दाङ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीले लोकतन्त्रलाई नै दूर्घटनामा पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
संसद, मिडिया र स्वयं आफ्नै पार्टीसँग पनि सात्क्षात्कार नगर्ने उनको शैलीले उनिको लोकतन्त्रप्रतिको प्रतिबद्धतामा सन्देश पैदा गरेको पोख्रेलको भनाई थियो ।
नेपाल प्रेस युनियन दाङ शाखाको बैठकलाई सम्बोधन गर्दै पोख्रेलले भने, ‘प्रधानमन्त्री संसदमा पनि जाँदैनन्, सञ्चारमाध्यमसँग पनि सम्बाद गर्दैनन् र स्वयं आफ्नै पार्टीको बैठक बस्दा उनि निजी भ्रमणमा निस्कन्छन् । उनको यो व्यवहारले राम्रो संकेत गरिरहेको छैन ।’
नेपालमा संसदीय बहुदलीय लोकतन्त्रको अभ्यास हुनुपर्ने कुरा संबिधानमै लेखेको स्मरण गराउँदै पोख्रेलले प्रधानमन्त्रीले संसदलाई पनि उपेक्षा गर्नु, आफ्नो दलप्रति पनि जवाफदेही हुन नखोज्नु र मिडियासँगको अन्तरक्रिया मार्फत पारदर्शी शासन अभ्यासलाई पनि महत्व नदिनुले उनी संबिधानको भावनामाथी नै खेलवाड गर्दैछन् भन्ने सन्देश दिइरहेको बताए ।
‘प्रधानमन्त्रीको भनाई उनको सामाजिक सञ्जालबाट ल्याउनु पर्ने अबस्थामा मिडिया हुनु दूर्भाग्यपूर्ण हो’ पोख्रेलले भने ‘अब मिडियाले पनि प्रधानमन्त्रीसँगको साक्षात्कार नुहँदै उनको भनाईलाई स्थान नदिने गरी सोच्नु पर्ने बेला भएको छ ।’
सरकारी सूचना र आफ्नो कुरा आमसञ्चारमाध्यममा नदिएर आफ्नो सामाजिक सञ्जालमा राख्नुले प्रधानमन्त्रीको प्राथमिकतामा मिडिया पर्दैनन् भन्ने सन्देश दिइरहेको बुझ्न सकिने पनि पोख्रेलले बताए ।
प्रेस युनियन दाङ शाखाका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा बसेको बैठकले युनियनको जिल्ला अधिबेशन यही १३ गते गर्ने निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्ने क्रममा युनियनका केन्द्रिय सल्लाहकार समेत रहेका पोख्रेलले पत्रकारिताको बिश्वास बढाउने र नागरिकलाई अफवाहबाट मुक्त गराउने सन्दर्भमा बिशेष अभियान थाल्नु पर्नेमा समेत जोड दिएका थिए ।


