प्याब्सनबाट तत्काल ३ लाख सहयोग, १० करोड संकलन गरेर दिने लक्ष्य – Kanika Khabar
Sunday, August 30Nepali News Portal

प्याब्सनबाट तत्काल ३ लाख सहयोग, १० करोड संकलन गरेर दिने लक्ष्य

    मा प्रकाशित

काठमाडौं । बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन प्याब्सनका विभिन्न तहका ९ सदस्यीय टोली नुवाकोट पुगेर तत्काल राहत तथा मानवीय सहयोग गरी फर्किएको छ। केन्द्रीय प्याब्सनका उपाध्यक्ष तथा प्राकृतिक प्रकोप तथा बिपत ब्यबस्थापन समितिका संयोजक रविन्स शर्माको नेतृत्वमा पुगेको टोलीले तत्काल ३ लाख रुपैयाँ सहयोग गर्दै प्रभावित नागरिकलाई खाना खुवाउने व्यवस्था गरेको हो।

टोलीमा केन्द्रीय उपाध्यक्ष तथा कानुन विभाग संयोजक आशिष श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष थकिन गुरुङ, प्याब्सन सचिवालय सदस्य तथा विपद् व्यवस्थापन समिति सचिव प्रल्हाद खनाल, प्याब्सन जिल्ला सचिव ललितपुरका सुन्दर कुमार श्रेष्ठ, ललितपुर महानगरपालिका प्याब्सन अध्यक्ष अर्जुन महर्जन, गोदावरी नगरपालिका प्याब्सन अध्यक्ष जलकृष्ण सिंह र गोदावरी नगरपालिका प्याब्सन उपाध्यक्ष पबिन थापालगायत सहभागी थिए। टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्था अवलोकन गर्दै स्थानीय प्याब्सन, सरोकारवाला तथा प्रभावित नागरिकसँग प्रत्यक्ष संवादसमेत गरेको थियो ।

नुवाकोट पुगेर फर्किएको टोलीले प्रभावित क्षेत्रको अवस्था अझै संवेदनशील रहेको र तत्कालीन राहतसँगै थप सहयोग आवश्यक रहेको जनाएको छ। नुवाकोट प्याब्सनका जिल्ला अध्यक्ष पुरुषोत्तम अधिकारीले केन्द्रीय प्याब्सनबाट प्राप्त ३ लाख रुपैयाँ सहयोग प्रभावित नागरिकको आवश्यकता पहिचान गरी परिचालन गरिएको बताए।

उनले प्राप्त सहयोगबाट प्रभावित नागरिकलाई खाना खुवाउने व्यवस्था गरिएको जानकारी दिँदै भने, “विपद्को समयमा प्राप्त सहयोगले पीडित नागरिकलाई तत्काल राहत र ठूलो हौसला मिलेको छ। प्राप्त रकमलाई स्थानीय आवश्यकताअनुसार परिचालन गरेका छौँ। अझै पनि धेरै नागरिकलाई सहयोग आवश्यक रहेकाले आगामी दिनमा थप राहतका कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था छ।” अधिकारीले केन्द्रीय टोली आफैं प्रभावित क्षेत्रमा पुगेर अवस्था बुझ्नुले राहत व्यवस्थापनमा थप सहजता भएको बताए।

बाढी–पहिरोपछि केन्द्रीय प्याब्सनले आपत्कालीन बैठक बसेर देशभरका सदस्य विद्यालयलाई राहत अभियानमा जोड्ने निर्णय गरिसकेको छ। सोहीअनुसार प्याब्सनले १० करोड रुपैयाँ संकलन गर्ने तयारी अघि बढाएको छ। राहत संकलनका लागि देशभरका सदस्य विद्यालयलाई सर्कुलर जारी गर्दै विपद्को यस कठिन घडीमा एकजुट हुन र आफ्नो क्षमताअनुसार सहयोग गर्न आह्वान गरिएको छ। विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकलाई समेत अभियानमा सहभागी गराउने प्याब्सनको योजना छ।

संकलित रकमलाई प्रभावित नागरिकको तत्कालीन राहत, पुनःस्थापना तथा प्रभावित विद्यार्थी र विद्यालयको शैक्षिक निरन्तरतामा आवश्यकताअनुसार परिचालन गर्ने तयारी गरिएको छ।
केन्द्रीय प्याब्सन संयोजक रविन्स शर्माले नुवाकोट पुगेर प्रभावित नागरिकको अवस्था प्रत्यक्ष रूपमा देखेपछि प्याब्सनको सामाजिक जिम्मेवारी अझ बढेको बताए। उनले भने, “हामी नुवाकोट पुगेर प्रभावित नागरिकको अवस्था नजिकबाट देखेर आएका छौँ। तत्काल ३ लाख रुपैयाँ सहयोग गरेर खाना खुवाउने व्यवस्था गरेका छौँ, तर यो सुरुवात मात्र हो। अब देशभरका सदस्य विद्यालयसँग समन्वय गरेर १० करोड रुपैयाँ संकलन गर्ने तयारीमा छौँ। यो विपत्तिमा सम्पूर्ण प्याब्सन परिवार एकजुट भएर पीडित नागरिकको साथमा उभिनुपर्छ।” शर्माले तत्कालीन राहतसँगै प्रभावित विद्यार्थी, परिवार तथा विद्यालयको पुनःस्थापनाका लागि थप कार्यक्रम अघि बढाइने बताए। नुवाकोट पुगेर प्रत्यक्ष राहत सहयोग गरेको केन्द्रीय प्याब्सनले अब १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्यसहित देशभरका सदस्य विद्यालयलाई एउटै मानवीय अभियानमा जोड्ने तयारी गरेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्