आज दिनभरका प्रमुख २० समाचार बुलेटिन – Kanika Khabar
Saturday, October 10Nepali News Portal

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    मा प्रकाशित

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रालयले नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा प्रयोग भइरहेका नेलिस, एलआरएमआईएस तथा मेरो कित्ता व्यवस्थापनका लागि खरिद गरिएका हार्डवेयर र सफ्टवेयरको वास्तविक अवस्था अध्ययन गर्न समिति गठन गरेको हो । मन्त्रालयको २०८३ भदौ २३ गतेको निर्णयअनुसार गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। समितिले खरिद गरिएका हार्डवेयर तथा सफ्टवेयरको वास्तविक अवस्था, प्रयोग, गुणस्तर र उपयोगिताबारे अध्ययन गर्नेछ । मन्त्रालयका सहसचिव धोलकराज ढकालको संयोजकत्वमा गठित समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना प्रविधि निर्देशक प्रतिनिधि, मन्त्रालयका उपसचिव देवेन्द्र सापकोटा, उपसचिव रामचन्द्र रेग्मी, लेखा अधिकृत दिगम्बर रिजाल र शाखा अधिकृत लोकमणि खनाल सदस्य छन् । कम्प्युटर इन्जिनियर दुबेश श्रेष्ठ सदस्य सचिव रहेका छन् । समितिलाई हार्डवेयर तथा सफ्टवेयर खरिदसम्बन्धी सम्पूर्ण विवरण र कागजात अध्ययन गर्ने जिम्मेवारी दिइएको छ। त्यस्तै, खरिद प्रक्रिया प्रचलित मापदण्डअनुसार भए/नभएको जाँच गर्ने र खरिद गरिएका उपकरण तथा सफ्टवेयरको वास्तविक अवस्था, प्रयोग, गुणस्तर र उपयोगिताको स्थलगत निरीक्षण गर्ने कार्यादेश छ । यसैगरी, खरिद प्रक्रियामा सम्भावित अनियमितता वा सार्वजनिक स्रोतको दुरुपयोग भए/नभएको जाँचबुझ गरी अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सुधारका लागि स्पष्ट सुझावसहित प्रतिवेदन पेस गर्न समितिलाई भनिएको छ । समितिको अध्ययनले भूमि प्रशासनसँग सम्बन्धित डिजिटल प्रणाली तथा तिनका लागि खरिद गरिएका उपकरणको प्रभावकारिता र सार्वजनिक स्रोतको उपयोगबारे वास्तविक अवस्था पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

२- पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको पृथ्वी राजमार्ग आजराति ९ बजेदेखि एकतर्फी र भोलि बिहानदेखि दुईतर्फी खुलाइने भएको छ । सडक विभागका अनुसार अवरुद्ध सडक खुलाउन भित्तापट्टिको भाग काटेर सडक विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको र आज राति ९ बजेदेखि एकतर्फी सवारी आवागमन सञ्चालन गर्ने लक्ष्य राखेको छ। त्यस्तै, भोलि बिहान ७ बजेदेखि दुईतर्फी सञ्चालनका लागि सडक विस्तारको काम सुरु गरिने बताएको छ । मौसम तथा अन्य परिस्थिति अनुकूल रहेमा भोलि साँझ ६ बजेसम्म सडक विस्तार सम्पन्न गरी दुईतर्फी सवारी सञ्चालन गर्ने विभागको योजना छ । विभागले सडक पुनः सञ्चालन नभएसम्म अनावश्यक यात्रा नगर्न र सम्बन्धित निकायले जारी गर्ने सूचना तथा ट्राफिक निर्देशन पालना गर्न यात्रु र सवारी चालकलाई आग्रह गरेको छ ।

३- पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो अनुशासनात्मक कारबाहीको प्रक्रियामा परेपछि अस्थायी रूपमा निलम्बित भएका छन् । पोर्चुगिज फुटबल महासङ्घले अक्टोबर ९, २०२६ मा अनुशासनात्मक अनुसन्धान अघि बढाउने निर्णय गरेसँगै रोनाल्डोमाथि अस्थायी निलम्बन लगाइएको हो । महासङ्घका अनुसार अक्टोबर ७ मा भएका घटनाको अनुशासनात्मक महत्त्वबारे अनुसन्धान गर्न कारबाही प्रक्रिया सुरु गरिएको हो । खेलाडीमाथि यसअघि लागू भएको स्वतः निलम्बनको व्यवस्थाबाहेक थप अस्थायी निलम्बन लगाउने निर्णय गरिएको र प्रक्रियालाई तत्काल अघि बढाउनुपर्ने ठहर गरिएको महासङ्घको विज्ञप्तिमा उल्लेख छ । रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडेको विषयमा सार्वजनिक रूपमा माफी माग्दै आफूलाई सजाय दिन सकिने सङ्केतसमेत दिएका थिए । यद्यपि, उनीमाथि लगाइएको निलम्बनको अवधि र अन्तिम सजायबारे भने निर्णय हुन बाँकी रहेको छ ।

