काठमाडौँ । यमनको मोखा क्षेत्र कब्जामा लिएपछि हुथी विद्रोहीले यमनको सम्पूर्ण लाल सागर तटीय क्षेत्रमा नियन्त्रण कायम गरेको दाबी गरेको छ ।
मोखामा कब्जापछि हुथी लडाकुले अन्तर्राष्ट्रिय जल यातायातलाई आफूबाट डराउनुपर्ने अवस्था नरहेको बताउँदै आएका छन् । उनीहरूले लाल सागर र बाब अल मन्देब जलडमरूमध्यमा जहाजको सुरक्षित आवागमन जारी राख्न सकिने बताएका छन् । तर, साउदी अरबसँग सम्बन्धित जहाज भने हुथी सशस्त्र समूहको नौसैनिक नाकाबन्दीको दायरामा रहने बताएका छन् ।
हुथी विद्रोहीले यसअघि पनि लाल सागरमा अन्तर्राष्ट्रिय जल यातायातका लागि खतरा सिर्जना गर्ने क्षमता देखाइसकेका छन् । आफ्नो वर्तमान चेतावनीलाई साउदी अरबसँग सम्बन्धित जहाजमा मात्र सीमित गरेर उनीहरूले अमेरिकी जहाजलाई तत्काल निशाना नबनाउने र परिस्थितिलाई ठूलो द्वन्द्वमा परिणत गर्ने तत्कालको योजना नरहेको संकेत दिन खोजेको हुन सक्ने विश्लेषण गरिएको छ ।
यसले अमेरिकी प्रतिक्रियालाई लिएर पनि चासो बढाएको छ । साउदी युवराज मोहम्मद बिन सलमानले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुथी विद्रोहीविरुद्ध प्रत्यक्ष अमेरिकी सैन्य सहयोग मागेको बताइएको छ । तर, अमेरिकाले त्यसलाई अस्वीकार गरेको बताइएको छ ।
अमेरिकाले भने गुप्तचर सूचना तथा सम्भावित लक्ष्य पहिचानमा सहयोग गर्ने प्रस्ताव गरेको छ । तर तत्काल प्रत्यक्ष सैन्य कारबाहीमा सहभागी हुन तयार नरहेको जनाएको छ । ट्रम्प प्रशासन इरान र होर्मुज जलडमरूमध्यमा केन्द्रित भइरहेका बेला अर्को मोर्चा खोल्नबाट बच्न खोजिरहेको देखिएको छ ।
त्यसैले हुथी विद्रोहीले साउदी अरब र उसको महत्वपूर्ण लाल सागरस्थित तेल आपूर्ति मार्गमा दबाब बढाउने, तर अमेरिकालाई प्रत्यक्ष द्वन्द्वमा प्रवेश गर्ने तत्काल कारण नदिने रणनीति अपनाएको हुन सक्ने विश्लेषण गरिएको छ । यद्यपि, द्वन्द्व थप चर्किएमा यस्तो दूरी कायम राख्न उनीहरू सफल हुन्छन् वा हुँदैनन् भन्ने प्रश्न भने कायमै रहेको छ ।
यसैबीच, एएफपीका अनुसार यमनी सैन्य अधिकारीले हुथी विद्रोहीले यमनको सम्पूर्ण लाल सागर तटमा नियन्त्रण कायम गरेको बताएका छन् ।
अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारसँग सम्बन्धित ती अधिकारीले पश्चिमी तटमा सरकारको नियन्त्रणमा रहेका सबै क्षेत्र आफ्नो नियन्त्रणबाट बाहिरिएको बताएका छन् । ती सैन्य अधिकारीका अनुसार हुथी विद्रोहीले बाब अल मन्देब जलडमरूमध्यमा रहेका थप दुईवटा टापुमा समेत कब्जा जमाएका छन् ।


