प्युठान। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कालिका अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले देशभर सञ्चालन गरेको विपद् राहत सहयोग अभियानमा ऐक्यबद्धता जनाउँदै विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालयको सहभागितामा रकम सङ्कलन गरिएको थियो। सङ्कलित रकम प्याब्सनका प्युठानका सचिव शरद गौतममार्फत हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार विद्यार्थीबाट ५२ हजार १ सय ५० रुपैयाँ, शिक्षक तथा कर्मचारीबाट ८५ हजार ३ सय ५३ रुपैयाँ र विद्यालयको तर्फबाट १ लाख ९ हजार ४ सय ६७ रुपैयाँ सङ्कलन भएको थियो।
सङ्कलित रकम जिल्ला प्याब्सनमार्फत केन्द्रीय प्याब्सन हुँदै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको विद्यालयका प्रिन्सिपल दुर्गा बहादुर गुरुङले जानकारी दिए ।
बाढीबाट प्रभावित परिवारको पीडामा साथ दिँदै उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले विद्यालय परिवारले अभियानमा सहभागिता जनाएको हो। विपद्का समयमा पीडितप्रति मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले अभियानमा सहभागी भएको विद्यालयले जनाएको छ।
प्याब्सनको देशव्यापी राहत अभियानमा विद्यालय परिवारको सहभागिताले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्नुका साथै राहत तथा पुनःस्थापनाका लागि सहयोग पुग्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।