४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस बर्षको नोबेल शान्ति पुरस्कार आफूले नपाएको विषयमा पुनः असन्तुष्टि व्यक्त गर्दै पुरस्कार प्रदान गर्ने निर्णयलाई नर्वेका लागि ‘कहिल्यै नमेटिने दाग’ को संज्ञा दिएका छन् । न्युयोर्कमा आयोजित चुनावी सभामा बोल्दै ट्रम्पले यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नवी पिल्लईलाई दिने निर्णय लज्जास्पद र अपमानजनक भएको टिप्पणी गरेका हुन् । उनले पिल्लईलाई आफूले नचिनेको र उनको नामसमेत नसुनेको बताएका छन् । ट्रम्पले नोबेल शान्ति पुरस्कारको निर्णय प्रक्रियामा संलग्न व्यक्तिहरू लोकतन्त्रविरोधी रहेको आरोप लगाउँदै पुरस्कारको विश्वसनीयता सधैँका लागि गुमेको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय कूटनीतिमा आफूले खेलेको भूमिकाका आधारमा शान्ति पुरस्कार पाउनुपर्ने ट्रम्पले यसअघि पनि बताउँदै आएका थिए । सम्बोधनमा उनले उत्तर कोरिया र दक्षिण कोरियाबीचको तनाव, जापान र उत्तर कोरियाको सम्बन्ध तथा चीन र ताइवानबीचको विवादलगायतका विषयमा आफूले समाधान निकाल्न वा द्वन्द्व रोक्न भूमिका खेलेको दाबी गरे। तर, ती दाबी पुष्टि गर्ने प्रमाण उनले प्रस्तुत गरेनन् । नर्वेजियन नोबेल समितिले सन् २०२६ को नोबेल शान्ति पुरस्कार ८५ वर्षीया नवी पिल्लईलाई शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि प्रदान गर्ने निर्णय गरेको हो । पूर्व अन्तर्राष्ट्रिय फौजदारी अदालतकी न्यायाधीश तथा संयुक्त राष्ट्रसङ्घकी पूर्व मानव अधिकार उच्चायुक्त पिल्लईले दशकौँदेखि मानव अधिकार र अन्तर्राष्ट्रिय न्यायका क्षेत्रमा काम गर्दै आएकी छन् । उनले सन् १९९४ मा रुवान्डामा भएको नरसंहारका दोषीलाई कारबाही गर्न गठित अन्तर्राष्ट्रिय न्यायाधिकरणमा पनि काम गरेकी थिइन् । त्यसैगरी, उनले प्यालेस्टिनी भूभागसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय छानबिन आयोगको नेतृत्व गरेकी थिइन्। उक्त आयोगले गाजामा इजरायलले नरसंहार गरेको निष्कर्ष निकालेको थियो। इजरायलले भने उक्त निष्कर्ष अस्वीकार गर्दै आएको छ । नोबेल समितिले अन्तर्राष्ट्रिय कानुनी प्रणालीमाथि ठूलो दबाब परेको उल्लेख गर्दै कानुनी व्यवस्था र न्यायको सम्मानलाई कमजोर बनाएर शक्ति राजनीतिलाई प्राथमिकता दिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेको छ। नोबेल शान्ति पुरस्कारको निर्णय यस्तो समयमा आएको छ, जतिबेला ट्रम्प प्रशासन र अन्तर्राष्ट्रिय न्यायिक संस्थाबीच तनाव बढिरहेको छ। अमेरिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालतका गतिविधिको विरोध गर्दै आएको छ र उक्त अदालतले इजरायली नेताहरूसँग सम्बन्धित विषयमा गरेको कामलाई लिएर वासिङ्टनले प्रतिबन्धसमेत लगाएको छ ।

५- नेकपा एमालेले केन्द्रीय कमिटीमा १३ जना सदस्य मनोनीत गरेको छ। शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् । बस्नेतका अनुसार मनोनीत हुनेमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोक्का, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन् । त्यस्तै, स्थायी कमिटी बैठकले बाँकी कार्यसूचीका विषयमा उपयुक्त समयमा पार्टी अध्यक्षले बैठक बोलाएर निर्णय गर्ने पनि टुंगो लगाएको उनले बताएका छन् ।

६- भारतको राजधानी नयाँदिल्लीमा प्रदर्शनका क्रममा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल र पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जी तथा तृणमूल कांग्रेसका अन्य सांसदहरूलाई पनि दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध ककरोच जनता पार्टी (सिजेपी) ले आह्वान गरेको प्रदर्शनका क्रममा प्रहरीले केजरीवाल र बेनर्जीसहितका नेताहरुलाई नियन्त्रणमा लिएको हो । प्रदर्शनलाई लक्षित गर्दै दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । शनिबार जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा भएपछि दिल्लीका विभिन्न क्षेत्रमा प्रहरी जाँच बढाइएको छ । राजधानीका सीमावर्ती क्षेत्रमा सवारीसाधन तथा शङ्कास्पद व्यक्तिको जाँच भइरहेको छ । प्रदर्शन सुरु हुनुअघि जन्तरमन्तर र कनट प्लेसलगायतका क्षेत्रमा केही प्रदर्शनकारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनका कारण नयाँदिल्लीको कनट प्लेस क्षेत्रमा पसलहरू बन्द रहेका छन् । सडकमा अवरोध र मार्ग परिवर्तन गरिएकाले सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ । दिल्ली विमानस्थलमा सिजेपीका संस्थापक अभिजित दीपकेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीका ४५ वटा मेट्रो स्टेसन बन्द गरिएको र केही क्षेत्रमा इन्टरनेट सेवा पनि अवरुद्ध गरिएको समाचारमा जनाइएको छ ।

७- नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आफ्नो विजयलाई नयाँ जिम्मेवारीको रुपमा लिएको बताएका छन् । सभापतिमा विजयी भएपछि सानेपास्थित पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै आफुले जिम्मेवारी पाएको रुपमा लिएको बताउदै आफुले पार्टीका काम गर्ने तरिका बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले काँग्रेस छोडेका र असन्तुष्ट रहेका सबैलाई फर्काउने बताउदै आफुहरु इतिहासको ब्याज खान नआएको भन्दै उनले आफुहरुले महाधिवेशनबाट विश्वास जितेर नयाँ इतिहास बनाउन आएको जिकिर गरे । सभापति थापाले भ्रष्टाचारको विषयमा शुन्य सहनशीलताको नीति लिने भन्दै कुनै पनि नेता आफूसहित कुनैकिसिमको अनियमिततामा मुछिएको पाइएमामा त्यसको भारी पार्टीले नबोक्ने स्पष्ट गरे । उनले भने- ‘नौजवानहरूको बीचमा गएर हामी भन्नेछौं, नेपाली कांग्रेससँग गौरवशाली इतिहास छ, तर हामी इतिहासको ब्याज खान आएको होइन, हामी इतिहासलाई रटेर पनि बस्दैनौं । हामी नयाँ इतिहास आफैं रच्छौं । नयाँ इतिहास रच्ने कुराको तागत लिएर हामी अधिवेशनबाट आएका छौं भनेर ती नौजवान साथीहरूका बीचमा जाने छौं ।’ सभापति थापाले आफुलाई सहयोग गरेका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई धन्यवाद दिदै आफुहरुले कांग्रेसमा विगतमा नेताहरुले स्थापित गरेको नेताहरुले झगडा गर्ने प्रवृतिलाई गगन-विश्वको सम्बन्धले पुनर्परिभाषित गर्ने  बताए ।

८- राष्ट्रिय मानव अधिकार आयोगले मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय र विभेदरहित बनाउन सरकारका तीनै तह तथा सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा शनिबार आयोगले मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको अधिकार सुनिश्चित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको हो । यस वर्ष ‘भोगाइलाई सुनौँ, आवाजलाई सम्मान गरौँ, परिवर्तनको सुरुवात गरौँ’ भन्ने नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । आयोगका अनुसार मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिको भोगाइ र आवाजलाई बेवास्ता गर्ने प्रवृत्ति, दुर्व्यवहार र विभेदका कारण उनीहरूको अधिकार संरक्षणमा चुनौती देखिएको छ। मानसिक स्वास्थ्य सेवामा सीमित पहुँच, सामाजिक लाञ्छना, आर्थिक कठिनाइ र मनोसामाजिक सहयोगको अभावले प्रभावित व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रभावित भइरहेको आयोगले जनाएको छ । घरपरिवार र समुदायबाट हुने विभेद, प्राकृतिक प्रकोप तथा विपद् र आर्थिक एवं सामाजिक अवस्थाले पनि मानसिक स्वास्थ्यमा असर पार्ने गरेको आयोगको भनाइ छ । तर, यस्ता समस्या रोकथाम तथा प्रभावित व्यक्तिलाई सहयोग गर्न विशेषगरी समुदायस्तरमा मनोसामाजिक परामर्श दिने जनशक्तिको अभाव रहेको आयोगले औँल्याएको छ । आयोगले नेपालको संविधानको धारा १६ मा व्यवस्था गरिएको सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १८ को उपधारा (२) मा रहेको स्वास्थ्य अवस्थाका आधारमा भेदभावबाट सुरक्षित रहने हक र धारा ३५ मा उल्लेखित स्वास्थ्यसम्बन्धी हकको प्रभावकारी कार्यान्वयन हुन नसकेको जनाएको छ । त्यस्तै, जनस्वास्थ्य सेवा ऐन, २०७५ ले सुनिश्चित गरेका स्वास्थ्यसम्बन्धी अधिकारको प्रभावकारी कार्यान्वयनमा पनि ध्यान दिन आयोगले आग्रह गरेको छ ।

