बीबीए र आईटीका विद्यार्थीलाई व्यावसायिक नेतृत्वसँग जोड्दै नोभा कलेज – Kanika Khabar
Friday, October 9Nepali News Portal

बीबीए र आईटीका विद्यार्थीलाई व्यावसायिक नेतृत्वसँग जोड्दै नोभा कलेज

    मा प्रकाशित

घोराही । नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कलेजका अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विभिन्न क्षेत्रको नेतृत्व गरिरहेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक सेठी, चार्टर्ड एकाउन्टेन्ट कैलाश खत्री तथा बैंक म्यानेजरहरू शिशिर सुवेदी, चित्रबहादुर ओली र केशवराज तिवारीले विद्यार्थीहरूसँग विषयगत छलफल गरेका थिए। उनीहरूले व्यावसायिक अनुभव, नेतृत्व क्षमता, वित्तीय व्यवस्थापन, बैंकिङ सेवा, सूचना प्रविधिको प्रयोग तथा मुलुकको आर्थिक विकासमा बीबीए र आईटी शिक्षाको भूमिकाबारे आफ्ना अनुभव र धारणा राखेका थिए।
कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै कलेज प्रमुख केशरमान बुढाथोकीले विद्यार्थीलाई कक्षाकोठामा प्राप्त हुने ज्ञानलाई वास्तविक कार्यक्षेत्रसँग जोड्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार व्यावसायिक क्षेत्रमा स्थापित व्यक्तिहरूसँग प्रत्यक्ष संवाद गर्न पाउँदा विद्यार्थीले आफ्नो विषयको उपयोगिता, रोजगारीका सम्भावना र भविष्यमा अपनाउनुपर्ने व्यावसायिक मार्गबारे स्पष्ट धारणा बनाउन सक्छन्।
प्रमुख अतिथि प्रियासनले भने— ‘पढाइलाई सीप, उद्यमशीलता, उत्पादन र प्रविधिसँग जोड्नुपर्छ’
कार्यक्रमका प्रमुख अतिथि सविन प्रियासनले शिक्षालाई प्रमाणपत्र प्राप्त गर्ने माध्यममा मात्र सीमित नराखी सीप, सिर्जनशीलता, उद्यमशीलता, उत्पादन, प्राविधिसँग जोड्नुपर्ने बताए। उनले बीबीए र आईटी अध्ययन गरिरहेका विद्यार्थीले आफूले प्राप्त गरेको ज्ञानलाई समाजका समस्या समाधान गर्न तथा देशभित्रै रोजगारी र व्यवसायका अवसर सिर्जना गर्न प्रयोग गर्नुपर्नेमा जोड दिए।
उनले भने, “हामीले पढेको शिक्षा व्यवहारमा लागू हुन सक्यो भने मात्रै त्यसको वास्तविक अर्थ हुन्छ। बीबीए पढेका विद्यार्थीले व्यवसाय सञ्चालन, व्यवस्थापन, बजार विस्तार र रोजगारी सिर्जनामा योगदान दिन सक्छन् भने आईटी पढेका विद्यार्थीले प्रविधिको माध्यमबाट सेवा प्रवाहलाई सहज, प्रभावकारी र पारदर्शी बनाउन सक्छन्।”
प्रियासनले नेपालमा सम्भावना नभएर मात्र विकास हुन नसकेको भन्ने भाष्यलाई परिवर्तन गर्नुपर्ने धारणा राख्दै उपलब्ध स्रोत, सीप, प्रविधि र जनशक्तिको उचित उपयोग गर्न सके मुलुकभित्रै धेरै अवसर सिर्जना गर्न सकिने बताए। विद्यार्थीलाई जागिर खोज्ने जनशक्तिमा मात्र सीमित नराखी अरूलाई समेत रोजगारी दिन सक्ने उद्यमी, सिर्जनशील नागरिक र जिम्मेवार नेतृत्वका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।
उनले विद्यार्थी जीवनदेखि नै अनुशासन, इमानदारी, मेहनत, सकारात्मक सोच र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिन आग्रह गर्दै व्यावसायिक सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई समाज र राष्ट्रको समृद्धिमा समेत योगदान पुर्‍याउने खालको हुनुपर्ने बताए।
व्यावसायिक अनुभवबाट विद्यार्थीलाई मार्गदर्शन
प्यानल छलफलमा सहभागी सीईओ दीपक सेठी, चार्टर्ड एकाउन्टेन्ट कैलाश खत्री तथा बैंक म्यानेजरहरू शिशिर सुवेदी, चित्रबहादुर ओली र केशवराज तिवारीले आ–आफ्नो कार्यक्षेत्रका अनुभवका आधारमा विद्यार्थीहरूलाई मार्गदर्शन गरेका थिए।
छलफलमा बीबीए र आईटीको अध्ययनले मुलुकको आर्थिक तथा सामाजिक विकासमा कसरी योगदान पुर्‍याउन सक्छ, व्यावसायिक क्षेत्रमा प्रवेश गर्दा कस्ता सीप आवश्यक पर्छन् र बदलिँदो समयअनुसार विद्यार्थीले आफूलाई कसरी सक्षम बनाउन सक्छन् भन्ने विषयमा विचार आदानप्रदान गरिएको थियो।
वित्तीय अनुशासन, प्रभावकारी व्यवस्थापन, प्रविधिमैत्री सेवा, व्यावसायिक नैतिकता, नेतृत्व क्षमता र निरन्तर सिकाइको महत्त्वबारे पनि छलफल गरिएको थियो। विद्यार्थीले आफ्नो अध्ययनलाई व्यावहारिक ज्ञानसँग जोड्दै समयअनुसार आवश्यक सीप विकास गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।
कार्यक्रमले विद्यार्थीलाई अनुभवी व्यावसायिक व्यक्तित्वहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्नुका साथै अध्ययनपछि अपनाउन सकिने सम्भावित करियर, उद्यमशीलता र व्यावसायिक विकासका विषयमा जानकारी हासिल गर्न सहयोग पुर्‍याएको कलेजले जनाएको छ।
शिक्षा र व्यावसायिक क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै विद्यार्थीलाई भविष्यका लागि सक्षम जनशक्तिका रूपमा तयार पार्न यस्ता कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्