प्रस्तावमा ७९ वर्षीय श्रेष्ठको साउन १२ गते ललितपुरको जावलाखेलस्थित हेलिस अस्पतालमा उपचारका क्रममा निधन भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना गरिएको छ। साथै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । कांग्रेसले श्रेष्ठ विद्यार्थी जीवनदेखि नै पार्टी राजनीतिमा सक्रिय रहँदै लोकतन्त्रको स्थापना, पुनःस्थापना र सुदृढीकरणका लागि भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको जनाएको छ। पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्ने क्रममा उनले पटक–पटक गरी करिब छ वर्ष जेल जीवनसमेत बिताएको कांग्रेसले स्मरण गरेको छ । श्रेष्ठ वि.सं. २०४८, २०५६ र २०६४ मा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसैगरी, वि.सं. २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेका थिए ।
१८- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको एक हजारले घटेर २ लाख ८३ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८४ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर तोलाको ४३२० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४३१० मा कारोबार भएको थियो ।
१९- कपिलवस्तुको महाराजगंज नगरपालिका गैडवा चोकमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । ना ५ ख २३६४ नम्बरको ट्कको ठक्करबाट सडक किनारमा साइकल बनाउँदै गरेका २ सर्वसाधारण र एक बालकको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा महाराजगंज नगरपालिका ३ गनवरियनका ७० वर्षीय र्घोल्लर कुर्मी र ४५ वर्षीय विजय कुमार गुप्ता रहेका छन्। यसैगरी सोही ट्रकको ठक्करबाट महाराजगंज नगरपालिकाका स्थानीय १२ वर्षीय बालक आनन्द कश्यपको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक ३ जनाको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको र ट्रक चालक प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
२०- जापानको कुमामोटो प्रान्तमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले भूकम्पका कारण ज्यान गुमाउनेको संख्या बढेर १३ पुगेको पुष्टि गरेकी हुन् । भूकम्पपछि सबैभन्दा प्रभावित बनेको एयोन मलमा खोज तथा उद्धार कार्य रातभर जारी रहेको छ । स्थानीय प्रशासनका अनुसार मलभित्र विस्फोट भएको र भवनको दोस्रो तला भत्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । कुमामोटो प्रान्तकी जनसम्पर्क अधिकारी आकिनो सोनोडाका अनुसार एयोन मलबाट हालसम्म आठ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जनाको अवस्था मध्यम गम्भीर, एक जनालाई सामान्य चोट लागेको छ भने एक जना हृदय र श्वासप्रश्वास बन्द भएको अवस्थामा फेला परेका छन् । यसअघि चार जनाको उद्धार भएको र १० जना सम्पर्कविहीन रहेको जानकारी सार्वजनिक गरिएको थियो । अहिले भवनभित्र फसेका तथा हराइरहेकाहरूको वास्तविक संख्या यकिन गर्ने काम भइरहेको अधिकारीहरूले जनाएका छन् । भूकम्पपछि जापानको अग्नि नियन्त्रण विभाग, प्रहरी र आत्मरक्षा बलले संयुक्त रूपमा रातभर उद्धार अभियान सञ्चालन गरिरहेका छन् । मंगलबार स्थानीय समयअनुसार अपराह्न ४: २७ बजे गएको भूकम्पको प्रारम्भिक तीव्रता जापान मौसम विज्ञान एजेन्सीले ७.१ मापन गरेको थियो । पछि अमेरिकी भूगर्भीय सर्वेक्षणले यसको तीव्रता ६.८ रहेको जनाएको छ । यसैबीच, कुमामोटोको दक्षिणमा रहेको यात्सुशिरो सहरस्थित कागज उद्योगको चिम्नी भत्किँदा नौ जना अझै बेपत्ता छन् । भूकम्पका कारण कुमामोटो सहरका हजारौं घरमा विद्युत् र खानेपानी सेवा अवरुद्ध भएको छ। कम्तीमा ४५ वटा स्वास्थ्य संस्था प्रभावित भएका छन् भने १७औँ शताब्दीमा निर्माण गरिएको ऐतिहासिक किल्लाको बाहिरी पर्खालसमेत भत्किएको छ । प्रधानमन्त्री ताकाइचीले उद्धार तथा राहतका लागि तीन हजार ६ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिँदै प्रभावित क्षेत्रमा क्षतिको मूल्यांकन र उद्धार कार्य रातभर निरन्तर सञ्चालन हुने बताइन् । प्रत्यक्षदर्शीहरूले भूकम्प अत्यन्त शक्तिशाली रहेको बताएका छन् । एक जनाले भूकम्पका बेला टेलिभिजन आफूमाथि खसेको बताए भने अर्काले भवन नै तरल पदार्थझैँ हल्लिएको अनुभूति भएको बताएका छन् । स्थानीयवासीहरूले मुख्य भूकम्पपछि लगातार परकम्प महसुस भइरहेको बताएका छन् । जापान मौसम विज्ञान एजेन्सीका अधिकारी शिन्जी कियोमोतोले थप शक्तिशाली परकम्प आउन सक्ने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले सन् २०१६ मा यही कुमामोटो क्षेत्रमा केही दिनको अन्तरमा आएका भूकम्पहरूको शृंखलामा २७८ जनाको मृत्यु भएको घटनाको स्मरणसमेत गराएका छन् ।