९- परराष्ट्रमन्त्री शिशिर खनालको अस्ट्रेलिया, फिजी र टुभालुको भ्रमण जलवायु परिवर्तनका असरबारे नेपालको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउने, बाढीपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउने र द्विपक्षीय सम्बन्ध विस्तार गर्ने विषयमा केन्द्रित भएको छ । भ्रमणका क्रममा अस्ट्रेलियाले नेपाललाई बाढीपछिको राहत र पुनर्लाभका लागि थप १५ मिलियन अस्ट्रेलियाली डलर सहयोग घोषणा गरेको छ । यससँगै अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता २६ मिलियन अस्ट्रेलियाली डलर पुगेको छ । मन्त्री खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी पूर्वसम्मेलनका उच्चस्तरीय कार्यक्रममा सहभागी भएपछि अस्ट्रेलियाको औपचारिक भ्रमणमा गएका थिए । उनी आगामी नोभेम्बरमा टर्कीको अन्ताल्यामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको तयारीका लागि आयोजित कार्यक्रममा सहभागी भएका हुन् ।  फिजीमा आयोजित उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै खनालले नेपालका हिमाली क्षेत्र र प्रशान्त महासागरका टापु राष्ट्रहरूले फरक भूगोलमा रहे पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको बताएका थिए । हिमालको हिउँ पग्लिने र समुद्रको सतह बढ्ने समस्या एउटै विश्वव्यापी जलवायु सङ्कटसँग जोडिएको उनको भनाइ थियो । उनले आगामी जलवायु सम्मेलनमा विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रति प्रतिबद्ध रहन, जोखिममा रहेका देशलाई ऋणको भार नथपिने गरी अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन र हानि तथा नोक्सानी कोषलाई प्रभावकारी बनाउनुपर्ने माग राखेका थिए । नेपालका हिमाली क्षेत्र र समुद्री टापु राष्ट्रबीच ज्ञान, प्रविधि, पूर्वसूचना प्रणाली तथा जलवायु अनुकूलनका क्षेत्रमा सहकार्य गर्न ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारीको अवधारणा पनि उनले अघि सारेका थिए ।  टुभालु भ्रमणका क्रममा मन्त्री खनालले समुद्री कटान, बढ्दो ज्वारभाटा र समुद्रको सतह वृद्धिको जोखिममा रहेका क्षेत्रको अवलोकन गरेका थिए। यसले नेपालको हिमाली क्षेत्रमा देखिएका जलवायुजन्य जोखिम र प्रशान्त क्षेत्रका टापु राष्ट्रले भोगिरहेका समस्याबीचको सम्बन्धलाई उजागर गरेको उनको भनाइ थियो । अस्ट्रेलियाको मेलबर्नमा अक्टोबर ८ मा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग भएको द्विपक्षीय वार्ताका क्रममा नेपाललाई थप १५ मिलियन अस्ट्रेलियाली डलर सहयोग घोषणा गरिएको थियो । यसअघि आपत्कालीन प्रतिकार्यका लागि घोषणा गरिएको ११ मिलियन डलरसहित कुल सहायता २६ मिलियन अस्ट्रेलियाली डलर पुगेको हो । थप सहयोग बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण, अत्यावश्यक सेवाको पुनःस्थापना तथा भविष्यमा बाढीको जोखिम र प्रभाव कम गर्न पूर्वसूचना प्रणाली सुदृढ बनाउन उपयोग गरिने अस्ट्रेलियाली पक्षले जनाएको छ । वार्ताका क्रममा खनालले नेपालको हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनले पारिरहेको असरलाई आगामी जलवायु सम्मेलनमा प्राथमिकताका साथ उठाउन अस्ट्रेलियालाई आग्रह गरेका थिए। जलवायु अनुकूलन, विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली र जलवायु प्रतिरोधी पूर्वाधार निर्माणमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो । नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई थप विस्तार गर्ने क्रममा दुई देशका मन्त्रीहरूले शिक्षा, व्यापार, लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन र श्रमसम्बन्धी सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए। अस्ट्रेलियाका विश्वविद्यालय तथा प्राविधिक र व्यावसायिक शिक्षासम्बन्धी संस्थासँग सहकार्य विस्तार गर्ने, नेपालमा अस्ट्रेलियाबाट मान्यताप्राप्त शैक्षिक कार्यक्रम सञ्चालन गर्ने र नेपाली विद्यार्थीका लागि विद्यार्थी प्रवेशाज्ञा प्रक्रिया न्यायोचित तथा सहज बनाउनुपर्ने विषय खनालले उठाएका थिए। नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने प्रस्तावबारे पनि छलफल भएको थियो । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका प्रमुख क्रिस मिन्ससँगको भेटमा विपद् व्यवस्थापन, बाढी तथा डढेलोपछिको पुनर्निर्माण, नेपाली समुदायको हित र सिधा हवाई सम्पर्कका विषयमा कुराकानी भएको थियो । त्यस्तै, अस्ट्रेलियामा रहेका नेपाली समुदायका प्रतिनिधि, व्यवसायी, विद्यार्थी तथा प्राज्ञसँगको अन्तरक्रियामा खनालले बाढीपछिको पुनर्निर्माणमा प्रवासी नेपालीको ज्ञान, सीप र प्रविधि उपयोग गर्न आह्वान गरेका थिए । भ्रमणका क्रममा उनले क्यानबेरास्थित नेपाली राजदूतावासको निरीक्षण गर्दै राहदानी, प्रमाणीकरणलगायतका कन्सुलर सेवा सहज, छरितो र प्रविधिमैत्री बनाउन निर्देशन दिएका थिए । समग्रमा, मन्त्री खनालको भ्रमणबाट बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाको थप सहयोग सुनिश्चित भएको छ भने जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण, शिक्षा, व्यापार, लगानी र जनस्तरको सम्बन्ध विस्तारका विषयमा पनि सहकार्य अघि बढाउने आधार तयार भएको छ । आयोगले सबै स्थानीय तहमा मनोसामाजिक परामर्श तथा सहयोग प्रदान गर्ने जनशक्तिको व्यवस्था गर्न, मानसिक स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न र प्रभावित व्यक्तिको गोपनीयता, आत्मसम्मान तथा अर्थपूर्ण सहभागितालाई प्राथमिकता दिन सरकारका तीनै तहलाई आग्रह गरेको छ ।

