नेपाली काङ्ग्रेस दाङ २(२) को सभापतिमा रजौरेले बस्नेतलाई समर्थन गर्ने – Kanika Khabar
Saturday, September 26Nepali News Portal

नेपाली काङ्ग्रेस दाङ २(२) को सभापतिमा रजौरेले बस्नेतलाई समर्थन गर्ने

    मा प्रकाशित

दाङ । नेपाली काङ्ग्रेस १५औँ महाधिवेशनअन्तर्गत दाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २(२) को सभापति पदमा आकाङ्क्षी कुलप्रसाद रजौरे (श्रवण) ले अर्का आकाङ्क्षी अभियान बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका छन्।

शनिबार आयोजित एक भेलामा रजौरेले आफू सभापति पदमा उम्मेदवारी नदिने र बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका हुन्।

भेलामा बोल्दै रजौरेले पार्टीको संगठनलाई थप सुदृढ बनाउँदै अघि बढ्न आपसी सहकार्य र एकताको आवश्यकता रहेको बताए। उनले आफ्नो उम्मेदवारीलाई स्थगित गर्दै अभियान बस्नेतलाई सभापति पदमा समर्थन गर्ने निर्णय गरेको जानकारी दिए।

रजौरेको समर्थनसँगै दाङ–२(२) को सभापति पदको निर्वाचनमा अभियान बस्नेतको उम्मेदवारी थप चर्चामा आएको छ। आगामी महाधिवेशनमा क्षेत्रीय संगठनलाई प्रभावकारी रूपमा अघि बढाउने विषयलाई प्राथमिकतामा राखेर आफूहरू अघि बढ्ने बताइएको छ।

बस्नेतले आफू व्यक्ति जिताउनेभन्दा पनि संगठन बलियो बनाउने उद्देश्यका साथ अघि बढेको बताएका छन्। उनले भने, “यो मेरो व्यक्तिगत पदको आकाङ्क्षा मात्र होइन, नेपाली कांग्रेसलाई अझ सुदृढ, गतिशील र जनमुखी बनाउने अभियान हो। साथीहरूको विश्वास, अग्रजहरूको मार्गदर्शन र कार्यकर्ताको भावनालाई आत्मसात् गर्दै सबैलाई समेटेर संगठन निर्माण गर्ने मेरो प्रतिबद्धता हो।”

उनले रजौरेको समर्थनलाई व्यक्तिगत समर्थनभन्दा पनि संगठनभित्रको सहकार्य, एकता र विश्वासको सन्देशका रूपमा लिएको बताए। “हामीबीचको सहमति र सहकार्यले कांग्रेसलाई थप मजबुत बनाउनेछ। निर्वाचनपछि पनि सबै साथीहरूलाई साथमा लिएर अघि बढ्नेछु। कसैलाई पराजित गर्ने होइन, सबैलाई जोडेर संगठनलाई विजयी बनाउने हाम्रो लक्ष्य हो,” बस्नेतले भने।

रजौरे र बस्नेतबीच सहमति कायम गराउन घोराही उपमहानगरपालिका–९ का निवर्तमान सभापति तथा क्षेत्रीय प्रतिनिधि महेन्द्र दाहालले पहल गरेका थिए।
सहमति निर्माणका लागि पहल गरेका दाहालले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई सहकार्यमा रूपान्तरण गर्दै संगठनलाई एकताबद्ध बनाउनु आवश्यक रहेको बताएका छन्। सहमतिको वातावरणले आगामी महाधिवेशनमा पार्टी संगठनलाई थप मजबुत बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्