१०-  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीमा बाँकी केन्द्रीय सदस्यको मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा युवा, नयाँ र पुराना नेताबीच सन्तुलन मिलाउन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा आफू आवश्यक कामका कारण उपस्थित हुन नसकेको जानकारी दिँदै भट्टराईले अध्यक्ष ओलीलाई सम्बोधन गरेर आफ्ना धारणा सार्वजनिक गरेका हुन् । उनले बैठकमा अनुपस्थित हुनेबारे पहिले नै जानकारी गराएको बताएका छन् । भट्टराईले मुलुकको राजनीतिक परिस्थिति गम्भीर र पेचिलो बन्दै गएको उल्लेख गर्दै लोकतन्त्र र संविधानको रक्षा राष्ट्रिय प्रश्न बनेको बताएका छन् । यस्तो अवस्थामा प्रमुख राजनीतिक दलहरूले आफूलाई रूपान्तरण गर्दै बलियो एकता निर्माण गरेर राष्ट्रिय जिम्मेवारी पूरा गर्न अग्रसर हुनुपर्ने उनको भनाइ छ । असोजको पहिलो साता सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा पनि आफूहरूले यी विषयमा पर्याप्त छलफल गरेको उनले स्मरण गराएका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकले राष्ट्रिय भेला बोलाउने तथा वडा र पालिका तहका अधिवेशन आयोजना गर्ने निर्णय गरेको उल्लेख गर्दै भट्टराईले संगठनात्मक प्रक्रियामार्फत पार्टीलाई गतिशील बनाउन र आन्तरिक तथा राष्ट्रिय महत्त्वका विषयमा छलफल गरी सकारात्मक निष्कर्षमा पुग्न यसले सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन् । तर, यसअघि सम्पन्न केन्द्रीय कमिटी बैठकमा ४० वर्षमुनिका युवालाई केन्द्रीय सदस्यमा मनोनयन गर्दा प्राथमिकता दिनुपर्ने तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुराना नेताको मिश्रणसहित स्पष्ट मापदण्ड बनाउनुपर्ने विषय उठाए पनि निर्णयले त्यसको भावना समेट्न नसकेको उनले बताएका छन् । त्यसले अपेक्षित सकारात्मक ऊर्जा पैदा गर्न नसकेको उनको भनाइ छ । जारी स्थायी कमिटी बैठकमा केन्द्रीय सदस्यको मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनको कार्यसूची रहेकाले भट्टराईले तीनवटा विषयमा अध्यक्षको ध्यानाकर्षण गराएका छन् । उनले बाँकी केन्द्रीय सदस्यको मनोनयनमा ४० वर्षमुनिका युवालाई विशेष स्थान दिनुपर्ने, विगतमा छुटेका भूगोल र समुदायको प्रतिनिधित्व तथा पार्टीभित्रको आन्तरिक सन्तुलनलाई ध्यान दिनुपर्ने बताएका छन्। त्यस्तै, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा पुराना र नयाँ नेताबीच सन्तुलन मिलाउनुपर्नेमा उनले जोड दिएका छन् । आसन्न निर्वाचनसहितका चुनौती सामना गर्न पार्टीको आन्तरिक एकता पहिलो सर्त भएको उल्लेख गर्दै भट्टराईले पार्टी एकतालाई खण्डित गर्ने निर्णय नगर्न सचेत गराएका छन्। उनले हतारमा निर्णय गरेर पछि पछुताउनुपर्ने अवस्था आउन नदिन पनि आग्रह गरेका छन् । यदि सहमतिपूर्ण निर्णय हुन नसक्ने अवस्था भए केन्द्रीय सदस्यको मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनसम्बन्धी विषय केन्द्रीय कमिटीको आगामी बैठकबाट टुंग्याउनु उपयुक्त हुने उनको सुझाव छ ।

११- नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा इमेल सेवाको शुल्क वृद्धि गर्न कुनै स्वीकृति नदिएको स्पष्ट पारेको छ । इन्टरनेट सेवाको शुल्क वृद्धि भएको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालसम्म सेवा प्रदायकबाट शुल्क बढाउने प्रस्तावसमेत प्राप्त नभएको जनाएको हो । प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले लिने शुल्क उचित र मनासिब हुनुपर्ने स्पष्ट पारेको छ । सेवा प्रदायकले शुल्कको दर निर्धारण गर्दा प्राधिकरणको निर्देशिकाअनुसार प्रक्रिया पूरा गरी लागू हुने मितिभन्दा कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ । त्यसैगरी, प्राधिकरणबाट स्वीकृत भएको शुल्क सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको पनि प्राधिकरणले स्मरण गराएको छ । प्राधिकरणको स्वीकृतिबिना शुल्क वृद्धि गर्ने, स्वीकृत दरभन्दा बढी रकम लिने वा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने सेवा प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमअनुसार कारबाही गरिने चेतावनी दिइएको छ । इन्टरनेट सेवा प्रदायकले स्वीकृत दरभन्दा बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरी उपभोक्ताको हकहितविपरीत काम गरेको पाइएमा प्राधिकरणमा उजुरी गर्न सकिने जनाएको छ । उपभोक्ताको हकहित संरक्षण, स्वच्छ प्रतिस्पर्धा कायम तथा इन्टरनेट सेवालाई नियमित र व्यवस्थित बनाउन प्राधिकरण प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

१२-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्धनको मूल्य घटाउने प्रयासस्वरूप रुसबाट डिजेल आयात गर्ने सम्झौता भएको घोषणा गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तत्काल तीन लाख टन डिजेल उपलब्ध गराउने र त्यसपछि थप परिमाणमा आपूर्ति गर्ने सहमति गरेको बताएका छन् । सम्झौताअनुसार नोभेम्बरमा पाँच लाख टन र त्यसपछि थप १० लाख टन डिजेल उपलब्ध गराउने ट्रम्पको भनाइ छ । अमेरिकी अर्थ मन्त्रालयले रुसी डिजेल आयातमा आगामी अप्रिल ७ सम्मका लागि प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाउने अनुमति दिएको बताइएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने उक्त निर्णयको आलोचना गर्दै यसले पुटिनलाई उपहार दिएको र युद्ध लम्ब्याउन सहयोग पुग्ने बताएका छन् । उनले रुसले डिजेलको बदलामा थप आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । इरानसँगको युद्धका कारण अमेरिकामा इन्धनको मूल्य बढिरहेको बेला ट्रम्पले यो कदम चालेका हुन् । यद्यपि, रुसले घोषणा गरिएको परिमाणमा डिजेल उपलब्ध गराउन सक्छ कि सक्दैन र यसले अमेरिकी बजारमा इन्धनको मूल्य कति घटाउँछ भन्ने विषयमा विश्लेषकहरूले प्रश्न उठाएका छन् । रुसले भने अमेरिकी तथा विश्व बजारमा तेल र पेट्रोलियम पदार्थ आपूर्ति गर्न तयार रहेको जनाएको छ । तर सम्झौताअन्तर्गत अमेरिकाले रुसलाई के दिनेछ भन्ने विषय अझै स्पष्ट भएको छैन ।

१३- गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्ति तथा निकायको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन दिएको छ ।  गृह मन्त्रालयले सूचना जारी गर्दै कानुन तथा कार्यविधिले तोकेको व्यवस्थाबाहेक अन्य घरायसी वा व्यक्तिगत काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई तत्काल सम्बन्धित कार्यालयमा फिर्ता पठाउन निर्देशन दिइएको हो । गृह मन्त्रालयले सुरक्षा निकायलाई कार्यविधिमा व्यवस्था भए विपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मीहरूलाई ७ दिनभित्र अनिवार्य रूपमा आ-आफ्नो दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएको हो ।  सूचनामा भनिएको छ,‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१ बमोजिम बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूले पाउने व्यक्तिगत सुरक्षाकर्मीको स्पष्ट व्यवस्था बमोजिम सुरक्षाकर्मी खटाउने गरिएकोमा पछिल्लो समय कार्यविधिमा उल्लिखित प्रावधान विपरीत सुरक्षाको कार्यबाहेक अन्य घरायसी वा व्यक्तिगत कार्यहरूमा सुरक्षाकर्मीहरूलाई प्रयोग गरिएको भन्ने गुनासो प्राप्त भएको परिप्रेक्ष्यमा सम्बन्धित सुरक्षा निकायलाई कार्यविधिमा व्यवस्था भए विपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मीहरूलाई सात (७) दिनभित्र अनिवार्य रूपमा आ-आफ्नो दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन मिति २०८३। ०६। २२ मा निर्देशन भैसकेको छ ।’ निर्देशन तथा कार्यविधि विपरीत सुरक्षाकर्मी खटाइएको पाइएमा खटाउने सम्बन्धित अधिकृत वा पदाधिकारीलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।   सुचनामा भनिएको छ- ‘कानुन विपरीत सुरक्षाको कार्यबाहेक सुरक्षाकर्मी प्रयोग गरेको गृह मन्त्रालयको कल सेन्टरमा उजुरी तथा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरिएको छ ।  उक्त निर्देशन एवम् कार्यविधि विपरीत सुरक्षाकर्मी खटाइएको पाइएमा खटाउने सम्बन्धित अधिकृत/पदाधिकारीलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ। कोही कसैले कानून विपरीत सुरक्षाको कार्य वाहेक अन्य घरायसी वा व्यक्तिगत कार्यहरूमा सुरक्षाकर्मीहरूलाई प्रयोग भएगरेको पाइएमा खटिएका सुरक्षाकर्मी एवं सर्वसाधारणले गृह मन्त्रालय कल सेन्टरको मो.नं. ९८५१३६०६०३ मा जानकारी तथा उजुरी दिनुहुनु अनुरोध छ। सूचना दिने व्यक्तिको गोपनियता कायम राखिने व्यहोरा समेत अनुरोध छ।’

१४- भारतीय युट्युबर ध्रुव राठीलाई दिल्ली प्रहरीले शनिबार बिहान गुरुग्रामस्थित निवासबाट नियन्त्रणमा लिएको छ । उनी जंतरमन्तरमा प्रस्तावित ककरोच जनता पार्टी (सिजेपी) को प्रदर्शनमा सहभागी हुन आएका बेला प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले गुरुग्रामको सेक्टर–५५ क्षेत्रमा रहेको उनको निवासबाट बिहान करिब ६ बजे नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिन अपराध शाखाका तीन टोली परिचालन गरिएको बताइएको छ । प्रहरी टोलीले राठीलाई अपराध शाखाको कार्यालयमा लगेर करिब एक घण्टा सोधपुछ गरेको थियो । त्यसपछि दिल्ली प्रहरीसँग समन्वय गरी उनलाई तीनवटा गाडीमा राखेर दिल्ली लगिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रहरी टोली रातिदेखि नै उनको घरबाहिर तैनाथ रहेको बताइएको छ । सिजेपी प्रदर्शनलाई ध्यानमा राख्दै प्रहरीले सुरक्षा कडा पारेको थियो । दिल्ली प्रहरीले प्रदर्श आव्हान गरेका ककरोच जनता पार्टीका प्रमुख अभिजित दिप्केसहित अन्य नेताहरुलाई पनि हिरासतमा लिएको बताइएको छ । प्रदर्शनलाई ध्यानमा राखेर दिल्लीमा सबै मेट्रो र रेल सेवा बन्द गरिएको छ ।

१५- च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईमा कृत्रिम बुद्धिमत्ता (एआई) सुरक्षालाई लिएर विवाद चर्किएको छ । कम्पनीले सुरक्षा अनुसन्धानमा संलग्न तीन कर्मचारी टोमेक कोरबाक, जैस्मिन वाङ र मिकिता बालेस्नीलाई बर्खास्त गरेको छ । कम्पनीले उनीहरूले संवेदनशील सूचना व्यवस्थापनसम्बन्धी नीतिहरू उल्लङ्घन गरेको जनाएको छ। तर, बर्खास्त गरिएका अनुसन्धानकर्ताहरूले भने कम्पनीले सुरक्षा सरोकारभन्दा व्यावसायिक हितलाई प्राथमिकता दिएको आरोप लगाएका छन् । ओपनएआईले तीन कर्मचारीलाई हटाइएको जानकारी दिएको थियो। कम्पनीका अनुसार आन्तरिक अनुसन्धानमा उनीहरूले संवेदनशील सूचना व्यवस्थापनसम्बन्धी स्पष्ट नीतिहरू उल्लङ्घन गरेको पाइएको थियो । यद्यपि, कम्पनीले कुन विशिष्ट नीति उल्लङ्घन भएको हो भन्नेबारे सार्वजनिक रूपमा विस्तृत जानकारी दिएको छैन । एआई सुरक्षाबारे चिन्ता व्यक्त गरेको वा खुलेर आफ्नो धारणा राखेको कारण उनीहरूलाई बर्खास्त नगरिएको पनि कम्पनीले स्पष्ट पारेको छ । ओपनएआईले आफ्नो कामकाज अघि बढाउन कर्मचारीबीच आपसी विश्वास आवश्यक रहेको जनाएको छ । बर्खास्त गरिएका तीनै अनुसन्धानकर्ताले ओपनएआईका विभिन्न सुरक्षा निगरानी समूहलाई पत्र पठाउँदै आफ्नो बर्खास्तगीको परिस्थितिबारे जानकारी दिएका छन् । उनीहरूले एआई सुरक्षासम्बन्धी आफ्ना चिन्ता पनि पत्रमा उल्लेख गरेका छन् । अनुसन्धानकर्ताहरूले आफ्नो बर्खास्तगीबारे कम्पनीभित्र र बाहिर भइरहेको छलफलले कर्मचारीलाई सुरक्षा जोखिमबारे खुलेर बोल्न तथा कम्पनीका निर्णयमाथि असहमति जनाउन कठिन वातावरण सिर्जना गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् । उनीहरूले एआई सुरक्षा निगरानीसम्बन्धी प्रतिबद्धता कायम राख्न कम्पनीलाई आग्रह गरेका छन्। यसमा कम्पनीभित्र स्वतन्त्र बाह्य सुरक्षा अनुगमनकर्तालाई काम गर्न दिने र तीव्र रूपमा विकसित भइरहेका अत्याधुनिक एआई प्रणालीको निगरानी गर्ने क्षमता कायम राख्ने विषय समावेश छन् । उन्नत एआई प्रणालीका क्षमता र सम्भावित जोखिम पहिचान गर्न कठिन हुने भएकाले तिनको स्वतन्त्र परीक्षण तथा निरन्तर निगरानी आवश्यक मानिन्छ । अनुसन्धानकर्ता टोमेक कोरबाकले सामाजिक सञ्जाल एक्समा मेटरसँग कुराकानी गरेकै कारण आफूलाई बर्खास्त गरिएको जानकारी दिइएको बताएका छन् । मेटर एआई प्रणालीको क्षमता र जोखिम मूल्याङ्कन गर्ने स्वतन्त्र गैरनाफामूलक संस्था हो । कोरबाकका अनुसार मेटरसँगको कुराकानी उनको कामकै एउटा हिस्सा थियो । तर, बर्खास्तगीको कारणबारे उनलाई थप विस्तृत जानकारी दिइएको छैन ।

१६- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई कडा प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अदालतले अमेरिका र इजरायली नागरिकलाई लक्षित गर्ने काम रोक्नुपर्ने भन्दै अन्यथा अदालतलाई समाप्त पार्ने प्रयास गर्ने चेतावनी दिएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वरक्षामन्त्री योआभ गालान्टविरुद्ध गाजामा युद्ध अपराध तथा मानवताविरुद्धका अपराधको आरोपमा पक्राउ पुर्जी जारी भएपछि अमेरिका अदालतप्रति असन्तुष्ट बनेको हो । अदालतकी उपमुख्य अभियोजक नजहत शमीम खानले अमेरिकी प्रतिबन्धको निन्दा गर्दै यसले अन्तर्राष्ट्रिय कानुन र स्वतन्त्र न्यायिक संस्थाको काम कमजोर पार्ने बताएकी छन् । उनले प्रतिबन्धका बाबजुद अनुसन्धान र कानुनी प्रक्रिया जारी रहने स्पष्ट पारेकी छन् । सन् २००२ मा स्थापना भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारजस्ता गम्भीर अपराधको सुनुवाइ गर्छ । अमेरिकाले भने उक्त अदालतको सदस्य नरहे पनि त्यसको गतिविधिप्रति विरोध जनाउँदै आएको छ ।

१७- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालाई दुर्व्यवहार गरेको आरोपमा पाँच विद्यार्थी नेता पक्राउ परेका छन् भने तत्काल रिहा गर्न विद्यार्थी संगठनले माग गरेका छन् । त्रिवि उपकुलपति भोला थापालाई दुर्व्यवहार गरेको आरोपमा उपकुलपतिको कार्यालय परिसरबाट आरआर क्याम्पसका स्ववियु सभापति लोकेश खड्का, विश्वविद्यालय क्याम्पसका स्ववियु सचिव हिक्मत बुढा, स्ववियु सदस्य कुलबहादुर बुढा, स्ववियु सदस्य तेजप्रकाश सञ्जेल र विद्यार्थी रमन उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई बिना कारण पक्राउ गरिएको भन्दै विद्यार्थी संगठनले विरोध जनाएका छन् । शुक्रबार साँझ ११ वटा विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गरी तत्काल रिहा गर्न माग गरेका छन् ।  पाँचै विद्यार्थीलाई बिनासर्त रिहा नगरे आन्दोलनमा उत्रिने विद्यार्थी संगठनले जनाएका छन् । रिहाको माग गर्ने ११ वटा विद्यार्थी संगठनमा नेविसंघकी अध्यक्ष करुणा कटुवाल, अनेरास्ववियुका अध्यक्ष दिपक धामी,  अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश शर्मा सापकोटा, अनेरास्ववियुका अध्यक्ष महेश श्रेष्ठ, अखिल समाजवादीका अध्यक्ष नरेन्द्र सी, अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाह, अखिल छैठौका अध्यक्ष सुबास जिसी, अखिल (क्रान्तिकारी) का अध्यक्ष महेश श्रेष्ठ, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका अध्यक्ष ह्याल तामाङ, विद्यार्थी सरोकार नेपालकी अध्यक्ष सुनिता बुढाथोकी र विद्यार्थी जनमत संघका अध्यक्ष पोषण कुमार यादव रहेका छन् ।

१८- वेस्ट इन्डिजले भारतविरुद्धको दोस्रो टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेटको जित निकालेको छ । कप्तान शाई होपको शतक र शेरफेन रदरफोर्डको आक्रामक ब्याटिङमा वेस्ट इन्डिजले भारतले दिएको २५० रनको लक्ष्य ९ बल बाँकी छँदै पूरा गरेको हो । शुक्रबार भारतको राँचीस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४९ रन बनाएको थियो । जवाफमा वेस्ट इन्डिजले १८.३ ओभरमा ४ विकेट गुमाएर २५२ रन बनाउँदै जित निकालेको हो । वेस्ट इन्डिजको जितमा कप्तान होपले अविजित १०२ रन बनाए । उनले ४५ बलमा ६ चौका र ९ छक्का प्रहार गरेका थिए । रदरफोर्डले ३७ बलमा ८४ रन जोड्ने क्रममा ७ चौका र ७ छक्का प्रहार गरे । होप र रदरफोर्डबीच चौथो विकेटका लागि १२० रनको महत्त्वपूर्ण साझेदारी भएको थियो ।  लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले सुरुमै लगातार विकेट गुमाएको थियो । मायंक यादवले सुरुआती ओभरमै कामिल पुरन र शिमरन हेटमायरलाई आउट गरेपछि टोली दबाबमा परेको थियो । रोभमन पावेल २४ रन बनाएर आउट हुँदा वेस्ट इन्डिज ५८ रनमा ३ विकेट गुमाएको अवस्थामा थियो । तर होप र रदरफोर्डले उत्कृष्ट साझेदारी गर्दै खेल भारतको पकडबाट बाहिर निकाले । रदरफोर्ड आउट भएपछि रोम्यारियो सेफर्डले आक्रामक ब्याटिङ गर्दै १३ बलमा अविजित ३४ रन बनाए । उनको सहयोगमा वेस्ट इन्डिजले लक्ष्य सहज रूपमा पूरा गर्‍यो । उत्कृष्ट शतक बनाएका होप खेलका उत्कृष्ट खेलाडी घोषित भए ।  यसअघि भारतका लागि सञ्जु सामसनले सर्वाधिक ८२ रन बनाएका थिए । उनले ४१ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । इशान किशनले २२ बलमा ४३ रन जोडे भने कप्तान श्रेयस अय्यरले १८ बलमा ४० रन बनाए । तिलक वर्माले १८ बलमा अविजित ४४ रन बनाएपछि भारतले विशाल योगफल तयार पारेको थियो । यस जितसँगै पाँच खेलको टी- २० सिरिज १–१ को बराबरीमा पुगेको छ । पहिलो खेल जितेको भारतले दोस्रो खेलमा हार बेहोरेपछि सिरिजमा वेस्ट इन्डिजले पुनरागमन गरेको छ । सिरिजको तेस्रो खेल आइतबार इन्दोरमा हुनेछ ।

१९- नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन् । पार्टीको १५औं महाधिवेशनअन्तर्गत भएको चुनावमा प्रतिद्वन्द्वी श्यामकृष्ण खड्कीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन् । थापाले ६ हजार ५८४ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका थिए । कुल ७०१३ मत खसेको मध्ये ५४ मत बदर भएको थियो भने ६ हजार ९५९ मत कायम भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । थापाले कुल खसेको मतको ९३.८ प्रतिशत मत प्राप्त गर्दै शानदार जित हासिल गरेका छन् । यसअघि पार्टी सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका थिए। अन्तिम समयमा किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिएपछि थापा र खड्गीबीच प्रतिस्पर्धा भएको थियो ।

२०- साउदी प्रो लिगअन्तर्गत अल नासरले अल दिरियाहलाई ३–० गोलले पराजित गरेको छ । गएराति साउदी अरेबियाको रियादस्थित अल अव्वल पार्कमा भएको खेलमा क्रिस्टियानो रोनाल्डो, सामु कोस्टा र किङ्स्ले कोमानले गोल गर्दै अल नासरलाई सहज जित दिलाएका हुन् । खेलको २३औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । किङ्स्ले कोमानको शक्तिशाली प्रहार विपक्षी गोलकिपर वालिद अब्दुल्लाहले पूर्ण रूपमा रोक्न नसकेपछि प्राप्त अवसरलाई रोनाल्डोले सदुपयोग गरेका थिए । राष्ट्रिय टिममा विवादपछि क्लबमा फर्किएका रोनाल्डोको यो क्यारियरको ९८०औं गोल हो । त्यसपछि ३५औँ मिनेटमा सामु कोस्टाले गोल गर्दै अल नासरको अग्रता दोब्बर बनाए । जोआओ फेलिक्सले प्रहार गरेको कर्नरमा कोस्टाले हेडरमार्फत गोल गरेका थिए । दोस्रो हाफमा पनि अल नासरले आक्रमणलाई निरन्तरता दिएको थियो । खेलको ७७औँ मिनेटमा साडियो मानेको पासमा कोमानले गोल गर्दै टोलीको जित ३–० ले सुनिश्चित गरेका थिए । यस जितसँगै अल नासरले लिगमा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । आठौँ चरणको खेलपछि टोली १९ अङ्कसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ । समान अङ्क भए पनि गोल अन्तरका आधारमा अल नासर शीर्ष स्थानमा रहेको अल कादसियाभन्दा पछाडि रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्